काठमाडौं। सञ्चारकर्मी रवि लामिछानेले आज मंगलबारदेखि सञ्चारकर्म त्यागेको घोषणा गर्दै राजनीतिमा होमिएको घोषणा गर्ने भएका छन्। केही दिनअघि नै सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएको अनौपचारिक घोषणा गरिसकेको लामिछानेले मंगलबार आफ्नो राजनीतिक अभियानको औपचारिक घोषणा गर्दैछन्।
लामिछानेको पार्टी नै घोषणा गरेर अघि बढ्ने अथवा कसरी भन्ने बारेमा पनि दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर घोषणा गर्ने तयारी गरेका छन्। यसैबीच राजधानीको बसुन्धारामा रविले सम्पर्क कार्यालय खोलेका छन्। रविले संघीय निर्वाचन लड्ने निश्चित रहेपनि कुन क्षेत्रबाट लड्ने भन्ने खुलाएका छैनन्।
यसैबीच रवि लामिछानेका दाइ हरिशरणले पनि प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। हरिशरणले काठमाडौं–३ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन्।
पूर्व सञ्चारकर्मीसमेत रहेका हरिशरणले स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान जारी रहेको बताएका छन्। ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्यूनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरी निर्वाचन क्षेत्र कायम गरिनेछ,’ उनले फेसबुकमा लेखेका छन्, ‘मेरो हकमा काठमाडौं-३ बाट उम्मेदवारी दिने समझदारी भएको सबैमा जानकारी गराउँदछु।’