भरतपुर महानगरको भौतिक र मानविय विकासलाई सँगै लैजान्छौं : रेनु दाहाल

Renu Dahal Lokpati
लोकपाटी न्यूज
6 Shares

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबासीलाई खुसी र सुखी बनाउने कार्यमा अगाडि बढेको बताएकी छन्। ८ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाईन्स क्लब अफ चितवन आरोग्यले मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन्।

मेयर दाहालले अब हुने विकासका गतिविधिमा भरतपुरबासीलाई कसरी खुसी र सुखी बनाउनेतर्फ ध्यान केन्द्रित गरिएको बताइन्। खुसी महानगरबासी बनाउन विभिन्न विषयगत विज्ञहरुसँग छुटाछुट्टै छलफल, परामर्श एवं सुझाव संकलन गर्ने कार्य गरिरहेका छौं, उनले भनिन्,‘भौतिक विकास र मानविय विकासलाई सँगै लैजानुपर्छ भन्ने हाम्रो चाहना छ। ११ औँ नगरसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रमले यसलाई पुष्टी गर्छ।’

भौतिक विकाससँगै मानविय विकास गर्न नीति तथा कार्यक्रम निर्माण गरेर अगाडि बढेको जानकारी दिइन्। भौतिक खुसीमात्र नभई मानसिक रुपमा खुसी हुन योगको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ।

भरतपुरबासीले योगालाई महत्व दिनु भएकै छ, उनले भनिन्,‘यहाँ योगाशाला, जिमखाना, एरोबिक, व्यामशाला, पतञ्जली योगपिठ निर्माण भइरहेका छन्। प्रत्येक वडामा योगा अभ्यास गर्नेको संख्या ठूलो छ। यस्ता केन्द्रले शारीरिक मात्र नभई मानसिक तन्दरुस्तीमा सहयोग पुगेको छ।’

कार्यक्रममा संस्थाका सदस्य डा. आन्नदप्रसाद रेग्मीले योगको सुरुवात शिव भगवानले गरेको पौराणिक कथामा उल्लेख भएको बताए। योगा पहिले मृत्युपछि मुक्ति पाइन्छ भनि योग गर्ने गरिएको कथन रहेको उल्लेख गरे। अहिले मुक्तिका लागि भन्दा स्वस्थ रहन योग गर्ने गरिन्छ–उनले भने। कार्यक्रममा योगसँग सम्बन्धीत विज्ञहरुले योगाको बारेमा जानकारी दिएका थिए।