माओवादी केन्द्र मन्त्री फेरबदलको पक्षमा छैन : गिरिराजमणि पोखरेल

Girirajmani Pokhrel
लोकपाटी न्यूज
9 Shares

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले योगलाई अभियानको रूपमा चलाउन आवश्यक रहेको बताएका छन्। योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयले आज यहाँ आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा उनले योगलाई सामाजिक अभियानका रूपमा अघि बढाउन सके स्वस्थ रहन सकिने बताएका हुन्।

योग ध्यानको प्रतिपादन गर्ने देश नेपाल भएको भन्दै उनले यसलाई समयानुकूल बनाउँदै लैजानु आजको आवश्यकता रहेको बताए। उनले भने, ‘योग अहिलेको युगअनुरुप रहेको छ। यसलाई समयानुकूल बनाउँदै लैजानुपर्छ।’ आफू शिक्षामन्त्री हुँदा योगलाई पाठ्यक्रममा समावेश गर्ने भनी निर्णय गरेको जानकारी गराउँदै उनले यसलाई पाठ्यक्रममा राखेर स्कुलदेखि नै सिकाउँदै लैजानुपर्ने बताए। शिक्षा क्षेत्रमा यसको विकासले समाजको परिवर्तन सम्भव हुने उनको भनाइ थियो।

फरक प्रसंगमा बोल्दै उनले तत्काल माओवादी केन्द्र मन्त्री फेरबदलको पक्षमा नरहेको बताए। उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ। यो समयमा मन्त्री फेरबदल गर्नु राम्रो हुँदैन।’ अर्थमन्त्रीले र सरकारका मन्त्रीहरूले संसद्मा जवाफ दिने क्रम जारी रहेको बताउँदै उनले पछिल्लो राजनैतिक गतिविधिका बारेमा केन्द्रको १५ गतेपछि बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए।

सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले योगले जीवन परिवर्तन गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। त्रिभुवन विश्वविद्यालयका नारायण गौतमले योग जीवनको पद्धति भएको बताए। म योगी हुँ भन्ने भावनाले यसको विकास गर्नु आवश्यक रहेको उनको भनाइ थियो। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्