शिविर सञ्चालन गर्न सहकारी संघ र क्यान्सर सहयोग समूहबीच सम्झौता

लोकपाटी न्यूज
4 Shares

ललितपुर। जिल्ला सहकारी संघ ललितपुर र नेपाल क्यान्सर सहयोग समूह काठमाडौंबीच पाठेघरको मुखको क्यान्सरको जाँच शिविर सञ्चालन गर्न मंगलबार एक सम्झौता भएको छ। ललितपुर जिल्लाका विभिन्न स्थानहरूमा आर्थिक वर्ष २०७९/८० मा पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्न कम्तीमा वार्षिक १२ वटा वा सो भन्दा अधिक पाठेघरको मुखको क्यान्सरको जाँच सञ्चालन गर्न सहमति भए बमोजिम मंगलबार एक कार्यक्रमबिच सम्झौता गरिएको हो।

सम्झौतामा जिल्ला सहकारी संघ ललितपुर कोतर्फबाट अध्यक्ष केदार गोर्खाली र नेपाल क्यान्सर सहयोग समूहको तर्फबाट अध्यक्ष दिलीप भट्टराईले हस्ताक्षर गरेका छन्। शिविर सञ्चालनका लागि दुवै पक्षबिच नौ बुँदे सहमति भएको हो। सहमति अनुसार शिविर सञ्चालनका लागि जिल्ला सहकारी संघ ललितपुरको तर्फबाट गर्नुपर्ने पाँच वटा र नेपाल क्यान्सर सहयोग समूह काठमाडौंको तर्फबाट गर्नुपर्ने चार वटा बुँदाहरू उल्लेख छन्।

सम्झौता अनुसार शिविर गर्नका लागि आवश्यक प्राविधिकहरू डाक्टर, नर्स, सहायक र अन्य नेपाल क्यान्सर सहयोग समूह काठमाडौंले उपलब्ध गराउनुपर्ने, शिविर सञ्चालन गर्नका लागि आवश्यक स्थानको पहिचान गर्ने, स्वयंसेवकहरू उपलब्ध गराउने तथा परिचालन गर्ने व्यवस्था जिल्ला सहकारी संघ ललितपुरले गर्ने लगायतका बुँदाहरू रहेका छन्।

कार्यक्रममा दुवै पक्षका वक्ताहरूले शिविरले जिल्लामा क्यान्सर रोगीहरूको पहिचान गर्न सहयोग गर्नुका साथ समयमै रोग पता लगाउन सफल भएर क्यान्सरका कारण अकालमै ज्यान जोगाउन सहयोग मिल्ने विश्वास व्यक्त गरे। सुरुमै क्यान्सर रोगको पहिचान हुन सके नेपालमै सजिलै उपचार हुने अवस्था छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्