नेकपा एमाले सांसद गुलेफुन खातुन पदमुक्त

khatun
लोकपाटी न्यूज
2 Shares

विराटनगर। प्रदेश-१ की नेकपा एमाले सांसद गुलेफुन खातुन पदमुक्त भएकी छन्। सरकारी छाप र दस्तखत किर्ते गरेको मुद्दामा उच्च अदालतल विराटनगरबाट दोषी प्रमाणित गरेको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेपछि सांसद खातुन पदमुक्त भएकी हुन्। मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको फैसलाविरुद्ध सांसद खातुन सर्वोच्च अदालत गएकोमा सर्वोच्चले त्यस अघिका फैसलालाई सदर गर्दै मुद्दा नै खारेज गरिदिएको हो।

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले खातुनको दावी नपुग्ने भन्दै मुद्दा दोहोर्याउन अनुमति दिन नमिल्ने आदेश दिएको हो। जिल्ला अदालत मोरङले २०७४ वैशाख ३१ गते नै उक्त मुद्दामा फैसला गरी कसुर ठहर गरेको थियो। त्यसपछि सांसद खातुनले उच्च अदालत विराटनगरमा पुनरावेदनको निवेदन दिएका हुन्।

मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश यमुना भट्टराईको इजलासले खातुनलाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना तोक्ने जिल्लाको आदेश उल्ट्याउँदै एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ ३३ रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो।

सांसद खातुनले मोहीबाट प्राप्त हुने जग्गा नामसारीका लागि २०७१ चैत ४ गते तत्कालिन कदमाहा गाविसबाट लिएको सिफारिसकै चलानी नम्बर राखेर गाविस सचिवको दस्तखत समेत नक्कली बनाएर जग्गा एकलौटी बनाउने गरी कर्मचारीको मिलेमतोमा अर्को सिफारिस निकालेकी थिइन्। एउटै दर्ता नम्बरमा दुई वटा सिफारिस निकालेपछि खातुनविरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दा परेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्