तत्काल मन्त्रिपरिषद हेरफेर गर्न ‘नेकपा एस’को दबाव

NCP_Samajbadi
लोकपाटी न्यूज
11 Shares

काठमाडौं। सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना चार जना मन्त्री फेर्ने निर्णय छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ। मन्त्री फेर्ने निर्णय १७ दिनसम्म पनि अलपत्र परेपछि समाजवादीको सचिवालय बैठकले यथाशीघ्र कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिएको हो।

समाजवादी सचिवालयको जेठ २२ गतेको बैठकले सरकारमा सहभागी पाँचमध्ये चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, उक्त निर्णयलाई कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाले चासो नदिएपछि समाजवादीले थप दबाब बढाएको हो।

बुधबारको सचिवालय बैठकपछि पत्रकारहरूसँग नेता झलनाथ खनालले आफूहरूको निर्णय यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्ने निर्णय भएको बताए। ‘मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौं, त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न सकेन, तुरुन्त कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय गरेका छौं,’ उनले भने, ‘आज हाम्रो अध्यक्ष त्यही निर्णयलाई लिएर कुराकानी गर्न जानुभएको छ।’

एकीकृत समाजवादी पार्टीले हाल सरकारमा रहेका मन्त्रीहरू रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो। त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्री बनाउने निर्णय थियो।

खनालका अनुसार सचिवालयले पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद् बैठक डाक्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्