बलात्कारको घटनामा कडाभन्दा कडा कानुन बनाउनुपर्नेमा सांसदको जोड

rape-balatkar
लोकपाटी न्यूज
2 Shares

काठमाडौं । बलात्कारको घटनामा कडाभन्दा कडा कानून बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

आज प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरूले बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको र पीडितले न्याय नपाउने गरेको उल्लेख गर्दै कडाभन्दा कडा कानुनी व्यवस्था हुनुपर्ने बताएका हुन् ।

समिति बैठकमा ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक माथि संशोधन हाल्ने सांसदहरूले बलात्कारको घटनामा कानुनी दायरालाई कडाइ गर्नुपर्ने बताएका हुन् ।

नेकपा माओवादी केन्द्रकि सांसद पूर्णकुमारी सुवेदीले दश वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने बताउनुभयो । उहाँले त्यसो गर्न नसके सजाय र जरिवानालाई निकै कडा बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले कानुन बनाएपनि कार्यान्वयन फितलो हुने गरेको उल्लेख गर्दै कानून कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले विवाहपछि दाइजोको नाममा गरिने हिंसालाई पनि यौनजन्य हिंसाको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले बलात्कारको घटनामा मिलापत्र गराइनु आपत्तिजनक कुरा भएको भन्दै मिलापत्र गराउनेलाई पनि सजायको दायरा बढाउनुपर्ने बताउनुभयो ।

बलात्कार पीडित नाबालिकाको हकमा १८ वर्ष पुगेपछि कम्तिमा ५ वर्षसम्म उजुरी दिन सकिने व्यवस्था गर्नुपर्नेमा उहाँको जोड थियो । नेपाली काँग्रेसका सांसद पुष्पा भुसालले बलात्कारको घटनामा उजुरी लिन हदम्याद राख्नु नहुने धारणा राख्दै हदम्याद राख्दा अपराधिहरू एउटा घटनाबाट उम्किनसाथ अर्को घटनामा संलग्न हुन सक्ने बताउनुभयो ।

कानूनी व्यवस्था कडा हुँदा पनि बलात्कारको घटना न्यूनिकरण नभएको र अपराधी निरुत्साहिन हुन नसकेको भन्दै हदम्याद हटाएमा घटना कम हुँदै जाने उहाँको धारणा छ । काँग्रेसका सांसद डिला संग्रौलाले बलात्कारको घटनामा उजुरी दिन सकिने विद्यमान कानूनी व्यवस्थाको समयसिमा अर्पयाप्त रहेको बताउनुभयो ।

बलात्कारको घटना मानवताविरोधी, हिंस्रक र जघन्य अपराध भएकाले यस्तो घटनालाई सीमाको घेराभित्र राख्नु नहुने उहाँको भनाई छ । सांसद रंगमती शाहीले बलात्कारको घटनामा पीडित बालिकाहरूले लामो समयसम्म घटना सार्वजनिक गर्न नसक्ने भन्दै उनीहरूका लागि उजुरी गर्न लामो समय उपलब्ध हुनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्