अमेरिकी राष्ट्रपतिद्वारा पेट्रोलियम कर स्थगित गर्न आह्वान

Waden
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति जो वाइडेनले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर तीन महिनाका लागि स्थगित गर्न आह्वान गरेका छन्। इन्धनको आँकाशिदो मूल्य नियन्त्रण गर्ने उद्देश्यले राष्ट्रपति जो बाइडेनले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर स्थगितका लागि आह्वान गरेका हुन्।

अमेरिकामा प्रति ग्यालन अर्थात साढे चार लिटर भन्दा बढी पेट्रोलको मूल्य पाँच डलर पुगेको छ जुन एक वर्ष अघि तीन डलर मात्रै थियो। आगामी नोभेम्बरमा हुने संसदीय चुनावलाई लक्षित गरी राष्ट्रपति बाइडेनले कर स्थगनको प्रस्ताव गरेको हुनसक्ने भन्दै कर कटौतीबाट साधारण उपभोक्तालाई खासै राहत नपुग्ने टिप्पणी गरिएको छ।

तर, सरकारलाई भने १० अर्ब डलर बराबरको भार पर्ने छ। ट्याक्स होलिडेका लागि अमेरिकी कंग्रेसले अनुमोदन गर्नुपर्ने छ। तर सांसदहरूले कर स्थगनको प्रस्तावले तेल उत्पादक कम्पनीहरूलाई मात्रै फाइदा पुग्ने भन्दै विरोध जनाएकाले राष्ट्रपति बाइडेलनको प्रस्ताव अनुमोदन हुन्छ भन्न नसकिने बताइएको छ।

सांसद तथा सिनेटरहरूले सर्वसाधारण उपभोक्तालाई तत्काल राहतको सास फेर्न मिल्ने गरी कदम चाल्नुपर्नेमा जोड दिएका छन्। अमेरिकाले सडक मर्मत सम्भारका लागि भन्दै पेट्रोलमा प्रति ग्यालन १८ सेन्ट्स् र डिजेलमा २४ सेन्ट्स् कर लगाउँदै आएको छ।

अमेरिकाको इन्धन तथा पेट्रोकेमिकल उत्पादक उद्योगले पनि कर होलिडेले समस्याको समाधान नगर्ने बताएको छ। रुस–युक्रेन युद्धका कारण खल्बलिएको आपूर्ति प्रणालीलाई पुनस्थापना गर्नु वा त्यसको विकल्प खोज्नु नै समाधान हुने विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्