प्रज्ञा-प्रतिष्ठानलाई सरकारले सहयोग गर्छ: देउवा

Sher_Deuba
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा-प्रतिष्ठानको आर्थिक कठिनाइलाई मध्यनजर गर्दै सरकारले सहयोग गर्ने बताएका छन्। नेपाल प्रज्ञा-प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रज्ञा-प्रतिष्ठानको आर्थिक कठिनाइलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताएका हुन्।

‘आगामी दिनमा संस्थाको गतिविधिलाई अझ घनिभूत रूपमा अघि बढाउँदै नेपालको सबै समुदायको भाषा, साहित्य, संस्कृति, दर्शनको प्रवर्द्धनको क्षेत्रमा यस प्रतिष्ठानले थप योगदान पुर्‍याउने विश्वास लिएको छु,’ देउवाले भने, ‘प्रज्ञा प्रतिष्ठानलाई नेपाल सरकारले सदा सहयोग गर्ने कुरा पनि व्यक्त गर्न चाहन्छु। जहाँसम्म यहाँ आर्थिक कठिनाइ भन्ने कुरा आएको छ यसमा हामी अवश्य नै सल्लाह गरेर के हुन्छ सरकारले अवश्य नै सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु।’

उनले मुलुकको भाषा, साहित्य र संस्कृति प्रवर्द्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडी बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुने पनि बताए। उनले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वर्द्धनमा प्रज्ञा-प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरे।