अर्थतन्त्रबारे गगन थापाले गरे गभर्नर अधिकारीसँग छलफल

gagan_mahaprasad
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटका छन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेको कुरा उनले फेसबुकमार्फत जानकारी गराएका हुन्। भेटमा नेपाली अर्थतन्त्रमा हाल देखिएका समस्या, समाधान र अधिकारीले सार्वजनिक कार्यक्रममा राख्ने गरेको चिन्ताको विषयमा छलफल भएको छ।

लामो समयदेखि बैंकले ऋण प्रवाह गर्न नसकेको, पुँजी बजारले निरन्तर ओरालो यात्रा पच्छ्याएको र विदेशी विनिमयको सञ्चिति घट्दै गएको सम्बन्धमा छलफल भएको महामन्त्री थापाले बताएका छन्। ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरूमा छलफल गरेको छु,’ उनले भनेका छन्।

अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपायसहित राष्ट्र बैंकले अबको मौद्रिक नीति तयार पार्ने अपेक्षा लिइएको पनि थापाले बताए। उनले लेखेका छन्, ‘अर्थतन्त्रमा देखिएका यीलगायतका समस्या समाधानका उपायहरूसहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा लिएको छु।’

अहिले नेपालको विदेशी विनिमयको सञ्चिति जम्मा ६.५ महिनालाई मात्रै पुग्ने रहेको छ भने लामो समयदेखि बैंकहरूले ऋण दिन सकेको छैनन्। अहिले बैंकमा बुकिङ गरेको ऋण मात्रै ४ खर्ब बढी पुगेको छ। सरकारले गभर्नर अधिकारीलाई हटाउन खोजे पनि सर्वोच्चले रोकेको थियो। अदालतको आदेशपछि पुनर्वहाली भएका उनले अर्थतन्त्र कमजोर भएकोबारे खुलेर बोल्ने गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्