स्वास्थ्यमा यति धेरै उपेक्षा किन ?

Nepal Health
लोकपाटी न्यूज
2 Shares

विगत तीन वर्षअघि नेपालमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो। सबै जनामा कोरोनाको त्रास अत्यन्तै देखिन्थ्यो। अन्य मुलुकझै नेपालमा पनि कोरोनाले तहल्का मच्चायो। कोरोना सँगसँगै विभिन्न जनस्वास्थ्यका मापदण्डहरू अपनाउन थालियो। मास्क लगाउने, हात नमिलाउने, दुई मिटरको भौतिक दूरी पालना गर्ने, बेलाबेलामा साबुनपानीले हात धुनेलगायतका जनस्वथ्य मापदण्डहरू चलनचल्तीमा आए। एकअर्काको घरमा जाने, साथीभाइ भेटघाट जस्ता कामहरु पनि ठप्प भयो। भीडभाड गर्न त सरकारले रोक नै लगाएको थियो। तर, अहिले ठ्याक्कै यसको उल्टो भएको छ। जनस्वास्थ्यको मापदण्ड पालना गर्न आम नागरिकले छोडिसकेका छन्।

नेपालमा अझै पनि कोरोना छ भनेर सबैले बिर्सिसकेका छन्। कोरोनाका कारण झण्डै १२ हजार नेपालीले अकालमा ज्यान गुमाउनुपरेको कुरा सबैको मस्तिष्कबाट हटिसकेको छ। निस्फिक्री रूपमा घुमघाम गर्ने क्रम बढ्दो छ। असार सुरू भएयता कोरोना निरन्तर बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणले देखाउँछ। केही सातादेखि कोरोना लगातार उकालो लागेको छ। तर, मन्त्रालयले यसलाई मध्यनजर गर्दै कुनै सूचना जारी गरेको छैन्। जनचेतना फैलाउने सूचना जारी गर्न पनि स्वास्थ्य मन्त्रालयले चासो देखाएको छैन। व्यापारिक केन्द्रमा सर्वसाधारणको भीड यत्तिकै छ। न उनीहरूको मुखमा मास्क छ सामाजिक दूरीको त कुरै नगरौं।

यता, राजनीतिक दलले पनि जनस्वास्थ्य मापदण्ड नअपनाई कार्यक्रम गरिरहेका छन्। कालिमाटी र बल्खुलगायत अन्य क्षेत्रमा रहेका तरकारी बजारमा पनि निकै भीड छ। सयौंको संख्यामा बेच्ने छन्, हजारौंको संख्यामा किन्ने। बेच्ने र किन्ने दुवैले मास्कसमेत लगाएको पाइँदैन। भारतबाट तरकारी ओसारपसार गर्ने सवारी चालकले पनि स्वास्थ्य मापदण्ड पालना गरेका छैनन्। रात्रिकालिन व्यवसायजस्तै दोहोरी साँझ, डान्सबारहरुमा पनि रत्तिभर कोरोनाका मापदण्ड पालना भएको छैन। भाटभटेनीलगायत अन्य ठूला व्यापारिक मलहरू पनि कडाइका साथ मापदण्ड पालना गर्नमा जोड दिएका छैनन्। सार्वजनिक सवारीमा भेडाबाख्राझैं कोचाएर यात्रु खाँदेको हुन्छ।

तीन लाइन यात्रु उभाएर खाद्दा पनि ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छैन। सहचालक र चालक दुवैको मुखले मास्क लगाएको पाइदैन। उता, कुनैकुनै बाहेक अधिकांश यात्रुले पनि मास्क लगाएका छैनन्। गाडीको टिकट काट्ने काउण्टरमा पनि उही हाल छ। वित्तिय संस्थामा काम गर्न कर्मचारी वा सेवाग्राही दुवैले सरकारको निर्णय मान्न अटेर गरिरहेका छन्। सरकारी कार्यालयमा त झन् खुट्टा टेक्ने ठाँउ हुदैन्। वडादेखि महानगरपालिका र मन्त्रालय, विभाग जहिले पनि भीड हुने स्थान हो। तर, यस्तैमा झनै हेलचेक्याइ गरिएको छ। अधिकांश सरकारी र निजी कार्यालयमा स्यानिटाइजरको समेत व्यवस्था गरेको पाइँदैन।

ज्वरो नाप्ने थर्मल गनको कल्पना नगरौं। यता, शैक्षिक संस्थाहरुले पनि मास्क र सामाजिक दुरी अनिवार्य गरेको छैन। एउटै बेञ्चमा आधा दर्जन विद्यार्थी कोचेर पढाइरहेको छ। अभिभावकहरु पनि लापरवाह हुँदा यसले कोरोनालाई बढावा दिइरहेको छ। पार्टी प्यालेसमा भोजभतेर गर्ने क्रम अहिले ह्वात्तै बढेको छ। सिनेमा हल र जात्रामा जम्मा हुनेको पनि मुखमा सामान्य मास्क समेत छैन। भौतिक दुरी र अन्य जनस्वास्थ्य मापदण्डको कुरा नगर्दै बेस। पछिल्लो समय भारतमा कोरोनाले हंगामा मच्चाएको छ। कोरोना संक्रमित हुने दर अत्यन्तै बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ। उता कोरोना बढेसँगै यता फर्किनेको लर्को लागेको छ। तर, सीमामा कोरोना परीक्षण भएको पाइँदैन। त्यहाँ ज्वरो पनि चेक हुन सकेको छैन। अहिले दिनहुँ लाखौं जनताहरू उपत्यका भित्रिरहेका छन्।

तर, थानकोट र साँगामा कोरोना परीक्षण हुँदैन। सरकारले लापरवाहीले गर्दा उपत्यका फेरि पनि हटस्पट बन्ने देखिएको छ। उपत्यका भित्रिने नाकामा कडाइ नगर्दा जथाभावी रुपमा छिरिरहेका छन्, सर्वसाधारण। यसले उपत्यकावासीमा त्रास पैदा गरिदिएको छ। कोरोना सुरू भएयता नेपालमा दुई जना प्रधानमन्त्री बने। पहिलोपटक कोरोना देखिदा केपी शर्मा ओलीको सरकार चलिरहेको थियो। एकजना संक्रमित देखिनेबित्तिकै उनले लकडाउन गरे र करोडौं जनताको ज्यान बचाए। तर, शेरबहादुर देउवाको त्यसो गर्न सकेनन्। उनको पालामा धेरै जनता कोरोनाका कारण मरेको तथ्याङ्क बताउँछ। ओलीको पालामा चार हजार जनताले ज्यान गुमाएका थिए भने देउवाको पालामा दोब्बर भयो। ओलीले सदनमा उभिएर मलाई राजश्व भन्दा जनता ठूलो हो भन्दै भाषण गरेका थिए।

प्रधानमन्त्री देउवाको सरकारले दैनिक चार दर्जनसम्म कोरोना संक्रमित भेट्दा जनस्वास्थ्यको चेतना फैलाउन सूचना जारीसमेत गरेको छैन। अनि भोलिको दिनमा कोरोनाले तहल्का मच्चायो भने उनले लकडाउन गर्न सक्लान्, जनता बचाउन के गर्लान् ? कोरोना फैलाउने कारखाना तत्कालै बन्द गर्नुपर्छ भनेर जनताले सरकारसंग माग गरिसकेका छन्। अब पनि सरकारले हेलचेक्य्राइ गर्ने हो भने लकडाउन गर्नुपर्ने अवस्था बन्न सक्छ। होइन भने जनता मरेको टुलुटुलु हेरेर बस्नुपर्छ। करका निम्ति कोरोना फैलाएर जनता मार्न मिल्छ ? व्यापारीको कुरा सुनेर जनताको चासो नै नराख्ने पनि सरकार हुन्छ ? कोरोना लागेर हजारौं नेपालीले अकालमा ज्यान गुमाए। तर, तिनका आफन्तले अझै पनि क्षतिपूर्ति पाउन सकेका छैनन्।

अन्य मुलुकले क्षतिपूर्तिको व्यवस्था गरेको थियो। राजनीतिक दलले गरेको आन्दोलनमा आफ्नो कार्यकर्ता मरेको भए १० लाख रुपैंया दिन्थ्यो। शहिद घोषणा गर्न पनि राजनीतिक दल पछि हट्दैनथे। जनता र कार्यकर्तामाथि कति भेदभाव हुँदो रहेछ सबैले बुझिराख्नुपर्छ। जनता त सरकारको कमीकमजोरीले गर्दा मरेका हुन्। अनि उनीहरूमाथि नै यत्रो भेदभाव किन ? कोरोनाले गर्दा जतिले ज्यान गुमाए ती सबै नेपाली नागरिक नै थिए। उनीहरुसंग पनि नेपाली नागरिकता थियो। हिजो उसले पनि केही काम गरेर राज्यलाई कर तिरेको थियो होला। उता, राजनीतिक दललाई भोट पनि दिएको थियो होला। तर, अन्ततः न ऊ सरकारको बन्न सक्यो न राजनीतिक दलको। निर्वतमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफ्नो कार्यकालमा केही काम गरेनन्।

जनताप्रति उनी कहिल्यै जिम्मेवार भएनन्। उनकै पालामा २४ लाख डोज खोप गायब भयो। तर पनि पनि यताउता गरेर यो कुरा सामसुम बनाइयो। एउटा खोप पाँच हजारमा बिक्री हुन्छ भन्ने कुरा पनि त्यतिखेर सार्वजनिक भएको थियो। हालैमात्र आएका स्वास्थ्यमन्त्रीले कस्तो काम गर्लान् ? यो हेर्न बाँकी नै छ। आवश्यकता प¥यो भने लकडाउन गर्ने क्षमता उनीसँग छ। कि त जति जनता मरेपनि व्यापारीसँग कमिशनमा धुत भएर बस्ने पो हुन् कि ? अब सरकारसँग दुईवटा विकल्प बाँकी छ। लकडाउन गर्ने कि कडाइ यो सरकारको हातमा छ। अझैपनि छाडा छोडिदिने हो भने यसले विकराल रुप लिन्छ। गृह मन्त्रालयले ७७ वटै जिल्लाका सिडियोलाई कडाइ गर्नुस् भनेर परिपत्र गर्न ढिलो भइसकेको छ। तर, गृह परिपत्र गर्न ढिलोसुस्ती देखाइरहेको छ। यता, सिडियोहरू गृहको मुख ताकेर बसेको छ।

मास्क लगाउनु, जनस्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिनुलगायतका सामान्य हक पनि सिडियोसँग छैन ? गृहमन्त्री बालकृष्ण खाँड जनताप्रति अलिकति पनि जिम्मेवार छैनन्। कहाँबाट कमिशन आउँछ भन्नेतिर मात्र उनको ध्यान छ। कर्मचारी सरुवा बढुवा गर्नमै उनी व्यस्त छन्। गृहमन्त्री र स्वास्थ्यमन्त्रीको लापरवाहीले अब कतिले सित्तैमा ज्यान गुमाउने हुन् अड्कल लगाउन पनि धौ–धौ छ। हामी नेपालीहरु पनि एकदमै गैरजिम्मेवार छौं। भीडभाड पनि हामीले नै गरिरहेका छौं।

मास्क लगाइदिँदा आफ्नै सुरक्षा हो भन्ने कुरा बिर्सिएका छौं। अरूको मुख ताकेर बस्दा धेरै क्षति पुग्छ। अब हामी आफै पनि जिम्मेवार बनौं। सरकारको मुख ताक्ने काम छोडौं। कोरोना हराइसक्यो भनेर ख्यालख्याल नगरौं। कोरोनाको अनुभव कस्तो हुँदो रहेछ यो कुरा बुझौ। कोरोना लागेका कतिले ज्यान गुमाए त कतिले नयाँ जीवन पाएका छन्। त्यसैले आफ्नो सुरक्षातिर आफैले ध्यान दिऔं। किन कि सरकारलाई कर र भोटको मात्र चासो छ। व्यापारीहरूले आफू कमाउने नाममा कोरोना फैलाएर जनता मारिरहेका छन्। व्यापारीको अघि सरकार लम्पसार। स्वास्थ्य मापदण्ड पालना गर्ने व्यापारीलाई कानुनको दायरामा ल्याउन सकेको छैन। अब जनता आफै सचेत हुनुपर्छ। सरकार पनि अलिकति जिम्मेवार बनिदेऊ किन कि कोरोना फैलिसकेको छ।

अनुसा थापा, भक्तपुर

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्