ठगीको आरोपमा जेल परेका कार्की गौतमको पार्टीमा महासचिव !

Bamdev DB Karki
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा विभाजनपछि लामोसमय तटस्थ रहँदै आएका नेता वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन्। गौतमले मंगलबार दिउँसो रिपोर्टर्स् क्लवमा पत्रकार सम्मेलन गर्दै नयाँ पार्टीको घोषणा गरेका हुन्।

घोषणा गरिएको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (राष्ट्रिय एकता अभियान) राखिएको छ। नयाँ दलको अध्यक्षमा गौतम आफै छन् भने सचिवमा पूर्वसांसद डिबी कार्की र प्रवक्तामा नीमकान्त पाण्डे चयन भएको प्रवक्ता पाण्डेले यसअघि जानकारी गराएका थिए।

गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टी बहुपदीय हुने भएको छ। मंगलबार घोषणा भएको पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ। पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताएका हुन्। घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एकजना महासचिव हुनेछन्।

यस्तै एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहने गौतमले बताए। उनका अनुसार दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुनेछ। पार्टी घोषणासभामा पदाधिकारीको भने उनले घोषणा गरेनन्। यस्तै गौतम संयोजक रहेको सचिवालय निमार्ण गर्ने र त्यसले अरु दलहरूसँग वार्ताका लागि समन्वय गर्ने उक्त पार्टीले जनाएको छ।

७१ सदस्यीय केन्द्रीय समितिको महासचिवमा कार्की चयन प्रवक्ता पाण्डेले संकेत गरेका छन्। कार्की तिनै नेता हुन्, भ्रष्टाचार र घुस मागेको अभियोगमा प्रहरीले पक्राउ गरी जेल सजायसमेत भोगिसकेका व्यक्ति हुन्। उनले इन्स्पेक्टर बनाइदिने भन्दै घुस मागेको आरोप लागेको थियो।

गत वर्ष कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरोले कलंकीबाट पक्राउ गरेको थियो। ‘इन्स्पेक्टर बनाइदिने’ भन्दै घूस लिएको अभियोगमा उनीविरूद्ध सर्वोच्च अदालतले ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

यसअघि कार्की २०६७ भदौमा चार लाख घूस रकमसहित पक्राउ परी धरौटीमा छुटेका थिए। सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनी फरार भएका थिए।

पहिलो संविधानसभा चुनावमा लमजुङबाट तत्कालीन नेकपा एमालेबाट उनी समानुपातिक सभासद चुनिएका थिए। कार्की यसअघि नेकपाको भ्रातृ संगठन अखिल नेपाल किसान महासंघको कार्यालय सचिव थिए।

कार्कीको स्याङ्जा जिल्ला साबिक टकसार गाविस वडा नं. ६ स्थायी हो। उनी हाल काठमाडौं–१४ कलंकी डेरा गरी बस्दै आएका थिए।

४८ वर्षीय कार्कीले २०६७ भदौ १४ गते राजकुमार राईलाई नेपाल प्रहरीको प्रहरी निरीक्षकको नोकरी लगाइदिने बहानामा पटक–पटक गरेर चार लाख पाँच हजार लिएको ब्युरोले जनाएको थियो। उक्त रकममध्ये दुई लाख पाँच हजार मुद्दाका अर्का प्रतिवादी स्वामी ब्रम्हानन्द उदासिनले लिएका थिए।

विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(ग) बमोजिम जनही ४/४ महिना कैद र बिगो बमोजिम एक/एक लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो। कार्कीलाई विशेषले संविधानसभा तथा व्यवस्थापिका संसदको सभासद पदमा रहेकाले थप दुई महिना कैद सजायसमेत सुनाएको थियो।

मंगलबार सार्वजनिक भएको राष्ट्रिय एकता पार्टीमा गौतम संयोजक र कार्की महासचिव प्रवक्ताले संकेत गरेका हुन्। सदाचारको वकालत गर्ने गौतमले अन्ततः विवादस्पद छविका कार्कीलाई आफूपछिको दोस्रो नेता बनाउने भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्