मोरङ । निरन्तरको वर्षाका कारण मोरङको जनजीवन कष्टकर बनेको छ । सोमवारदेखि लगातार पानी परिरहेकाले मोरङको ३ सय ६७ घरधुरी पूर्ण रुपले डु्बानमा परेको छ ।
डुबानमा परेको घरबाट १ हजार ३ सय ६८ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार नजिकैको प्रहरी युनिटलाई सक्रिय बनाएर उद्धारमा परिचालन गरिएको छ । नागरिकलाई सचेत रहन आग्रह गर्दै जोखिम भए सुरक्षा लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलाई तैनाथ राखिएको उहाँले जानकारी दिनुभयो ।
जोखिममा परेका नागरिकको उद्धारमा नेपाल प्रहरीले सहयोग गर्दै आएको छ ।
हालसम्म विराटनगर महानगरपालिका ८ का २५ घरपरिवारका ९५ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका धेरै क्षेत्रमा वर्षाका कारण डुबान र कटानको जोखिम देखिएको छ ।