वर्तमान निर्वाचन प्रणाली गणतन्त्रको लागि खतरा : प्रचण्ड

Prachand
लोकपाटी न्यूज
10 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन प्रणालीले कारण जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले निर्वाचन प्रणालीमा सुधारको आवश्यकता औँल्याए।

यदि निर्वाचन प्रणालीमा सुधार ल्याउन नसकिए गणतन्त्र नै खतरामा पर्ने उनले बताए। यही व्यवस्थामा देश रहे गणतन्त्र जनताको नभई बुर्जुवाको हुने हो कि भन्नेमा शंका रहेको उनको भनाइ छ। प्रचण्डले भने, ‘अब यो चुनाव प्रणालीले हाम्रो गणतन्त्र पनि खतरामा पर्छ। यसले देशलाई नराम्रो भुमरीमा लान्छ, भड्खालोमै लान्छ।’

उनले अबको निर्वाचनबाट दलाल पुँजीपति, नोकरसाह पुँजीपति र भ्रष्टहरू मात्रै चुनिने खतरा रहेको बताए। गाउँपालिकामा १० करोड खर्च गरेर चुनाव जितियो भन्ने कुरा सुनिएको भन्दै प्रचण्डले यही प्रणालीमा संघको चुनाव जित्न अर्बौं रकम चाहिने स्थिति आएको बताए। ‘गाउँपालिकाको चुनाव जित्न १० करोड खर्च गरेको सुनिन्छ। अब त संघको चुनावका लागि अर्ब चाहिने भयो,’ उनले अघि भने, ‘गरिबले चुनाव जित्नु त सपना जस्तो भयो। अब त दलालहरू आउने भए।’

उनले श्रमजीवि जनता र क्रान्तिकारीहरूले चुनाव लडेर जितेर आउने कुरा सपनाझैँ भएको बताए। प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने बताए। उनले देशको शासन प्रणाली पनि शासन देश अनुकूल नभएको दाबी गरे। यही निर्वाचन प्रणालीका कारण जनताले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूति गर्न नपाएको उनको भनाई छ।

उनले अहिले सांसद हुन करोडौँ खर्च गर्न तयार हुने भनेको मन्त्री र प्रधानमन्त्री बन्नको लागि भएको बताए। उनले भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणाली र शासन प्रणालीभित्र अन्तरनिहीत रहेको उल्लेख गरे। प्रचण्डले यसबारेमा माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रूपले बोल्ने आधार रहेको दाबी गरे। ‘बुलेटमा छैनौँ, ब्यालेटमै छौँ। यो संघर्ष पनि वर्ग संघर्षको एउटा रूप हो। देश कता लिएर जाने भन्ने कुराको निधो हुन्छ,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्