प्रचण्डको ब्रिफिङ : अब गठबन्धनबाट दायाँबायाँ सोच्न हुँदैन

Prachand
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको आसन्न निर्वाचनमा अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले अब निर्वाचनसम्म दायाँ-बायाँ सोच्न नहुने बताएका हुन्।

प्रचण्डले एमालेसँग भने सहकार्य सम्भव नभएको बताएका छन्। प्रचण्डले बैठकमा समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी गराएका थिए। हालको गठबन्धन भित्रकै वामपन्थी दलहरूबीच मोर्चा बन्ने भए पनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुंगिएको बताएका थिए।

प्रचण्डको भनाई उद्धृत गर्दै स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने, ‘अहिलेको गठबन्धनलाई कायम राख्नुपर्छ, माधव नेपाल जीहरुसँगपनि सहकार्य गरेर जानुपर्छ, वाम गठबन्धन कायम गर्ने भन्नुभएको छ। वामपन्थी दलहरुबीच पार्टी एकता संयोजन समिति बनाएर अगाडि बढ्न सकिने ब्रिफिङ गर्नु भएको छ। ’

महाधिवेशन सकिएको लामो समयसम्म पनि पार्टी पदाधिकारी चयन गर्न नसकेका वेला माओवादीका शीर्ष नेता रहेको स्थायी समितिको आज बैठक बसेको थियो। तर, बैठकले पदाधिकारी चयन र स्थायी समितिलाई पूर्णता दिनेबारे कुनै ठोस निर्णय लिएन। यस सम्बन्धमा भोलि शुक्रबार बिहान ८ बजे पुनः बस्ने बैठकमा थप छलफल हुने नेताहरूले बताएका छन्।