वर्षायाममा खोलानाला र पुलपुलेसामा पानीको सतह बढ्छ। बस्तीमा पनि जताततै पानी जमिरहेको हुन्छ। वर्षा र जमेको पानीका कारण सर्प, मुसालगायत जीवको प्राकृतिक बासस्थान भत्कन्छन् र विशेषगरी गर्मी महिनामा सर्प, मुसालगायत जीव बाहिर निस्किन्छन्। वर्षको आधा समय अर्थात् जाडो महिनाभर जमिनमुनि लुक्ने र गर्मीको ६ महिना बाहिर निस्किने भएकाले यी जीव मानिसको सम्पर्कमा आउँछन्। यसकारण गर्मी मौसममा सर्पलगायत जीवसँग सधैँ सजग रहनुपर्छ।
के हो सर्प विष ?
सर्पले आफ्नो विषको प्रयोग सिकारलाई गतिहीन गर्न वा मार्न प्रयोग गर्छ। सर्पको विषले न्युरोटक्सिक अर्थात् स्नायु प्रणालीमा असर गर्छ वा हेमाटक्सिक अर्थात् रक्तसञ्चारलाई प्रभावित गर्छ। न्युरोटक्सिक विषले मुटुको चाल र श्वासप्रश्वास नियन्त्रण गर्ने मस्तिष्कको केन्द्रलाई प्रभावित गर्छ। त्यसैले सर्पले टोकेकाहरू सास फेर्न वा निल्न समस्या अनुभव गर्छन्।
हेमोटक्सिक विषले रातो रक्तकणिकालाई नष्ट गर्छ, शरीरको तन्तुलाई क्षतिग्रस्त पार्छ, आन्तरिक रक्तश्राव गराउँछ। आत्तिएर बिरामीको मृत्यु पनि हुन सक्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले एन्टिस्नेक भेनम निःशुल्क उपलब्ध गराएको छ। सर्पदंश उपचार केन्द्रमा यस्ता भेनम सहजै उपलब्ध हुन्छन्।
विषालु सर्पले टोकेको १५ मिनेटभित्रै देखिने लक्षण
- सर्प टोकेको ठाउँको छालाको रंग रातो हुन्छ । त्यो ठाउँ सुन्निएको जस्तो लाग्न थाल्छ र अति पीडा अनुभव हुन्छ।
- सास फेर्न असजिलो हुन थाल्छ।
- दृष्टि कमजोर हुन्छ। आँखा अगाडि धमिलो देखिन्छ।
- वाकवाकी लाग्न थाल्छ। र्याल आउन र अत्यधिक पसिना बग्न थाल्छ।
- हातखुट्टा झमझमाउन थाल्छ। हातखुट्टा संवेदनाहीन हुँदै जान्छ। पक्षाघातको लक्षण देखिन थाल्छ।
- स्वर भासिन थाल्छ। कुनै पनि वस्तु निल्न असजिलो हुन्छ।
- मांसपेशीमा कमजोरी भएर ओठ र जिब्रो नीलो हुन थाल्छ।
सर्पले टोकेमा के गर्ने ?
- तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ। टोकेको त्यति विषालु नभए पनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ।
- सकेसम्म टोकेको स्थानलाई अलि अलि भए पनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्दत गर्छ।
- सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला। यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ। सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला।
- टोकेको समय पनि ख्याल गर्नुहोला। यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ।
- कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नुहोला।
- आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनुहोला।
- सर्पले टोकेको स्थानमा कागतीको रसले पखाल्दा संक्रमणको खतरा कम हुन्छ।
- सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्नुहोला।
के नगर्ने ?
- सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला। सर्पले फेरि टोक्न सक्छ।
- टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला। सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ।
- टोकेको क्षेत्रमा बेस्सरी नबाँध्नुहोला।
- टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्नुहोला। बरु यसले विष चाँडो फैलन सहयोग गर्छ।
- टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला।
- एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिनुहोला। यस्ता पेनकिलरले रगत पातलो बनाउँछ।
- टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ।
कसरी जोगिने ?
विषालु सर्पको डसाइका घटना रातको समयमा धेरै हुने गरेको पाइन्छ। रातको समयमा बाहिर निस्किँदा उज्यालो बत्ती, टर्चलाइट, लालटिन, लठ्ठी लिएर मात्रै निस्किने गर्नुपर्छ। सर्पको जोखिमको समयमा बाहिर हिँड्दा घुँडासम्म आउने बाक्लो जुत्ता, रबरको बुट र पूरा खुट्टा छोप्ने बाक्लो पाइन्ट लगाउने गर्नुपर्छ। सम्भव भएसम्म भुइँमा नसुत्ने, सुत्दा झुल लगाएर सुत्ने गर्नुपर्छ। भान्सादेखि ट्वाइलेट जाँदा पनि सजगता अपनाउनुपर्छ। भ्यागुता, मुसा, चरा, छेपारो आदि सर्पका आहारा भएकाले तिनलाई सकेसम्म घरभित्र बस्न दिनुहुँदैन। सर्पको टोकाइबाट बच्न घरलाई सुरक्षित बनाउनुपर्छ। सम्भव भएसम्म घरका झ्यालढोकामा जाली हाल्नुपर्छ।