किरण, विप्लवको अर्थ छैन, बाबुराम त माओवादी नै होइनन् : प्रचण्ड

prachanda
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले यही गठबन्धन कायम रहने बताएका छन्। राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पाँच दलीय गठबन्धन दायाँबायाँ नहुने बताएका हुन्।

उनले भने, ‘अहिले यही पाँच दलीय गठबन्धन कायम हुन्छ, यसमा दायाँबायाँ गरिँदैन। तालमेल गर्दा पनि हामी पहिलो हुने हो। सायद पहिलो काँग्रेस हुने हो। दोस्रो हामी हुने हो। त्यसमा सहयोग गर्ने हो भने सबै चिज सहज जान्छ नत्र जाँदैन। परिवर्तनको बाहक माओवादी हो।’

प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी दोस्रो बन्ने र देशको बागडोर आफ्नो हातमा लिने गरी अगाडि बढेको पनि बताए। आगामी निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने देखिएको बताउँदै उनले कम्युनिस्ट शक्तिहरूमा माओवादी केन्द्र पहिलो बनाउने गरी आफूहरू लागेको बताए।

‘कम्तीमा पनि लेफ्ट मोमेन्टको पहिलो हुने हो, मैले काँग्रेसका नेताहरूलाई पनि भनेको छु। अहिले सायद पहिलो तपाईँहरू नै हुनुहुन्छ। त्यो देखिन्छ पनि। दोस्रो चाहिँ माओवादी केन्द्र हुनुपर्छ,’ प्रचण्डले भने, ‘त्यसमा सहयोग गर्ने हो, भने सबै सहज जान्छ, होइन भने जाँदैन।’

प्रचण्डले देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको जिकिर गरे। ‘यो चुनावमाबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरूको काम छैन भन्ने स्पष्ट भयो,’ उनले भने, ‘किरण माओवादी काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त हिसाबै भएन।’

उनले अगाडि थपे, ‘१० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी छ र यसको एउटै नेतृत्व प्रचण्ड मात्रै छ भन्ने पुष्टि भएको छ।’