दोषी उम्कन हुँदैन, निर्दोषी फस्नु हुँदैन : मन्त्री विश्वकर्मा

Dobate_BK
लोकपाटी न्यूज
4 Shares

गण्डकी। गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले जुनसुकै अपराधमा दोषी उम्कन नहुने र निर्दोषी फस्न नहुने बताएका छन्। आज पोखरामा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले बढ्दो प्रविधिको विकाससँगै अपराधमा प्रयोग हुने गरेका नयाँ-नयाँ प्रविधि तथा प्रयोगको चुनौतीलाई सामाना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

अपराध अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताए। समाजमा शान्ति सुरक्षा कायम गराउन आपराधिक गतिविधि अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले अनुसन्धानलाई अझै प्रभावकारी बनाउने गरी लाग्नुपर्ने उल्लेख गरे।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी सङ्गठन निरन्तर दत्तचित्त भएर लागेको बताए। प्रहरीको मनोबल उच्च बनाउनका लागि सङ्गठनलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै उनले यसबाट अनुसन्धानको प्रभावकारितामा पनि वृद्धि हुने बताए। निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा त्यसलाई निष्पक्ष र भयरहित बनाउने वातावरण तयार गर्न उनले मातहतका निकायलाई निर्देशन दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्