कतै पार्टनरबाट धोका त भइरहेको छैन! कसरी थाहापाउने ?

Couple_Life
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। दाम्पत्य सुखका लागि भावनात्मक र व्यवहारिक तालमेल जरुरी हुन्छ। साथसाथै विश्वास, भरोसा, सद्भाव, सहयोग र प्रेमले दाम्पत्य जीवनलाई सुखमय बनाउँछ। तर, कहिले काहीँ दाम्पत्य जीवनमा तालमेल मिल्दैन।

हुन त व्यवहारिक जीवन चलाउने क्रममा सानोतिनो झगडा वा मतभेद हुनु सामान्य हो। किनभने सबैको सोच, रुचि, व्यवहार एकनास हुँदैन। यी समस्या त एक अर्काको संवाद र सहकार्यबाट सुल्झँदै जान्छन्। दम्पतीहरू जति जति परिपक्व हुँदै जान्छन्, उत्ति नै घर-व्यवहारमा पनि सन्तुलन आउँदै जान्छ।

तर, घर व्यवहार ठीक हुँदाहुँदै पनि कहिलेकाहीँ दम्पतीबीच फाटो आउन सक्छ। र, यो फाटो ल्याउने काम गर्छ, अविश्वास र आशंकाले। कुन अवस्थामा यस्तो स्थिति पैदा हुन्छ त ? जब श्रीमान् वा श्रीमतीले एक अर्कासँग कुरा लुकाउन थाल्छन्। वा धोका दिन थाल्छन्।

जब पार्टनरमध्ये एकले विश्वासघात गर्न थाल्छन्, तब सम्बन्ध खराब हुन थाल्छ। पार्टनरलाई छल्ने, ढाँट्ने प्रवृत्ति कुनै न कुनै रुपमा प्रकट भइहाल्छ। अतः त्यसबेला उनीहरूको सम्बन्ध सधैँजस्तो सुमधुर रहँदैन। संकटमा पर्छ।

जब पार्टनरले यसरी आफूलाई छल्न खोज्छन्, त्यसको केही न केही संकेत पनि मिल्छ। अतः यस्तो संकेत पाइएमा उनीमाथि प्रश्न गर्न सकिन्छ। उनको नियत वा प्रवृत्ति बुझ्न सकिन्छ। र, सम्भावित जोखिमबाट उम्कन सकिन्छ।

सबै व्यक्ति मनको कुरा खोलेर बोल्ने स्वभावका हुँदैनन्। कोही धेरै बोल्छन्, कोही कम। कोही सार्थक कुरा बोल्छन्, कोही गफाडी मात्र पनि हुन्छन्। तपाईंको पार्टनर कम बोल्छन् वा धेरै ? त्यो महत्त्वपूर्ण भएन। यद्यपि उनी सधैँजस्तो तपाईंसँग अन्तरंग कुरा गर्दैनन् भने त्यसमा केही गडबड छ भनेर बुझ्नुपर्छ। पार्टनरले आफूसँग बोल्न रुचि नराख्नुमा उनकै दोष मात्र हुँदैन, आफ्नो गल्ती पनि हुनसक्छ।

त्यसैले पार्टनरले आफूसँग अरुबेला झैँ स्वभाविक ढंगले कुराकानी गर्न छाडेमा वा कुरा गर्न नचाहेमा तपाईंले त्यसको कारण खोज्नुपर्छ। साथसाथै यसले के पनि संकेत गर्छ भने तपाईंका पार्टनरले तपाईंलाई धोका दिँदै छ।

सामान्य अवस्थामा भन्दा बढी नै लचिलो भएर व्यवहार गर्न थालेमा वा अनावश्यक माया गरेको दर्शाएमा पनि केही गडबड छ भनेर बुझ्न सकिन्छ। किनभने तपाईंले कुनै पनि शंका नगरोस् भनेर उनले बढी नै माया दर्शाएको नाटक गर्न सक्छन्। यस किसिमको व्यवहार भनेको उनले तपाईंको नजरबाट आफूलाई बचाईराख्नका लागि हो।

तपाईंको पार्टनर अरुबेला भन्दा बढी समय घरबाहिर बिताउन थालेमा पनि शंका गर्न सकिन्छ। हुन त कतिपय काम विशेषले पनि घरबाहिर बढी समय बिताएको हुनसक्छ। यद्यपि उनी के कामले अल्झिएका हुन् भन्ने कुरा त तपाईंलाई थाहा हुनै पर्छ। पार्टनर कहाँ जान्छ, के गर्छ भन्ने कुरा सामान्यरुपमा तपाईंले हेक्का राख्नुपर्छ। यस्तो कुरामा पनि दम्पतीले कुरा लुकाउनु हुँदैन। यदि पार्टनर धेरैजसो घरबाहिर जान्छन् र त्यसको कारण पनि खास खुल्दैन भने शंका गर्नुपर्छ।

पार्टनरसँग केही कुरा गर्न खोज्दा बढी नै हडबडाउँछ भने पनि त्यसको कारण खोज्नुपर्छ। आखिर के कुरामा तपाईंसँग उनले डर मानिरहेका छन्, के कुरामा संकोच मानिरहेका छन् ? खोतल्नुपर्छ।

जब पार्टनर अरूतिर सम्बन्ध बढाउन थाल्छन्, तब तपाईंप्रति उनको लगाव घट्दै जान्छ। उनले तपाईंलाई समय दिँदैनन्, कुराकानी गर्दैनन्। तपाईंबाट टाढा रहन खोज्छन्। यदि यस्तो लक्षण देखिएमा पनि तपाईंले शंका गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्