तपाईं कसरी बस्नुहुन्छ ? कस्तो पहिरन लगाउनुहुन्छ ? खाना कसरी खानुहुन्छ ? कसरी सुत्नुहुन्छ ?
हामीलाई यावत् कुरा अत्यन्तै सामान्य लाग्छ। खानु, बस्नु, सुत्नु आदि कुरामा हामी बेपरवाह छौं। ‘नानीदेखि लागेको बानी’ भनेर पनि धेरै कुरामा ख्याल राख्दैनौं। जबकि हामीले सामान्य वा झिना मसिना भनिएका कतिपय कुरा वा आनीबानीले शारीरिक स्वास्थ्यमा भने ठूलो असर पुर्याउन सक्छ।
जस्तो हामी हतारमा खाना खान्छौं। यो हामीलाई ठूलो कुरा लाग्दैन। तर, यो बानीले क्रमिक रुपमा हाम्रो पाचन यन्त्रलाई यति कमजोर बनाउँछ कि, सामान्य खानेकुरा पनि पचाउन कठिन हुन्छ। त्यति मात्र होइन, पेट, आन्द्रा एवं मलद्वार सम्बन्धि अनेक समस्या निम्त्याउन सक्छ। हामीलाई पानी पिउनु सामान्य लाग्छ। अर्थात पानी पिउनका लागि कुनै तौर तरिका चाहिँदैन भन्ने लाग्छ। जबकि यसको पनि मात्रा, तौर तरिका र खास समय छ।
बिहान उठ्नसाथ मनतातो पानी पिउनु शारीरिक स्वास्थ्यका लागि राम्रो मात्र होइन अपरिहार्य पनि छ। तर, भात खानुअघि वा पछि पानी पिउँदा पाचन प्रणालीमै समस्या आउँछ। यसैगरी राती सुत्नुअघि पानी पिउँदा निद्रा बिथोलिने मात्र होइन, मिर्गौला लगायतका अंगहरुमा बोझ थपिन्छ। उभिएर घटघट पानी पिउनु पनि राम्रो मानिँदैन। पानी पिउँदा सकेसम्म बसेर र विस्तारै पिउनुपर्छ।
हामी दिनभर केही न केही काम गर्छौं र बस्छौं। बस्दा कसरी बस्ने ? यो कुराको हामीले ख्याल गर्दैर्नौं। जबकि झुकेर वा नुहिएर बस्दा स्वास्थ्यमा निकै असर पुग्छ। यसले श्वासप्रश्वास प्रक्रियादेखि मेरुदण्डसम्मलाई असर गर्छ। त्यसैले यस्ता सामान्य एवं आधारभूत कुराको पनि जानकारी हुनुपर्छ।
कसिलो बेल्ट बाँध्नु : दिनभर बेल्ट कसिलो गरी बाँध्दा पेट कसिन्छ। यस्तोमा खाएको कुरा राम्ररी पच्न पाउँदैन। यसबाट एसिडिटी वा कब्जियतको समस्या उत्पन्न हुन सक्छ।
झुकेर बस्नु : घन्टौंसम्म तल निहुरिएर काम गर्ने बानीले शरीरलाई हानी गर्छ। यसबाट मांशपेशीमा दवाव पर्ने हुनाले गर्दन, कम्मर र काँधमा दुखाई हुन सक्छ।
लामो समय गाडी चलाउनु : विश्राम नलिईकन लामो समयसम्म गाडी चलाउँदा खुट्टामा ब्लड क्लटिङ हुन थाल्छ। यसबाट खुट्टा सुन्निन्छ। त्यसैले लामो यात्रामा जाँदा हरेक दुई घण्टामा ड्राइभरले ब्रेक लिनुपर्छ।
काँधमा झोला झुन्ड्याउनु : गह्रुंगो झोला काँधमा झुण्ड्याएर हिँड्दा त्यहाँ रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन। यसबाट काँधको दुखाई वा ऐँठनको समस्या हुन सक्छ।
ओछ्यानबाट जुरुक्कै उठ्नु : बिहान ओछ्यानमा सुतिरहेको बेला हाम्रो शरीर ‘रिल्याक्स्ड’ अवस्थामा हुन्छ। एकाएक ओछ्यानबाट जुरुक्कै उठ्यो भने रक्तसञ्चार बढ्छ भने मांशपेसीमा दवाव बढ्न सक्छ। त्यसैले ओछ्यानबाट उठ्नुभन्दा अगाडि शरीरलाई राम्ररी तन्काउनुपर्छ।
मसालायुक्त खाना : दिनभर केही न केही मसलादार खानेकुरा खाइरहँदा पेटभित्र एसिडको मात्रा बढ्छ। यस्तोमा एसिडिटीको समस्या हुन सक्छ।
उपरखुट्टी लगाएर बस्नु : लामो समयसम्म उपरखुट्टी लगाएर बस्नाले खुट्टामा सही तरिकाले रक्तसञ्चार हुन सक्दैन। यस्तोमा रगत खुट्टातर्फ नगएर मुटुमा फिर्ता आउन सक्छ र यसले मुटुलाई हानी पुर्याउँछ।
पेट थिचेर सुत्नु : पेट थिचेर सुत्दा शरीर आफ्नो स्वाभाविक आकारमा रहँदैन। साथै शरीरमा रक्तसञ्चार सरलरुपमा हुन सक्दैन। यस्तोमा टाउको दुख्ने, ढाड दुख्ने, जोर्नी दुख्ने वा मांशपेसी दुख्ने जस्ता समस्या उत्पन्न हुन सक्छन्।