खिल बाँकी नै छ

Dr. Nimananda Rijal
लोकपाटी न्यूज
5 Shares
  • डा. निमानन्द रिजाल

  वर्षा याम
खोलानाला कुर्लिएका छन्
लेक सलबलाउँदै छ
पहाड बग्दैछन्
बाँध भत्किएका छन्
नयाँ निर्माण बाँकी नै छ
यसैले पिलो आएको छ।
पिलो निचोर्नु पर्ने छ
निचोर्दा ठिकै लाग्छ
समय पलाउँदै जाँदा
पिपले डेरा जमाउँछ
यसैले खिल निकाल्नु छ।

खिल निकाल्न
जब्बर हात पार्नै पर्दछ
अँठ्याएको अँठ्याइ गर्नु पर्दछ
मुख पनि चक्कुले चिर्नु पर्दछ
छोड्यो कि खिल चिप्ली हाल्छ
यस्तै चिप्लाइले भ्रमको खेती
गरिरहेछ।
निको भएको भान पार्दछ
बारम्बार उल्जी रहन्छ।

पञ्चकोसीमा आँखा तान्न लाग्यो
प्रभुलाई भेटी चढाउन थाल्यो
चामलको नाममा विष पिलायो
कुर्चीमा र टुट राखी लगाम लगायो।
पिलो न हो बारम्बार
आफ्नो रूप यस्तै गरी आइरहन्छ।

बलात्कृत आमाको आँसुमा
स्कच दैनिक पिलायो
पिला न हुन रगतमा नुहाउँछन्
मृत्युमा खिल खिलाउँछन्
जाजरकोट, रुकुम, हुम्ला
यसैको चक्करमा परेका छन्।

खिल निकाल्न सर्जरी चाहिन्छ
स्पातिलो धार चाहिन्छ
चारैतिर चिर्नु पर्दछ।
अब त बल लाउनै पर्दछ
सडक, गल्ली, गाउँ गाउँबाट
हातहरू आउनै पर्दछ।

अफिस अफिसबाट पनि
उठ्नै पर्दछ।
पिलो सदाको लागि फ्याँक्नै पर्दछ
ताजा रगतले जीवन
खिल खिलाउन पाउनु पर्दछ।

लमजुङ २०६३