स्मृतिमा सहिद वासु र बैरागी

Basu_Bairagi
लोकपाटी न्यूज
8 Shares
  • इन्द्रराज भट्टराई
लेखक : इन्द्रराज भट्टराई

 २०४७ सालको कुरा हो, म त्यतिबेला कक्षा ९ मा अध्ययनरत थिएँ। त्यो समयमा कक्षा ९ मा नै एसएलसीको रजिस्ट्रेशन फाराम भर्नुपर्ने हुन्थ्यो। सोही दिन हामी नौ कक्षा विद्यार्थीहरूलाई कक्षाबाट बाहिर बोलाइयो । सबै जना विद्यालयको लाइब्रेरी अगाडिको चौरमा भेला भएका थियौं। हामी सबैलाई लाइन लगाइएको थियो। एक जना क्यामेराम्यान फोटो खिच्न व्यस्त थिए। हामी फोटो खिच्नका लागि बसेको उक्त लाइनमा सुरेश सर मेरो नजिकै आउनुभयो। “ल यो टोपी लगा। नागरिकता बनाउन काम लाग्छ फोटो,” सरले भन्नुभयो।

साँच्चै संयोग मिलेछ, एसएलसी पास भएपछि गोरखा क्याम्पस पढ्दै गर्दा नागरिकता बनाएँ। नागरिकतामा भएको मेरो फोटोमा आदरणीय र प्रिय गुरु सुरेश वाग्लेले लगाइदिएको उहाँकै टोपी छ, जुन मेरो जीवनकालमा हरेक पल मसँगै छ र रहिरहनेछ।

०४१/२०४२ सालतिरबाट राजनीतिका बारेमा सुनेको मैँले। भरत गुरूंग र डीबी लामा काण्ड, राष्ट्रिय पञ्चायतको चुनाव, हाम्रै तत्कालीन आँपपिपल गाउँ पञ्चायतका नेता राजेश्वर देवकोटाको उम्मेदवारी, गोरखाका वीरेन्द्र पोखरेल, यदु भट्ट आदि आदि सुनेको। केटाकेटी मैँ कलम र तारा भएको झण्डा बोकेर अग्रज दाइ दिदीहरूसँग ‘अनेरास्ववियू जिन्दाबाद’ भनेको पनि याद छ।

जनचेतना प्रावि सिमपानीबाट कक्षा ५ सकाएर मैँले कक्षा ६ देखि जनता माविमा पढ्न सुरु गरेको। सुरेश सरको जेठो छोरा दीपक वाग्ले मेरो समकक्षी अर्थात् हामी एउटै कक्षामा पढेको। सर माविको शिक्षक, विद्यालयमा हामीलाई नपढाएको भएपनि साथीको बुबा, अनि नेपाली विषयका गुरुका रूपमा चिनजान थियो नै। विद्यालयमा आयोजना गरिने विभिन्न प्रतियोगिता र अन्तरविद्यालय प्रतियोगिताको तयारीमा उहाँको निर्देशन, सल्लाह, सहयोग आदिले नजिक बनाएको थियो। त्यसैगरी विद्यालयमा सहिद मित्रमणी आचार्य, चिनियाकाजी श्रेष्ठको स्मृति दिवस लगायतका कार्यक्रमहरू मनाउँदै गर्दा उहाँको अभिभावकत्वको प्रशंसा हुने गर्थ्यो।

२०४६ सालको जनआन्दोलनको क्रममा हामी विभिन्न कार्यक्रमहरूमा सहभागी हुने गर्थ्यौं। त्यतिबेला थाहा पायौं सुरेश सर कम्युनिस्ट भएको र पञ्चायतको विरुद्धमा लागेका कारण उहाँको जागिर स्थायी भएन।उहाँलाई तत्कालीन शिक्षक संगठनबाट राजीनामा गरे स्थायी बनाउने आश्वासन आएको तर उहाँले जागिरभन्दा विचार माथि राखेर सो कुरा अस्वीकार गरेको सुनियो। २०४६ को जनआन्दोलनपछि बहुदलीय व्यवस्था स्थापित भएपछि भन्ने स्थायी गरिएको थियो।

सुरेश सरसँग एउटा पारिवारिक प्रसंग पनि जोडिएको छ। २०४७ सालमा मेरो दिदीको बिहेको सन्दर्भ जोडिन्छ। मेरो दिदीको बिहेको सन्दर्भमा माधव मरहट्ठा र सुरेश सरको पारिवारिक भूमिका महत्त्वपूर्ण रहेको सम्झना छ।

जनआन्दोलनपछि आमनिर्वाचनको तयारी थियो। विद्यालयको स्थायी जागिर छाडेर तत्कालीन समयमा पार्टीको पूर्णकालीन सदस्यता रूपमा उहाँले आफ्नो राजनीतिक जीवनलाई अगाडि बढाउनुभयो अनि २०४८ को आमनिर्वाचनमा गोरखा क्षेत्र नं २ बाट जनमोर्चा नेपालको तर्फबाट उम्मेदवार बन्नुभयो। उहाँले चुनाव जित्ने कुरामा हामी यति ढुक्क थियौं कि चुनावको मतगणना सकिने आंकलनका साथ हामी बाजागाजासहित तयार भएका थियौं। तर उहाँ नेपाली काँग्रेसकी मैयाँदेवी श्रेष्ठसँग झिनो मतले पराजित हुनुभयो। नसोचेको परिणामले सारा गोरखाली जनता आश्चर्यचकित भए। त्यसपछि सुरेश सरसँग त्यति धेरै भेटघाट हुन्नथ्यो। उहाँ पार्टी कामको सिलसिलामा विभिन्न जिल्ला पुग्ने गर्नुहुन्थ्यो।

२०४९ मा एसएलसी उत्तीर्ण भएपछि म गोरखा क्याम्पसमा भर्ना भएँ। हामी तत्कालीन अनेरास्वियूमा एघारौंमा आबद्ध थियौं। सो समयमा आदरणीय दाइ राजेन्द्र ढकाल (जो बेपत्ता हुनुहुन्छ), सुरेश वाग्ले, भक्ति लामिछाने, श्रीनाथ अधिकारीसँग भेटघाट हुने गर्थ्यो। राजनीतिक जीवनको त्यो महत्त्वपूर्ण क्षणमा उहाँहरूबाट विचार निर्माणबारे धेरै सिक्ने अवसर प्राप्त भएको थियो।

दासढुंगा हत्याकाण्ड र हाम्रो भेट

२०५० जेठ ३ गते चितवनको दासढुंगामा नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको हत्या भयो। उक्त हत्याकाण्डबारे सोही दिन राति रेडियोबाट समाचार सुनेपछि गोरखा क्याम्पसमा अध्ययनरत हामी केही साथीहरू भोलिपल्ट बिहानै दासढुंगा पुगेका थियौं। ठूलो संख्यामा पार्टी नेता कार्यकर्ता तथा आम मानिसहरूको ठूलो उपस्थिति थियो। जीवराज आश्रितको मृत शरीर त उहाँहरू चढेको गाडीमा नै फेला पर्‍यो तर मदन भण्डारीको शव भने फेला परेन। हामी लगायत दिनभर नारायणी नदीको किनारमा शव खोज्न व्यस्त भयौं। सोही बीचमा जागृत प्रसाद भेटवाल, भीमबहादुर श्रेष्ठ लगायत केही नेताहरूको अभिव्यक्तिका कारण होहल्ला र नारा जुलुसका बिच यातायात ठप्प हुँदा कसरी गोरखा फर्कने भनेर अत्तालिएको बेला सोही ठाउँमा सुरेश सरसँग भेट भएको र बेलुकी सँगै गोरखा फर्किएको सम्झना स्मृतिमै छ। फर्कने क्रममा उहाँले सिकाउनुभएको एउटा कुरा सधैँ सम्झन मन लाग्छ, ‘जीवन प्रायः चुनौतीहरू आइरहन्छन्। जसले सामना गर्ने हिम्मत गर्छ उसैले विजय प्राप्त गर्छ।’

आज भाद्र २३ गते: १० वर्षे महान् जनयुद्धको क्रममा २०५६ भाद्र २३ गते गोरखाको गाँखुमा दुस्मनको घेराबन्दीमा परेर आदरणीय सर सुरेश वाग्ले ‘वासु’ र मेरा प्रिय मित्र भिमसेन पोखरेल ‘बैरागी’को निर्मम हत्या भएको आज २४ वर्ष लागेछ। स्मृति दिवसको अवसरमा वासु, बैरागी लगायत सम्पूर्ण सहिदहरूप्रति उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजन एवं आफन्तजनहरूमा गहिरो समवेदना।

सुरेश वाग्लेको सम्पूर्ण परिवार एवं प्रिय मित्रहरू दीपक वाग्ले र विकास वाग्ले तथा बहिनी मञ्जुलाई सम्झँदै मित्र विकास वाग्ले् आफ्नो बुबाको स्मृतिमा लेखेको कुरा उद्धरण गर्न चाहन्छु- ‘मानिस आस्था र विचारका आधारमा बाँच्दछ सोही अनुसार कर्म गर्दछ र विचारमै दृढतासाथ उभिँदा बलिदान दिनुपरे पनि पछि पर्दैन।’

सामाजिक रुपान्तरण र गरिब र निमुखा जनताको राज्य स्थापना गर्नेक्रममा शहादत प्राप्त गर्नुभएका आदरणीय बुवा सहिद सुरेश वाग्ले र दाजु भिमसेन पोखरेलको २३ वर्ष बितेर २४ पुगेछ। आजको दिनमा उहाँहरू र सम्पूर्ण सहिदहरूप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली !

सुरेश वाग्ले ‘वासु’को जीवनी

क. वासु जनयुद्धको क्रममा उच्च शहादत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तत्कालीन वैकल्पिक पोलिटब्यूरो सदस्य थिए। उनको जन्म गोरखाको तत्कालीन आँपपिपल गाउँ विकास समिति- ५ स्थित सिम्पानी रातडाँडा भन्ने गाउँमा वि.सं. २०१० साल भाद्र २४ गते बुधबारका दिनमा बुबा भोजराज वाग्लेका जेष्ठ सुपुत्रका रुपमा आमा दुर्गादेवी वाग्लेको कोखबाट भएको थियो।

निम्न किसान परिवारमा जन्मिएका उनी बाल्यावस्थामा भौतिक रुपमा अत्यन्तै कमजोर तर तीक्ष्ण बुद्धिका थिए। संस्कृत शिक्षा पढ्नका लागि ६ वर्षका वासुले मावली घर गोरखाकै बक्राङ बसेर साहिला हजुरबा गणेशप्रसाद अर्याल (काना गुरु) सँग कक्षा ७ बराबरको औपचारिक शिक्षा प्रारम्भ हासिल गरेका थिए। वि.सं. २०२४ सालमा काठमाडौंमा आएर उनले रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयबाट कक्षा ८ उत्तीर्ण गरे र रानीपोखरी संस्कृत छात्रवासमा बसेर वि.सं. २०२८ सालमा वाल्मीकि क्याम्पसबाट उत्तर मध्यमा र वि.सं. २०३० सालमा शास्त्रीसम्मको अध्ययन पूरा गरेका थिए।

सोही क्रममा वि. सं. २०२७ सालबाटै उनी नेपाल र नेपालीको मुक्तिका लागि सामन्तवादी, संशोधनवादी पुँजीवादी शासकहरू विरुद्ध क्रान्तिको मोर्चामा लागिपरे। सृजनशील क्षमता र सही विश्लेषण गर्न सक्ने तागत भएका उनी विद्यार्थी अवस्थादेखि क्रान्तिकारी संगठन (गण्डकी विद्यार्थी परिषद्) मा आबद्ध भई त्यसको सचिवसमेत भएका उनले वि.सं. २०३१ सालमा आफ्नै गृह जिल्ला गोरखा फर्किएर वि.सं. २०३२ मा आफ्नै गाउँ आँपपिपल (हालको पालुंगटार-२) को जनता माध्यमिक विद्यालयमा शिक्षण पेशामा आबद्ध भए। सो समयमा क. वासु तत्कालीन नेकपा मसालमा आबद्ध थिए।

वि.सं. २०३४ सालमा नेकपा चौमको पार्टी सदस्यता लिएका वाग्ले तत्कालीन शिक्षकहरूको छाता संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन तदर्थ समिति गोरखाको सचिव पदमा रहेका उनी वि.सं. २०३६ सालमा गोरखामा क्रान्तिकारी शिक्षकको नेता बनिसकेका थिए। वि.सं. २०३५-०३६ सालतिर गोरखाको हंसपुर गाविसको ज्ञान ज्योति माध्यमिक विद्यालयमा सरुवा भएका वाग्ले र अन्य क्रान्तिकारी शिक्षकहरू दिउँसो विद्यालयको शिक्षणलाई अनुशासित ढंगले अगाडि बढाउँदै बिहान र बेलुका स्थानीय जनताहरूलाई अन्याय र अत्याचारको विरुद्ध गोलबन्द गराउँदै गरिब र निमुखा जनताको राज्य ल्याउने मार्क्सवादी शिक्षाले प्रशिक्षित र संगठित गर्दै अगाडि बढ्थे। उनीहरूका यस्ता क्रान्तिकारी गतिविधिहरूलाई पञ्चायती शासकहरूले देखि सहेन। तसर्थ अनेक बहाना बनाएर ती संगठित शिक्षकहरूलाई तितरबितर बनायो र उनी पुनः जनता माध्यमिक विद्यालय आँपपिपलमै सरुवा भए।

वि.सं. २०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाको पहिलो जिल्ला अधिवेशनमा सचिव पदमा क. वासु निर्वाचित भए। त्यसपछि उनी गोरखाबाट केन्द्रीय प्रतिनिधि बने। उनी सधैंजसो शैक्षिक विकास र राजनीतिक परिवर्तनका निम्ति क्रियाशील भइरहन्थे। राजनीतिक पूर्वाग्रहकै कारण उनलाई अस्थायी शिक्षकमै राखियो, २०४६ सालको जनआन्दोलनपछि मात्र वाग्ले स्थायी शिक्षक भए।

१७ वर्षसम्म शिक्षण पेशामा सेवा गरेका वाग्लेलाई पञ्चायती शासकहरूले उग्रवादीको आरोपमा वि.सं. २०३६ सालमा पक्राउ गरी प्रहरी खोरमा परेका कारण उनी स्थायी सेवाका लागि वञ्चित गरिए। वि.सं. २०४७ सालको प्रतिनिधि सभाको निर्वाचनमा एकता केन्द्र मसालले निर्वाचन उपयोग गर्ने उद्देश्यले डा. बाबुराम भट्टराईको संयोजकत्वको संयुक्त जनमोर्चा नेपालले उनलाई गोरखा क्षेत्र नं.­२ को उम्मेदवारमा बनायो। संसदीय चुनावी कलाको अभावमा उनी उक्त निर्वाचनमा तत्कालीन नेपाली काँग्रेसकी उम्मेदवार मैयाँदेवी श्रेष्ठसँग झिनो मतले पराजित भए। त्यसपछि उनी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मशालको पूर्णकालीन कार्यकर्ता बने। त्यसै वर्ष उनी जिल्ला पार्टी सचिवमा चुनिए। वि.सं. २०४८ सालबाट २०५२ सालसम्म कमरेड वासु नेकपा (माओवादी) गोरखाको जिल्लाको नेतृत्व तहमा थिए। मार्क्सवादको गहिरो अध्ययन र सरल जीवन व्यवहारले उनको राजनीतिक उचाइ चुलिँदै गयो।

२०५२ सालमा माओवादीले जनयुद्ध घोषणा गरेकै दिन उनी भूमिगत भए। उनी गोरखा, रोल्पा, सिन्धुली, रामेछाप लगायतका जिल्लाबाट सुरु भएको जनयुद्धको झिल्कोलाई विस्तार गर्दै पार्टीको महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने, नेपालको इतिहासमा पुरानो निरङ्कुश सामन्ती राजतन्त्रात्मक राज्यसत्ता ध्वंस गर्दै नयाँ जनवादी राज्य व्यवस्थाको स्थापना गर्ने योजनाकारमध्येका एक थिए। वि.सं. २०५५ मा उनी नेकपा (माओवादी) को वैकल्पिक पोलिट्व्युरो सदस्यमा चयन भए।

वि.सं. २०५६ भदौमा माओवादीको केन्द्रीय समितिको पूर्ण बैठकपछि पार्टीकै कामको सिलसिलामा प्लाटुन कमाण्डर भीमसेन पोखरेल र एक महिला प्लाटुन सदस्य बिनासँग गोरखा जाने क्रममा भाद्र २३ गते छोप्राकका नेपाल प्रहरीको स्पेशल कमाण्डो फोर्ससँग जम्काभेट भयो। त्यसपछि घेरा तोड्न खोज्दा उनीसँगै रहेका प्लाटुन कमाण्डर भिमसेन पोखरेल ‘बैरागी’को गोली लागेर मृत्यु भयो। क. वासु उपल्लो गाँखुमा प्रहरीको कब्जामा परे। उनलाई आत्मसमर्पण गर्नका लागि दबाब दिइयो। आत्मसमर्पण अस्वीकार गरेपछि कमरेड सुरेश वाग्ले ‘वासु’लाई २०५६ भदौ २३ गते प्रहरी नियन्त्रणमै निर्ममतापूर्वक हत्या गरियो।

भिमसेन पोखरेल ‘बैरागी’ जीवनी

वि.सं. २०३१ फागुन ५ गते गोरखा जिल्लाको छोप्राक (हाल सिरानचोक गापा) मा बुबा देवीप्रसाद र आमा तिलादेवी पोखरेलका ४ छोरा र ४ छोरी मध्ये साहिँलो छोराको रूपमा जन्मिएका थिए। २०४८ सालना तत्कालीन विद्यार्थी संगठनको जिल्ला अध्यक्ष भएका बैरागी २०५० मा अर्धभूमिगत र २०५१ मा पूर्णकालीन कार्यकर्ताको रूपमा पार्टीमा आबद्ध थिए।

गोरखा क्याम्पसमा अंग्रेजी विषयमा आई एडसम्मको अध्ययन गरेका बैरागीले ताकु लगायतका थुप्रै फौजी आक्रमणहरूको नेतृत्व गरेका थिए। पार्टीको जिल्ला सचिवालय सदस्य तथा जनमुक्ति सेनाको प्लाटुन (मध्य क्षेत्रको मुख्य सैन्य संरचना) कमाण्डर रहेका उनको फौजी तालिमको तयारीमा गाँखुमा दंगा प्रहरीद्वारा कब्जामा लिई हत्या गरिएको थियो।

(यो जीवनी विभिन्न स्रोतहरूबाट लिइएको हो)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्