मलाई सिध्याउन खोज्नेहरू जनयुद्धदेखि नै सक्रिय छन् : प्रचण्ड

Prachand
लोकपाटी न्यूज
18 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय शहीद घोषणा गर्ने संघर्ष अझै जारी रहेको बताएका छन्। उनले जनयुद्धदेखि विभिन्न कालखण्डमा मारिएका व्यक्तित्वलाई राष्ट्रिय शहीद घोषणा गर्ने आन्दोलन आजसम्म चलिरहेको बताएका हुन्।

शहीद सुरेश वाग्ले र भीमसेन पोखरेल स्मृति दिवस तथा स्मृतिग्रन्थ सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले विभिन्न राजनीतिक उतारचढावका कारण विभिन्न परिवेशमा शहादत प्राप्त गरेका शहीद तथा बेपत्ता भएका व्यक्तिलाई राष्ट्रिय शहीद घोषणा गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।

‘एउटा कालखण्डमा गरिएको विद्रोह, अर्को ऐतिहासिक कालखण्डमा सम्झौता गर्नुपर्ने स्थिति आयो र सम्झौता गरियो,’ उनले भने, ‘नयाँ प्रक्रियाबाट जाँदा नेपाली जनताको साथ सहयोगका कारण माओवादीकै नेतृत्वमा सरकार बन्यो र पहिलो क्याबिनेटमा मेरो नेतृत्वमा सरकार बन्यो र बैठकको पहिलो निर्णयमा मैले सम्पूर्ण शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेँ। तर त्यो माइन्युट अहिले छैन। राजपत्रमा तुरुन्त निकाल्नु पर्थ्यो तर निकालिएन। त्यसबेलादेखि वामपन्थी गठबन्धन र कम्युनिष्ट एकताका बेलामा पनि जनयुद्धका तमाम शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने आन्दोलन थियो, अहिले पनि जारी छ।’

प्रचण्डले प्रतिक्रियावादीसँगको संघर्षकै कारण माओवादी र आफूमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताए। माओवादीलाई अस्थिरताको कारक देखाएर प्रचण्डलाई सिध्याउनुपर्छ भन्नेहरू सक्रिय रहेको उनको दाबी छ। ‘माओवादी केन्द्रमाथि प्रहार हिजो जनयुद्धमा पनि थियो, अहिले पनि माओवादी अस्थिरताका कारक हो। प्रचण्ड रहँदासम्म यो देश अफ्ठेरोमा परिरहन्छ। प्रचण्डलाई सिद्ध्याउनै पर्छ भनिएकै छ,’ प्रचण्डले भने, ‘मैले संघर्ष छोडेको भए त्यसो भनिरहन आवश्यकता हुँदैन थियो प्रतिक्रियावादी र अवसरवादीहरूलाई। म संघर्षमा छु, त्यसैले प्रहार भइनै रहनेछ। म अन्तिम समयसम्म संघर्षमै रहनेछु।’

माओवादी केन्द्रका सचिव हितराज पाण्डेले शहीद वाग्ले कुशल र संगठक शिक्षक मात्र नभएर राजनीतिक शिक्षक समेत भएको बताए। शिक्षक रहँदारहँदै पनि उनी आफ्नो पेशा छाडेर राजनीतिमा होमिएको स्मरण गरे। प्रकाशित स्मृतिग्रन्थ सम्पादक समिति संयोजक लेखनाथ न्यौपानेले शहीद सुरेश वाग्लेलाई स्मरण गर्दै उनका लेख सैद्धान्तिक र वैचारिक रहेको धारणा व्यक्त गरेका थिए। ‘उहाँका लेख र विचार त्यसबेला महत्त्वपूर्ण थिए, आज पनि शहीद वाग्लेका लेख उत्तिकै महत्त्वपूर्ण रहेका छन्,’ संयोजक न्यौपानेले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्