मलाई माया लाग्छ

Dr. Nimananda Rijal
लोकपाटी न्यूज
7 Shares
  • डा. निमानन्द रिजाल

 जुकालाई रगत चुसाउँदै
साना साना फोगटामा
तनमनले आली लगाउने
मीठो सपनाको आशा बुन्दै
रित्तो पेट रात काट्ने
किसानहरूलाई माया लाग्छ।

पसिनालाई हातले सर्लक्क पुछ्दै
आफूभन्दा अग्लो भारी बोकी
उकालो नाप्ने
मनभरि तन्द्रा बुन्दै
सुन्तलीलाई फाटेको चोलो
फेरि दिने आशामा
टुप्पामा पुग्ने
भरियाहरूलाई माया लाग्छ।

धामी र झाँक्रीको फुकाइमा
खरानी पानीको झोलमा
विश्वासको आस्था राखेका
चिसा भैसकेका छन्
हजारौं हजार बालकहरू
मीठो भविष्यको सुन्दर स्वपना
साँचेका बा र आमाको माया लाग्छ।

४५ सेल्सियस डिग्रीको तापमानमा
आमाको तस्बिर हेर्दै
अरूकै लागि वस्तुहरू कुद्ने
कालिगढ बन्धुहरूमा र
खाडीमा जीवन र मृत्युसँग
जुद्धै गर्ने युवाहरूको
माया लाग्छ।

दिनभरि आरनमा बसेर
फाली र करुवा बनाउने हातहरू
चरचर्ति फुटेका हत्केलाहरू
ठेला परेका औँलाहरू
आफ्नो भाग्य आफै कोर्न
उठेका घनहरू, हथौंडाहरुमा
माया लाग्छ।

रुखो खडेरीमा
झन् दह्रो जरा गाड्दो रहेछ
जति दियो माया त्यति फैलने
कस्तो चमत्कारी भएछ
यो त वर्गीय माया रहेछ।
यसैले त यो अत्यन्तै प्रिय बनेछ।

लमजुङ २०६६