सन् २०२६ सम्म नेपाललाई विकासोन्मुख राष्ट्र बनाउँछौँ : प्रधानमन्त्री देउवा

Sher Bahadur Deuwa
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताएका छन्। बुधबार काठमाडौंमा लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय नीति तथा योजना रहेको बताउँदै उनले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्ने बताए।

“सरकारले १५ औँ पञ्चवर्षीय योजनालाई प्राथमिकता दिएर पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। सरकारले राष्ट्रिय नीति बनाएर २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने योजना बनाएको छ,” देउवाले भने, “कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक रहेको छ।”

उनले नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्न सकिने अवस्था रहेको बताए। उनले लगानी बोर्डले ३३ वटा आयोजनाको लागि ९ अर्ब डलर बराबरका योजना स्वीकृत गरेको भन्दै जसमध्ये २० वटा ठूला जलविद्युत परियोजना रहेको बताए।