बाँकेका ५ हजार विद्यार्थीलाई पक्की छानामा ल्याउन सफल भयौंं : मन्त्री अथक

mantri athak
लोकपाटी न्यूज
6 Shares

नेपालगन्ज। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेका ५ हजार विद्यार्थीलाई पक्की छानामुनी ल्याउन सफल भएको बताएका छन्। बाँकेका विद्यालयमा आफूले टिनको छाना बिस्थापित गर्ने अभियान सञ्चालन गरेको बताउँदै मन्त्री अथकले आफ्नो कार्यकालमा झण्डै ५ हजार विद्यार्थीलाई पक्की छानामा ल्याईएको बताएका हुन्।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका १९ स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयको ४ कोठे पक्की भवनको उद्घाटन गर्दै मन्त्री अथकले विद्यालयहरुमा टिनको छाना विस्थापित गरी पक्की कक्षाकोठा निर्माण गर्ने अभियानले सार्थकता पाउँदै गएको बताए। आफू साँसदका रुपमा निर्वाचित भएलगत्तै सुरु गरिएको अभियानबाट जिल्लाका ३२ बढि विद्यालयमा एक सयको हाराहारीमा पक्की कक्षाकोठा निर्माण गर्न सफल भएको भन्दै उनले खुसी व्यक्त गरे।

भवन उद्घाटन गर्दै मन्त्री अथकले आफू बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने भएकाले समग्र बाँके जिल्लाको विकास र समृद्धिका लागि निरन्तर लागिपरेको बताए। नेपालगंज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा बिकास गर्न गरिएको प्रयासका कारण केही काम अघि बढेको बताउँदै मन्त्री अथकले छिट्टै त्यसले पूर्णता पाउने विश्वास समेत व्यक्त गरे।

नौवस्ता औद्योगिक क्षेत्र, बैजनाथको मानसरोवर स्मारक पार्क, आधुनिक कवर्ड हलसँगै कोहलपुरमा राष्ट्रियस्तरको महिला क्रिकेट एकेडेमी निर्माणको प्रक्रिया अघि बढिसकेको बताउँदै मन्त्री अथकले सिक्टा सिँचाई आयोजना, राप्तीपारी विद्युतिकरण र हुलाकी सडक निर्माणकालागि गर्नुपरेको संघर्षले आफूलाई थप जिम्मेवार र लगनशिल बनाएको बताए। उनले अन्तर प्रदेश जोड्ने सडक सञ्जाल अन्तर जिल्ला जोड्ने सडक संजाल, स्वास्थ्य र शिक्षाको विकास, भेरी बबई डाईभर्सनसंगै अन्य थुप्रै बिकास र समृद्धिको प्रकिया अघि बढिसकेको भन्दै खुसी व्यक्त गरे।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्सुर खाँले २०४० सालमा स्थापना भएको विद्यालयको विकासका लागि धेरै नेताहरुले आश्वासन दिएपनि काम नगरेको दुखेसो पोखे। उनले मन्त्री अथकको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४ कोठे पक्की भवन निर्माण गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा विद्यालयको भौतिक पूर्वाधार विकासका साथै खेल मैदानलाई व्यवस्थित बनाईदिन पनि मन्त्री अथकसँग आग्रह गरे।