काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अब भिजन र मिसनमा लिएर जाने बताएका छन्। काठमाडौंमा बिहीबार नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनमा उनले देशलाई अब भिजन र मिसनमा लिएर जाने बताएका हुन्।
उनले आफूहरूको भिजन र मिसनले नै देशमा लोकतन्त्र आएको पनि बताए। देशलाई आत्मनिर्भरताको बाटोमा लान उद्योग व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। प्रचण्डले भने, ‘हामी पहिला खाद्यान्नमा निर्भर थियौ आत्मनिर्भर मात्र नभएर निर्यात पनि गथ्यौं तर अहिले हामी निर्यात भन्दा आयात धेरै गर्न थालेका छौं। गुन्द्रुकबाट चिनिएको नेपाल तर अहिले त्यही गुन्द्रुक पनि विदेश बाट ल्याउँदा उद्योग व्यवसाय फस्टाउन सकेको छैन।’
‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’ भन्ने साइनबोर्ड राखेर भित्र भ्रष्टाचारबाहेक केही पनि नगर्ने व्यक्तिहरू मुलुक सञ्चालनमा रहेको उनले बताए। प्रचण्डले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्नका लागि निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्ने बताए। उनले मुलुकमा संरचनागत सुधार गरेर आर्थिक सुधारमा जानुपर्ने बताए।
संरचनामा देखिएका विकृति र विसंगतीलाई सुधार गर्नका लागि आफू लाग्ने उनको भनाइ थियो। ‘कैयौं प्रधानमन्त्रीहरूले भन्ने गरेको तपाईं-हामीले सुनेका छौं ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’ भन्ने साइनबोर्ड टाँग्ने, त्यो साइनबोर्डभित्र भ्रष्टाचारबाहेक गर्दै नगर्ने,’ प्रचण्डले भने, ‘के कारणले यो भइराखेको छ ? यो व्यक्तिको मात्रै दोष हो कि, यो प्रणालीमा कहीँ खोट छ ? आज हामी सबैले विचार गर्नुपर्ने विषय हो।’
उनले माओवादी नेतृत्व रहँदासम्म बुर्जुवा भ्रष्टाचारीलाई चयनले बस्न नदिने चेतावनी नपि दिए। प्रचण्डले भने, ‘प्रचण्ड अस्थिरताको कारण हो, यो रहँदासम्म देशले सुख पाएन भन्ने मान्छे पनि छन्। हो, माओवादी र माओवादी नेतृत्व रहँदासम्म बुर्जुवा दलाल, नोकरशाह र भ्रष्टहरूलाई चयनसँग बस्न दिइँदैन।’