राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ विद्यालय छनोट

Teacher
लोकपाटी न्यूज
7 Shares

बाँके। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन्। युवा तथा खेलकुदमन्त्री एवं बाँके क्षेत्र नं. १ का सांसद महेश्वर गहतराज ‘अथक’को पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँकेका १५ वटा विद्यालयमा पक्की भवन निर्माण तथा ८ विद्यालयमा सूचना तथा प्राविधिक प्रयोगशाला स्थापनाका लागि छनोट गरेको हो।

छनौट भएका विद्यालयमध्ये १० वटा विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुनेछ भने ५ वटा विद्यालयमा २ कोठे पक्की भवन निर्माण गरिने छ। चार कोठे भवन निर्माणका लागि कोहलपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालय चन्नहवा, जनज्योति आधारभूत विद्यालय झण्डहवा र राम माध्यमिक विद्यालय हवल्दारपुर छनौट भएका छन् भने बैजनाथको सूर्योदय माध्यमिक विद्यालयमा समेत चार कोठे पक्की भवन निर्माण हुने भएको छ। त्यसैगरी राप्तीसोनारीको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गुलरी, जनशक्ति माध्यमिक विद्यालय बालापुर, भुवर भवानी माध्यमिक विद्यालय बिनौना तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोदरवटवा छनौट भएका छन्।

त्यसैगरी दुई कोठे पक्की भवनका लागि कोहलपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालय लखनवार, बैजनाथको बागेश्वरी माध्यमिक विद्यालय, राप्तीसोनारीको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अगैया, बालशान्ती आधारभूत विद्यालय भेलुनिया र नरैनापुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालय शंकरनगरकोटीया छनौटमा परेका छन्। छनौट परेका विद्यालयहरूले चार कोठा पक्की भवनका लागि प्रति विद्यालय ४५ लाख र दुई कोठे भवन निर्माणका लागि २२ लाख ५० हजार दरले बजेट प्राप्त गर्ने छन्।

कार्यक्रम अन्तर्गत कृष्ण माध्यमिक विद्यालय कोहलपुर, जन ज्ञानज्योती माध्यमिक विद्यालय कोहलपुर, जनजागरण आधारभूत विद्यालय बैजनाथ, जनसहयोगी आधारभूत विद्यालय बैजनाथ, गणेश आधारभूत विद्यालय ढकेरी, शिवशक्ती माध्यमिक विद्यालय पेरानी, जनशक्ति माध्यमिक विद्यालय बैजापुर र नेपाल राष्ट्रिय आधारभूत विद्यालय नरैनापुर सूचना तथा प्राविधिक प्रयोगशाला स्थापनाका लागी छनौट भएका छन्। छनौट भएका विद्यालयहरूमा ICT (सूचना तथा प्राविधिक प्रयोगशाला) निर्माणका लागि प्रति विद्यालय ६ लाख ५० हजारका दरले बजेट विनियोजन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

मन्त्री अथककै पहलमा यसअघि बाँकेमा १०० भन्दा बढी पक्की कक्षा कोठा निर्माण भइसकेका छन्। विद्यालयबाट टिनको छाना विस्थापित गर्ने अभियान अन्तर्गत मन्त्री अथकको पहलमा चालु आर्थिक वर्षमा थप १५ वटा विद्यालयमा ५० वटा पक्की कक्षा कोठा निर्माणका लागि बजेट विनियोजन भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्