आजदेखि सहुलियत पसल सुरू : खाद्य सामग्रीमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट

pasal-sahulet-
फाइल तस्वीर
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। आज शनिबारदेखि दसैं, तिहार, छठ जस्ता मुख्य चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा आएका छन्। शनिबारदेखि खुलेका सहुलियत पसल आगामी कार्तिक १५ गतेसम्म चल्नेछन्। देशका विभिन्न ठाउँमा सहुलियत पसल डेढ महिना सञ्चालन हुनेछन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार यी सुपथ पसलमा चिनी र घिउबाहेक खाद्यान्न तथा दूधजन्य वस्तुको बिक्रीवितरण हुनेछ। कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी) बाट एकीकृत रुपमा सुपथ पसल सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ। काठमाडौं उपत्यकामा कम्पनीका शाखा रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खुमा सहुलियत उपलब्ध हुनेछ।

काठमाडौं उपत्यकाबाहिर खाद्यसामग्री वितरण केन्द्रमा छुट उपलब्ध हुनेछ। त्यस्तै साल्ट ट्रेडिङ र डीडीसीले आ–आफ्ना शाखा तथा क्षेत्रमा पनि उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउनेछन्। काठमाडौं उपत्यका, पोखरा र सुर्खेतमा अनलाइन सेवा पनि उपलब्ध हुनेछ। अनलाइन सेवा भएका ठाउँमा उपभोक्ताको माग अनुसार घरमै सहुलियतमा सामग्री र्पुयाइनेछ।

सहुलियत पसलमा बिक्री हुने खाद्य सामग्रीमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट हुनेछ। चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडीलगायतमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ। साल्ट ट्रेडिङले नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिनेछ। साल्टले काठमाडौं उपत्यकाभित्र सतुङ्गल, कालीमाटी, जावलाखेल, जडीबुटी र भक्तपुरबाट छुट दिइनेछ।

त्यस्तै दुग्ध विकास संस्थान (डीडीसी) ले दसैं तिहार, छठमा घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिजमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिने डीडीसीले जनाएको छ। कम्पनीले दसैंका लागि झण्डै तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी पनि गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्