माओवादीप्रतिको सत्तोसराप डरको उपज

लोकपाटी न्यूज
12 Shares
  • पदम भण्डारी

 नेपालका राजनीतिक दलहरू आफ्नो महत्त्वपूर्ण समय र ऊर्जा नेकपा (माओवादी केन्द्र) र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गाली गर्ने, अपमानित गर्ने, होच्याउने, गिज्याउने, आरोप लगाउने जस्ता काममा खर्च भइरहेको छ। सबैको आरोपको केन्द्रमा नेकपा (माओवादी केन्द्र) र प्रचण्ड छन्। सबैजसो राजनीतिक दलका नेताहरूले भिन्दाभिन्दै कार्यक्रममा गएर भिन्दाभिन्दै शब्द शैली प्रयोग गर्दै उही आरोपको पुनरावृत्ति गरिरहेका हुन्छन्। यो काममा सबैभन्दा अग्रपंक्तिमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली छन्। ओली दैनिक जसो भाषण गर्छन्, अनि भाषणैपिच्छे प्रचण्डलाई गाली गर्छन्। ओलीको मात्र होइन, उनको गुटका नेता र कार्यकर्ताहरूको मुख्य काम भनेकै नेकपा (माओवादी केन्द्र) र प्रचण्डको सत्तोसराप गर्नु हो।

नेकपा (माओवादी केन्द्र) विरुद्ध सामाजिक सञ्जालमा कोकोहोलो सुनिन्छ र देखिन्छ (माओवादी विद्रोह भारतद्वारा परिचालित थियो, संकर्ण उद्देश्य र पारिवारिक स्वार्थका लागि मात्रै लडेको, दक्षिणपन्थी तत्त्वहरूसँग साठगाँठ गरेर सरकार बनाएको, एमसीसी गिजोलेको, प्रतिनिधिसभालाई दुई दुई पटक विघटन गर्न बाध्य पारेको, कुलमानभन्दा अरू कसैलाई नदेखेको, कम्युनिष्ट नेता धार्मिक यात्रामा तल्लीन रहेको, नेपालको नयाँ नक्सा जारी गर्ने श्रेय लिन खोजेको)।

अहिले सामाजिक सञ्जाल हेर्ने हो भने नेपालका राजनीतिक दलका नेताहरू र तिनीहरूका दास मनोवृत्ति भएका कार्यकर्ताहरूले कुनै विवेक प्रयोग नगरी नेकपा (माओवादी केन्द्र)विरुद्ध गर्ने गरेका तुच्छ टिप्पणीहरू यिनै हुन। राजनीतिक दलका बैठक अनि चोक, चिया पसल, क्याफे, कार्यालयतिर भइरहेका संवाद यिनै हुन्। उदाहरणका लागि कुनै एउटा प्रसंगलाई हेरौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले कुनै एउटा प्रसंगमा गठबन्धनलाई भोट नहाले देश दुर्घटनामा जान्छ भनेको कुरालाई लिएर नेकपा (माओवादी केन्द्र)को सत्तोसराप गरे। तर प्रचण्डको बोली सर्लक्कै टिपेर एमालेलाई भोट नहाले देश दुर्घटनामा जान्छ भनेर केपी ओलीले भनेको कुरालाई सबैले ताली पिटेर स्वागत गरे। दुवै नेताले आफ्नो पक्षमा भोट मागेका हुन्। तर उस्तै विषयमा नेकपा (माओवादी केन्द्र)लाई गाली र नेकपा एमालेलाई ताली किन ? प्रचण्डले बोल्दा न्वारानको बल निकालेर गाली गर्नेहरू ओलीले सोही कुरा बोल्दा पररर ताली बजाइरहेका हुन्छन्। यसका अनेक कारण छन्। यसको मुख्य कारण भनेको दास मानसिकता हो। नेकपा (माओवादी केन्द्र)को सत्तोसराप गर्नु नै अरू राजनीतिक दलहरूले उपलब्धि ठान्ने गरेका कारणले पनि यसो भएको हो।

नेपाली राजनीतिक वृत्तमा नेकपा (माओवादी केन्द्र)विरुद्ध यस्ता खाले टिप्पणीहरू हुने विषय र प्रयोग हुने शब्दहरू, हाँसो अनि ठट्टाका रुपमा उडाउने प्रवृत्ति दोहोरिइरहेको छ। देशको राजनीतिक परिवर्तनमा ऐतिहासिक भूमिका निर्वाह गरेको एउटा राजनीतिक दल माथि गरेका टिप्पणीहरू देख्दा र भएका सस्ता बहस पढ्दा अनि सुन्दा झट्ट मनमा लाग्यो- ‘नेकपा (माओवादी केन्द्र)देखि कति साह्रै डराएका हुनर अरू दलका नेता तथा कार्यकर्ताहरू ?’

नेकपा (माओवादी केन्द्र)ले धमिलिएको राजनीति सङ्ल्याउन खोज्यो, छितरिएर रहेका कम्युनिष्टहरुलाई एकीकृत गर्न खोज्यो, विपरीत ध्रुवमा उभिएका राजनीतिक दलहरूलाई मिलाएर गठबन्धन बनाएर देशमा राजनीतिक स्थिरता ल्याई देश विकासको खाका कोर्न खोज्यो। तर नेकपा माओवादी केन्द्रले देश विकासको विभिन्न राजनीतिक प्रयोगले गर्दा आफ्नो हालीमुहाली सकिन्छ कि भन्ने डरले नेकपा (माओवादी केन्द्र)को सत्तोसराप गरिरहेका हुन्छन्।

हाम्रो देशका राजनीतिक दलहरूको पुस्ता नेकपा (माओवादी केन्द्र)को डरै डरमा बाँचिरहेको छ। देशमा आफ्नो वर्चश्व जमाइरहेका राजनीतिक दलहरू आफूहरूले हालीमुहाली गर्न पाइन्न कि भनेर डराइरहेका छन्। अरू दलहरूका नेता र दास मनोवृत्ति भएका कार्यकर्ताहरू देख्दा रमाइलै लाग्ने रहेछ। यो भयो एक पक्ष। तर अर्को पक्षबाट हेर्ने हो भने देश विकासका लागि एक आपसमा मिलेर, विभाजित पार्टीहरूलाई मिलाएर, एकता गरेर, गठबन्धन गरेर सबै राजनीतिक दलहरू मिलेर अगाडी बढ्नुपर्छ भन्ने नेकपा (माओवादी केन्द्र)को भावनालाई बुझ्न नसक्नु वा बुझेर पनि बुझ पचाउनु हाम्रो समाजमा गम्भिर राजनीतिक विचलन देखिइरहेको छ भन्ने संकेत हो। हाम्रा लागि त सबै राजनीतिक दलहरू मिलेर ठूला ठूला परिवर्तनहरू हुन सक्दो रहेछ भने देशको विकासका लागि पनि सबै मिल्न सक्नुपर्छ र सबै राजनीतिक दलका नेता कार्यकर्ताहरू डराउनु नपर्ने अनि निर्धक्क हुने समाज चाहिएको हो नि।

तर नेकपा (माओवादी केन्द्र)लाई देख्ने बित्तिकै अरू राजनीतिक दल र कार्यकर्ताहरूको आत्मविश्वास यति साह्रो किन कमजोर हुँदै छ ? आफू सत्ता र शक्तिमा हुन पाउँदिन कि भन्ने आत्मविश्वास किन हराएको होला ? म व्यक्तिगत टिका टिप्पणी र गाली गलौचजस्तो नीच काम गर्दिनँ र अरूले गरेको पनि स्वीकार गर्दिनँ भनेर अठोट गर्न केले रोकिरहेको छ, अरू राजनीतिक दलका नेता र तिनका कार्यकर्ताहरूलाई ?

विगतमा अर्को राजनीतिक दलप्रति आस्था राख्ने बित्तिकै पानी बाराबार गर्ने, बिहे, व्रतबन्ध, भोज भतेर, जन्ती मलामी नजाने गरी विभाजित समाज हो हाम्रो। अन्य मुलुकहरूमा पनि राजनीतिक दलहरू छन्। तर हाम्रोजस्तो अरू राजनीतिक दलका नेतासँग बोल्दैमा लौ अब फसिने भइयो, हामीलाई सिध्याउने भए भनेर डराएको देखिएको, सुनिएको या पढिएको त छैन। मुलुकको परिवर्तनमा जीवन समर्पित गर्ने एउटा नेतालाई सुन्नेहरू र देख्नेहरूलाई समेत नै अप्ठ्यारो लाग्ने गरी नेकपा माओवादी केन्द्रको सत्तोसराप गर्ने यस किसिमको आपराधिक मानसिकता भएका मनोरोगीहरू सार्वजनिक भइरहेका छन् र तिनीहरू समाजमा अघि बढिरहेका छन्।

नेपाली समाजमा बारम्बार नेकपा (माओवादी केन्द्र)को सत्तोसराप गर्न अरू राजनीतिक दलहरूको सिंगो तप्का नै किन सक्रिय भइराखेको छ। नेपाली समाजको एउटा तप्का नै किन सक्रिय भइराखेका छन् ? उनीहरूको सहानुभूति नेकपा माओवादी केन्द्रप्रति हैन आरोपीप्रति किन बढी देखिन्छ ? यो गम्भिर राजनीतिक र सामाजिक विचलनको संकेत हैन र ?

सबै राजनीतिक दलहरूले खराब दृष्टिकोण राख्छन् र सबै कार्यकर्ताहरू तिनका अन्धभक्त हुन्छन् भन्न खोजिएको हैन। तर जसरी सामाजिक सञ्जालमा नेकपा (माओवादी केन्द्र)विरुद्ध विष बमन भइरहेको छ यसले एक गम्भिर अपराधबारे सस्तो ठट्टा भइरहेको छ, यसले केही राजनीतिक दलका नेता र कार्यकर्ताहरूमा यो गम्भिर विषय केही हैन, नेकपा (माओवादी केन्द्र)लाई कमजोर पार्ने त हो भनेर रचिएको नाटक हो भन्ने भ्रम रहेको देखियो।

म छक्कै परिरहेको छु। म मात्र हैन, गरी खाने र हुँदा खाने वर्गका मानिसहरू, कुनै पनि राजनीतिक दलको दास मानसिकता भएको कार्यकर्ताहरू बाहेक अरूहरू छक्क परिरहेका छन्। तिनीहरू सबैलाई प्रचार गरिएजस्तो नेकपा (माओवादी केन्द्र) खराब पार्टी होइन है भनेर बुझ्न किन कठिन भइरहेको छ ? एउटा अनुशासनमा रहेर आफैँलाई किन विश्वास गर्न सकिरहेका छैनन् ? कुनै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले नेकपा (माओवादी केन्द्र)को सत्तोसराप गर्नुभन्दा राजनीतिक विचार र देश विकासको एजेण्डा लिएर सबै राजनीतिक दलहरूलाई देशको विकासमा एउटै सूत्रमा समेटेर लैजान सक्छु भन्ने आत्मविश्वास किन नभएको होला ?

ऋषि कट्टेल जो एउटा कम्युनिष्ट पार्टीको नेता हुँ भन्नेले सबै कम्युनिष्टहरुलाई एकीकृत गर्ने अभियानमा लागेको नेकपा (माओवादी केन्द्र)लाई अप्ठेरोमा पार्न सर्वोच्च अदालतमा मुद्दा हाले र एकीकृत भएको पार्टीलाई अदालतको आदेशमा टुक्राउन मद्दत गरे। साम्राज्यवाद र विस्तारवादको शब्दमा विरोध गर्ने नेताले फुटाऊ र राज गर भन्ने साम्राज्यवादी रणनीति व्यवहारमा सफल पारे। अदालतको निर्णयबाट फुटेका केही एमालेको केपी ओली गुटका नेताहरूले प्रचण्ड मुक्त पार्टी भइयो भन्ने खुसीयालीमा दीपावली समेत गरे। जनताहरूलाई सयौं राजनीतिक दलहरूमा विभाजित गराएर राज्य श्रोत र साधनको दोहन गरिरहन खोज्नेहरू खुसी भए। यसको त्यही अर्थ लाग्दैन र ?

अधिकांश राजनीतिक दलहरूका नेताहरू र तिनीहरूका कार्यकर्ताहरूको राजनीतिक दृष्टिकोणहरू र तिनीहरूले दिने अभिव्यक्तिहरू कच्चा देखिन्छन्। राजनीतिक दलहरूमा कुन सम्बन्ध कुन तहको हुनुपर्छ भन्ने खुट्ट्याउन सक्दैनन्। नेकपा माओवादी केन्द्र एक्लै आए पनि, गठबन्धन गरेर आए पनि, एकता गरेर आए पनि हामीले राम्रो काम गर्यौं भने भने जनताको साथ र सहयोग रहन्छ भन्ने किन नसुनिएको होला ? अरू राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूमा यो आत्मविश्वास किन नपलाएको होला ? किन नेकपा माओवादी केन्द्रलाई मात्र आरोप लगाएको सुनिन्छ ?

लोकलाजको समेत डर नमानी आफ्नो स्वार्थसिद्ध गर्न बिना प्रमाण घृणित सोचले भरिएको स्टाटसहरु लेख्ने, कार्टुनहरू बनाउने, कुतर्क गर्नेहरूको कु-भावना र कुतर्क गर्नेहरूको बिगबिगी समाजमा बढिरहेको छ। यो कस्तो सोच हो ? यो कस्तो समाज हो ? यी कस्तो राजनीतिक दलका नेता र कार्यकर्ताहरू हुन ?

छलफल एवं बहस एउटा राजनीतिक दलका लागि जति महत्त्वपूर्ण हो, अर्को राजनीतिक दलका लागि पनि उत्तिकै महत्त्वपूर्ण हो। तर जहाँ एकतर्फी रुपमा छलछाम र झुटो प्रचार हुन्छ नि त्यो अपराध हो। नेकपा (माओवादी केन्द्र)को नियतमाथि नै प्रश्न उठाएर शत्रुतापूर्ण व्यवहार गर्ने र गराउने परिस्थिति किन निर्माण गरिँदै छ ? सधैँ गरिब मुलुक भनेर हेपिँदै आएको मुलुकको राजनीतिक परिवर्तन गर्ने एउटा राजनेताको साहस, हिम्मत र हौसला बढाउन सहयोग गर्नुको साटो किन दुरुत्साहन गर्न खोजिँदै छ ? नेकपा माओवादी केन्द्रको सत्तोसराप गर्न तयार रहने सोचमा हुर्किएको पुस्ताले यो समाजमा कस्तो प्रभाव पार्छ ? यो विषयमा अहिलेको पुस्ताले केही सोचेन। गोयवल्स शैलीमा नेकपा माओवादी केन्द्रको सत्तोसराप गरिरहनु भनेको हिंसा हो, दुर्व्यवहार हो। यो विषयमा हाम्रो समाजमा किन बहस हुँदैन ?

जगजाहेरै छ शक्तिशाली, प्रसिद्ध, क्षमतावान्, ठूलो पद र धनी हुनु भनेको गैरकानूनी कामको लागि लाइसेन्स मिल्नु हो भन्ने सोचका साथ राजनीतिमा प्रवेश गरेकाहरूको नीद हराम गरेको छ नेकपा (माओवादी केन्द्र)ले। त्यसैले सामाजिक सञ्जालभरि, चोक गल्ली, चिया पसल क्याफे, कार्यालय जताततै नेकपा माओवादी केन्द्रलाई गाली र सत्तोसराप गरेको सुनिन्छ, देखिन्छ। सोच बदलौं। नत्र हिजो देशको अवस्था जे थियो अबको पचास वर्ष त्यही स्थिति रहिरहनेछ। हो बुझ्नुपर्ने नै यही विषय हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्