हुम्लाको दुर्गम मासपुरमा तोकियो मतदान केन्द्र

Election_Vote
लोकपाटी न्यूज
5 Shares

सिमकोट। मतदान गर्नका लागि तीन दिन पैदल हिँड्नुपर्ने हुम्लाको ताँजकोट गाउँपालिका-३ मासपुरमा मतदान केन्द्र तोकिएको छ। गाउँमै मतदान केन्द्र तोकिएपछि अब मतदान गर्न तीन दिन हिँड्नुपर्ने बाध्यता हटेको छ।

मासपुरको बानादेव प्राथमिक विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ। गाउँमै मतदान केन्द्र राखिए मतदान गर्न सहज भएको स्थानीय ८२ वर्षीय दलवीर रोकायाले बताए। विसं २०७४ को निर्वाचनमा तीन दिन हिँडेर मतदान गर्न छप्रेला पुगेको रोकायाले अनुभव सुनाए।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा गाउँमै मतदान गर्न पाउने भएपछि स्थानीय खुसी भएका छन्। यसअघि पैदल हिँड्नुपर्ने भएपछि धेरैजसो मतदाता मतदानमा अनुपस्थित रहने गरेका थिए। केही मतदाता गाउँमा गाईवस्तु र घरको हेरचाह गर्न बस्थे। आउँदा-जाँदा राशनपानी बोकेर जानुपर्ने बाध्यता थियो।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाका अनुसार जिल्लामा साबिक मतदान स्थल ४६ कायम छन्। ठाउँसारी कायम चार र सात नयाँ थपसमेत गरी ५७ मतदान स्थल रहेको उनले बताए। हुम्लाको मासपुरमा २३ पुरुष र २७ महिला मतदाता छन्। तेइस घरधुरी रहेको मासपुरको कुल जनसङ्ख्या एक सय तीन रहेको छ। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्