डा. केसीलाई काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिदैं

लोकपाटी न्यूज
0 Shares

काठमाडौं । डा गोविन्द केसी अनशनकै क्रममा स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

विभिन्न ७ बुँदे माग राखेर धनगढीमा अनशन शुरु गरेको १० औं दिनमा डा. केसी आफ्नै खर्चमा आज दिउँसो काठमाडौं आइपुगेका हुन्। उनलाई लिन धनगढी पुगेको नेपाली सेनाको हेलिकप्टर भने रित्तै फर्किएको थियो।

अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको शिक्षण अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले जानकारी दिए। अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भएलगत्तै केसीको उपचार शुरु गरिएको छ।

उनको उपचारका लागि अस्पतालले डाक्टर प्रमेशसुन्दर श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय उपचार व्यवस्थापन समिति गठन गरेको समितिका सदस्यसमेत रहेका प्रवक्ता अधिकारीले बताए। अहिले डा केसी अलिअलि बोल्न सक्ने अवस्थामा नै रहेको उनले बताए।

समग्र स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको लागि सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेपछि डा. केसी यसपटक २०औं पटक सत्याग्रहमा बसेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्