सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्‍यो : ओली

लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा एमाले नागरिकता विधेयक प्रमाणीकरण अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बचाउमा उत्रिएको छ। संसदले प्रमाणीकरणका लागि पठाएको विधेयकलाई प्रमाणीकरण गर्न अस्वीकार गरेपछि राष्ट्रपति भण्डारीको यस कदमको राजनीतिक र संवैधानिक वृत्तमा तीव्र आलोचना भएको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा आएको प्रतिक्रियाको आलोचना गरेका छन्। उनले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको आलोचना गरेर अपमान गरेको आरोप लगाएका छन्। पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नु नै महानता ठानेको बताए।

नागरिकता विधेयकमा पुनर्विचार नगरी गठबन्धनले ‘मसल’ देखाएको आरोप लगाउँदै उनले राष्ट्रपतिको मजाक उडाउने काम भएको उल्लेख गरे। सत्तारुढ गठबन्धनले जनतालाई अल्मल्याइरहेको र मस्तिष्कबाट नभई ‘मसल’ बाट चलेको पनि उनको आरोप थियो। ‘राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो। नगर्ने (आफ्नै पाखुरा सुर्क्याउँदै) उहाँहरूको त्यस्तो विचार छ। बाहिर बसेर, अनाडी मान्छे भेला भएर, अनधिकृत ठाउँमा, संविधानले नचिनेका मान्छे बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो,’ ओलीले भने, ‘असभ्यता, कुसंस्कार, अलोकतान्त्रिक संस्कारको निर्लज्ज प्रयोग यो गठबन्धनले गरिरहेको छ। यसले आफ्नो महानता राष्ट्रपतिको अपमान गर्नु ठानेको छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको बचाउ गरेका छन्। उनले सरकारले राणालाई नजरबन्दमा राखेको र उनकी छोरीलाई दिनभर थुनेको आरोप लगाए। सभामुखले ६ महिनासम्म महाभियोग रोकेर राखेको बताएका उनले संसदको कार्यकाल सकिएसँगै महाभियोग पनि सकिएको दाबी गरे। ओलीले सरकारको काम स्वेच्छाचारिताको पराकाष्ठा भएको आरोप लगाए। उनले भने, ‘घरमा थुनेर राख्नु, नजरबन्दमा राख्नु राज्य आतंकको पराकाष्ठा हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्