राष्ट्र निर्माणको अभियान रोक्न गठबन्धन लागिपर्‍यो : महासचिव पोखरेल

लोकपाटी न्यूज
9 Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने प्रयासमा लागेको आरोप लगाएका छन्। एमाले केन्द्रीय कार्यालयमा बिहीबार भएको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले सो आरोप लगाएका हुन्। राष्ट्र निर्माण अभियानमा कोही बाधक बन्न नहुने उनको सुझाव छ।

पाँच दलीय गठबन्धनले एमालेको राष्ट्र निर्माण गर्ने विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्र गरिरहेको उनको टिप्पणी छ। नागरिकता विधेयकलाई षडयन्त्रपूर्वक एमाले विरुद्धमा प्रयोग गर्ने प्रयास गठबन्धनले गरिरहेको उनले बताए। महासचिव पोखरेलले नागरिकता विषयलाई समयमै सम्बोधन गर्नुपर्छ भन्ने राष्ट्रपतिको आशयलाई गठबन्धनले उपेक्षा गरेको उनको भनाइ छ।

नागरिकता विधेयकमा वैवाहिक अंगीकृतको विषय प्रमुख रहेको महासचिव पोखरेलले भने, ‘आफ्ना चेलीहरूको बारेमा अरू देशमा के व्यवस्था छ भन्ने कुरा हेर्न म गठबन्धन दललाई आग्रह गर्छु।’ तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकता पाएका नेपाली बाबुआमाका सन्तानको नागरिकताको हक स्थापित गर्न खोज्दा अहिलेको गठबन्धनमा रहेका नेताहरूले अवरोध गरेको उनले चर्चा गरे। महासचिव पोखरेलले ओली नेतृत्वको सरकारले जन्मसिद्ध सन्तानको हक स्थापित गर्न अध्यादेशमार्फत नागरिकता ऐन जारी गरेको बताए।

‘जन्मसिद्ध सन्तानको हक स्थापित गर्नखोज्दा त्यतिबेला अहिलेका गठबन्धन दलले अदालतबाट रोकेका हुन्, अदालतमा मुद्दा हालेर अध्यादेश नरोकेको भए अहिले जन्मसिद्धका सन्तानले नागरिकता सहजरुपमा आउने अवस्था भइसक्थ्यो,’ उनले भने। गठबन्धनले अदालतमा मुद्दा हालेर अध्यादेश नरोकेको भए अहिले जन्मसिद्धका सन्तानले नागरिकता सहजरुपमा पाउने अवस्था बन्ने उनको भनाइ थियो।

‘गणतन्त्रको प्रतीक भनेको राष्ट्रपति हो। राष्ट्रपतिका सन्देशहरूलाई उपेक्षा गर्ने पाँच दलीय गठबन्धनले राष्ट्रको हितको नेतृत्व गर्न सक्दैन,’ उनले थपे, ‘अहिलेको बहसको विषय भनेको वैवाहिक अंगीकृतको विषय हो। अंगीकृत नागरिकताको विषयमा नेपाली चेलीहरू भारतमा गएर जति वर्ष नागरिकता पाउन समय कुर्नुपर्छ नेपालमा आउनेहरूले पनि केही समय कुर्नुपर्छ।’

महासचिव पोखरेलले राष्ट्रपतिले नागरिकता जस्तो संवेदनशील विषयमा पठाएका सुझावमाथि छलफल गर्नुको साटो संसदबाहिरबाट गठबन्धनले चुनौती दिन खोजेको आरोप लगाए। उनले राष्ट्रपतिले नागरिकताका विषयमा पठाएका सुझावमाथि छलफल नगरेर गठबन्धनले गणतन्त्र र संविधानमाथि प्रहार गरेको बताए। उनले पाँच दलीय गठबन्धन सम्पूर्ण रुपमा असफल भइसकेको दाबी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्