समानुपातिकमा सिफारिसलाई प्रत्यक्ष निर्वाचनमा बन्देज

Election Commission
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका व्यक्ति प्रत्यक्ष निर्वाचन कार्यक्रममा उम्मेदवार बन्न नपाउने भएका छन्।  निर्वाचन आयोगले आगामी २३ असोजका लागि पहिलो हुने (प्रत्यक्ष) निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार मनोनयन तोकेको छ भने समानुपातिक बन्दसूची दलहरूले आयोगमा गत २ असोजमै बुझाइसकेका छन्।

आयोग प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार हुन पाउने छैनन्। निर्वाचन कानुनमा समेत सो व्यवस्था छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १४(२) मा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुन र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समावेश गर्न नपाइने कानुनी व्यवस्था छ ।

त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १४(२) अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश व्यक्ति पहिलो हुने र निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुन र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समावेश गर्न पाइने छैन ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची बुझाउने समय गत २ असोजमै सकिसकेको छ । प्रत्यक्षतर्फ मनोनयन दर्तापछि आयोगले सोही दिन नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम राखेको छ।

त्यस्तै, २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ देखि २५ असोजसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २५ असोजमा उम्मेदवारको नामावली प्रकाशन गर्ने र २६ असोजमा उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम आयोगले तोकेको हो ।

यी निर्वाचन कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृत कार्यालयमा सञ्चालन हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याललेले जानकारी दिए।आयोगले बिहीबार मात्रै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ।राजधानी दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्