‘प्रेमबाट अनेकौं उर्जा हासिल गर्न सकिन्छ’

shivajit tiwari
लोकपाटी न्यूज
7 Shares

-शिवजी तिवारी

प्रेम कसैको करकाप, सल्लाह, सुझावबाट हुने होइन, यो त बुझाइ, भोगाइ र चिन्तनबाट स्वतः प्रस्फुटित हुने भावना हो। हरेक व्यक्तिमा प्रेम हुन्छ, तर सबैमा अभिव्यक्त गर्ने क्षमता हुन सक्दैन। यसैगरी सफल जीवन पनि यस्तै हो जुन बुझेर मात्रै प्राप्त हुँदैन। प्रेमको अनुभव, अनुभूतिबाट मानिसले अनेकौं उर्जा हासिल गर्न सक्छ। आफूले भोगेका र व्यतित गरेका अविस्मरणीय क्षणहरूसँगै आफ्नो बुझाइ र भोगाइअनुसार आँफूलाई ढाल्नु जीवन हो। यही क्षमता नै सफल प्रेमी जीवन हो। यहि अन्तर्मनको भोगाइ यसरी प्रष्फुटन गर्दछु।

कति सौम्य र सुरम्य व्यवहार,साँच्चै याद आउँछ अटेसमटेस गरेर तिम्रो मायालु ! अझै पनि मेरो अन्तस्करणमा। मनको बलेँसीबाट अझै पनि मेरो अन्तस्करणमा ओइरिरहन्छ तिम्रै सम्झनाको वर्षेझरी।  सुन्दर ओठ छन् तर, वचन कटु छ भने त्यो कसलाई पो प्रिय लाग्छ र ? राम्रो रूपभित्रको नराम्रो स्वभाव भन्दा नराम्रो रूपभित्रको राम्रो स्वभाव नै सबैलाई प्रिय लाग्छ। यो तिम्रा अभिव्यक्ति अझ पनि मेरा मानसपटलमा छमछमी नाचिरहन्छन्। तिम्रो हिस्सी परेको मुहार गुलाम अलिको गीत।

किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ
उति हिस्सी लाग्छ

जिन्दगीको नदी आफ्नै लयमा गुन्जिँदै सुस्ताउने र सुसाउने प्राकृतिक हाउभाउमा बगिरहेको थियो। तिम्रो सामीप्यतासँगै खै कस्तो कस्तो विचित्रको अनुभूत भइरहेको थियो। प्रेम सुषुप्त थियो, प्रकट भएको थिएन तर नभनेरै सबै भनेजस्तो, नचुमेर नै हर अङ्ग-अङ्ग चुमे जस्तो अनुभवले भरिपूर्ण भैरहेका थिए। बेवास्ता भित्रै आकर्षण जस्तो अभावभित्र पनि सम्पन्नता जस्तो अचम्मको प्रेम थियो। दर्दभित्र पनि आनन्द भइरहेको थियो। निर्बल प्रेमीको साना पाखुरामा बेरिरहँदा पनि वरिष्ठ पाखुराको अङ्कमाल जस्तो भइरहेको थियो। मेरो मन भमरा फुलको रसमा भुलेझैँ आफ्नै मनको मझेरीमा एक तमासाले उत्साहित थियो। सबै सामाजिक बार बन्देजको जन्जिरको घेराभित्र खुला आकाशमा उड्ने स्वतन्त्र पक्षिझैँ मन वायु यान चढेर खुला हावामा सयर गरिरहेको थियो।

कुनै कारण बिना नै खै किन पुलकित हुन्थ्यो यो मनरुमैले बुझ्न सकिनँ सायद तिम्रो हृदयको आवाजलाई। मैले बुझाउन सकिनँ सायद हृदयको भयङ्कर प्रेमलाई। तिम्रो तृष्णाको भाव बुझेर पनि सुराही बोकेर तिम्रो सामीप्य पुग्ने आँट नै आएन। म प्रतिको तिम्रो आशा र आवेगलाई मत्थर पार्न नसकेरै होला तिमीले बाटो बदली सकिछौ।त्यसैले हाम्रो प्रेम अतृप्त रह्यो, अधुरै रह्यो। आफ्नो हृदयको एउटा निश्चल कुनामा हरदम, हर क्षण हर बेला, हर प्रहर तिमीलाई सझाइ रहेँ। आफ्नै काल्पनिक दुनियाँमा तिम्रो मेरो सामीप्यताको अनुभवको कथा बुनिरहेँ। कति आनन्दित थिए ती स्वर्णिम पल।
सोनुप पौडेलको गीत झैँ ।

नभुल्न सक्ने नमेट्न सक्नेमुटुमा चोट दिएर गयौँ
नजलेसम्म चितामा निको नहुने घाउ दिएर गयौँ

तिम्रो आँखाको गहिराई भित्र छल्किएका ती भावहरू पक्कै केही बोलिरहेका थिए,केही खोजिरहेका थिए।मौन भाषाको अनुवाद गरेर आफ्नै आतर्मनको पर्दामा उतार्दै म एक कर्तव्यनिष्ठ कलाकार झैँ अभिनय गरिरहेँ। तिमीले आफ्नै दुनियाँमा हिँड्ने गोरेटो कोरीसकिछौं। तिम्रा उद्देश्य बदलिएछन्,लक्ष्य बदलिए छ। तिम्रो भाग्य र भविष्य बदल्ने योजना बनाइरहेको मलाइ पत्तै नदिईकन तिम्रो आस्था र विश्वास बदलिए छ। यहीँबाट हाम्रो पवित्र प्रेम इतिहासमा बदलिएछ। अन्जु पन्त र मनोज राजको निकै नै मर्मस्पर्शी गीतले भने झैँ।

नजुरेको लगन हाम्रो नजुरेको हाम्रो नाता
तड्पी तड्पी मौनतामा डुबिराछु आज।

हामी खोलाको दुई किनाराजस्तै समानान्तर गन्तव्यका यात्रीहरू भए पनि तिमीप्रतिको अनुराग बद्लिएको छैन। पवित्र प्रेम बदलिएको छैन। तिम्रो माया सजाएको हृदयको सन्दुक बदलिएको छैन।म जिन्दगीको बगरभित्र पीडाहरूको सागरभित्र ग्रीष्ममा पात झरेका रुखजस्तै भएर ठिङ्ग उभिरहेको छु। मेरा मनका आशा ओइलेर गएका छन्।आकाङ्क्षा झरेर गइरहेको छन्। प्रेमको कोपिला ओइलिएन पनि सम्झनामा वसन्तको सुभाषित हावाजस्तै तिम्रो प्रेम सुभाषित छ। खै तिमी कुन मोडमा छौ निर्जल मरुभूमिमा कलकलाउँदो पालुवा नपोलाए जस्तै पत्थर हृदय नगल्ला तर पनि म आफ्नै जिन्दगीको खण्डहरमा एउटा निरस यात्रा गरिरहने छु। खै कुन दिन समाप्त हुने हो यो यात्रा । ! जगदीश समालको गीत मनमनै गुन्जिरहेको छ।

म त मर्छु क्यारे तिमी हजार वर्ष बाँच्नु
तर नभुल्नु मलाई, राखिदिनु मलाई कतै तिम्रो मनको कुनामा।
मेरो यात्रा जे जस्तो होस तिम्रो जिन्दगानी खुस रहोस्। असीमित शुभकामना !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्