डा. गोविन्द केसीसँग भएको सहमति लागू नगरियोस्

Health Sector govinda kc
लोकपाटी न्यूज
1 Shares

काठमाडौं, १२ असोज । स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूले डा.गोविन्द केसी र नेपाल सरकारबीच गत असोज ८ गते भएको सहमतिको एउटा बुँदामा आपक्ति जनाएका छन ।

डा. केसी र सरकारबीच गठित वार्ता समितिले बुँदा नं १ (ठ) “चिकित्सक कार्यरत सबै स्वास्थ्य संस्थाहरुको नेतृत्व चिकित्सकले नै गर्ने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिपत्र गर्ने’’ बारे आपक्ति जनाइएको हो ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर चिकित्सक कार्यरत संस्थाको प्रमुख चिकित्सक मात्रै हुने भन्ने भाष्यले अन्य विधाका जनशक्तिलाई अपमानित गरिएको ठहर गरेको हो ।

सहमतिको बुँदा १ (ठ) कुनै पनि हालतमा कार्यान्वयन नगर्न र आगामी दिनहरुमा विभिन्न विधाका स्वास्थ्यकर्मी जनस्वास्थ्यकर्मीहरुको मनोबल गिर्ने कार्य नगर्न नेपाल सरकारसँग जोडदार माग गर्दै गम्भीर ध्यानाकर्षण गराएका छन्।

चिकित्सा शिक्षा आयोग चिकित्सा शिक्षाका सम्पूर्ण विधाको व्यवस्थापन गर्ने साझा संस्था भएकोले यसको उपाध्यक्ष, निर्देशक पदमा सबै विधाको स्वास्थ्यकर्मीलाई पनि नेतृत्वको अवसर कानूनी रूपमा हुनुपर्ने उनीहरुको भनाई छ ।

आयोगले निकटभविष्यमा गर्ने संगठन र व्यवस्थापन सर्भेमा समेत सबै विधाका स्वास्थ्यकर्मीहरुलाई समान अवसर हुनुपर्ने माग गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका अध्यक्ष लिलाराम थापाले गत असोज ८ गते सरकार र डा.केसीबीच भएको सहमतिमा स्वास्थ्य संस्थाको नेतृत्व चिकित्सकले गर्ने भन्नेबारे गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । यस्तो सम्झौताले स्वास्थ्यको विधालाई कुण्ठित गर्न खोजिएको उनले टिप्पणी गरे । उक्त बुंदा सैद्धान्तिक नभएको भन्दै तत्काल सच्याउन सम्बन्धित पक्षसँग माग गरे । बुँदा नसच्याए यसबाट हुने नोक्सान दुवै पक्षले व्यहोर्नुपर्ने समेत चेतावनी दिए ।

नेपाल नर्सिङ संघकी सचिव प्रमिला थकालीले स्वास्थ्य कर्मचारीहरु कामको अनुभव र ज्येष्ठताको आधारमा तहगत हुनुपर्ने भन्दै उनले जुनियरलाई नेतृत्व मान्न नसकिने स्पष्ट पारिन् । उक्त सहमतिबाट स्वास्थ्यका धेरै विधालाई असर गर्ने उल्लेख गर्दै यसबाट नराम्रो आउने परिणामको जिम्मेवारी डा.केसीले नै लिनुपर्ने उनको भनाइ थियो ।

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तर्फबाट बोल्दै राजेशप्रसाद यादवले स्वास्थ्य मन्त्रालयको ५५ र ५३ स्वास्थ्य नियमावलीअनुसार तहगत प्रणाली लागु हुने अवस्था रहेको बताएका छन । तहअनुसार नै जेष्ठता कायम गरिनुपर्नेमा उनले जोड दिए ।

चिकित्सकमा मात्रै व्यवस्थापकिय ज्ञान नहुने भन्दै उनले सो काम अन्य व्यक्तिले पनि गर्न सक्ने बताए । डा.केसी र सरकारबीच भएको सहमतिअनुसार एकात्मक प्रणाली लागु गर्न खोजिएको भन्दै उनले उक्त बुँदा लागु गर्न नहुने तर्क गरे । त्यसलाई स्वीकार गर्न नसकिने उनले स्पष्ट पारे ।

नेपाल जनस्वास्थ्य हेल्थ संघका अध्यक्ष वसन्त अधिकारीले डा.गोबिन्द केसी र सरकारबीच भएका सम्झौताको केही बुँदामा असहमति भएको बताए । स्वास्थ्य सेवा सबैभन्दा सुन्दर पेशा भएको भन्दै उनले सो पेशामा लाग्नेहरुलाई उक्त सहमतिले हत्तोत्साही गर्न खोजिएको टिप्पणी गरे ।

उनले उक्त सम्झौताविरुद्धको आन्दोलनमा स्वास्थ्य सेवाका २० वटा क्रियासिल संस्थाहरुले समर्थन रहेको समेत जानकारी दिए । उनले भने,‘यो कानून र प्रशासनिक रुपमा कतैबाट पनि सुहाँउदो छैन । आफूभन्दा जुनियर कर्मचारीहरुलाई नेतृत्व मान्न सकिँदैन । यस्तो मनोबल गिराउने सहमतिको घोर भत्सर्ना गर्छु ।’

कार्यक्रममा नेपाल रेडियोलोजि सोसाइटीका अध्यक्ष मुकेश कुमार झा, नेपाल डेन्टल साइन्स डाइगेनिस्ट एसोसिएसनका अध्यक्ष माइकल देवकोटालगायतले सम्झौता भएको उक्त बुँदा लागु नगर्न र लागु गर्नैपर्ने भए संशोधन गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्