इन्डोनेसिया : फुटबल मैदानमा भएको भागदौडमा मृत्यु हुनेको संख्या १७४ पुग्यो

लोकपाटी न्यूज
0 Shares

एजेन्सी । इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ७४ जना पुगेको छ ।

हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भएको भागदौडमा कम्तीमा एक सय ७४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये दुई जना प्रहरी अधिकारी पनि रहेका छन् । पूर्वी जाभा प्रान्तमा भएको खेलमा दुई टोलीका समर्थकहरू मैदानमा प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

त्यसपछि भागदौड मच्चिँदा मानिसहरू निसासिन पुगेका पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एउटै बाटोबाट मानिसहरू बाहिरिँदा अक्सिजन अभाव भएको प्रहरीको भनाइ छ ।

४० हजार मानिस अटाउने रङ्गशालामा क्षमताभन्दा बढी मानिसहरू रहेका इन्डोनेसिया प्रहरीले जनाएको छ । एकै पटक झन्डै तीन हजार जना मानिसले अराजक व्यवहार देखाएपछि बल प्रयोग गर्नुपरेको प्रहरीको दाबी छ ।

इन्डोनेसियाको फुटबल सङ्घले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । इन्डोनेसियामा यसअघि पनि फुटबल खेलको समयमा विभिन्न क्लबका समर्थकहरूबीच हिंस्रक टकराव देखा परेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्