प्रचण्डको सचिवालयको प्रष्टोक्ति : समानुपातिकमा सक्षम र योग्य उम्मेदवार छानेका छौं

Maoist_Prachanda
लोकपाटी न्यूज
14 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ सक्षम र योग्य उम्मेदवार छानेको जनाएको छ। पार्टीमा अन्य धेरै योग्य र सक्षम व्यक्ति रहेको पनि उल्लेख गरिएको छ।

तर, सबैलाई उम्मेदवार सम्भव नहुने भएकोले केही निश्चित मापदण्डका आधारमा उम्मेदवार सिफारिस गरिएको प्रचण्डको सचिवालयले जनाएको छ। प्रतिगमनलाई परास्त गर्न गठबन्धनले जित्न अनिवार्य भएको भन्दै गठबन्धनका उम्मेदवारहरूलाई जिताउनका लागि पर्न आह्वान पनि गरिएको छ।

निर्वाचनमा घात प्रतिघात गर्ने छुट नरहेको उल्लेख गर्दै पार्टीका निर्णयहरुलाई सक्रियतासाथ पालना गर्नु अहिलेको ऐतिहासिक जिम्मेवारी भएको प्रचण्डको सचिवालयले भनेको छ। शुद्धतावाद भन्दा सापेक्षतावादमा विश्वास राखेर आगामी निर्वाचनबाट माओवादी केन्द्रलाई पहिलो ठुलो दल बनाउन सक्रियता पूर्वक लाग्न आह्वान पनि गरिएको छ।

यस्तो छ प्रचण्डको सचिवालयको प्रष्टोक्ति

आसन्न निर्वाचनको तयारीका लागि समानुपातिक उम्मेदवारको बन्दसूचिको काम टुंगिएको छ। अब केही दिनमा सिट बाँडफाँडसँगै उम्मेदवारीको समेत अन्तिम काम सम्पन्न हुनेछ।

एउटा जीवन्त पार्टीभित्र उम्मेदवारको आकांक्षा राख्ने, जनतामाझ आफूलाई योग्य साबित गर्ने चाहना धेरै कमरेडको हुनु स्वाभाविकै हो। तर धेरै योग्य र सक्षमहरू भएको हाम्रो गौरवशाली पार्टीमा सबैले उम्मेदवार बन्नु सम्भव थिएन र छैन पनि। त्यसैले यस पटक पार्टीले केही निश्चित मापदण्डका आधारमा उम्मेदवारको सिफारिस गर्न मातहतका कमिटीहरूलाई निर्देशन समेत गरेको थियो।

हामीले प्रतिगमनलाई परास्त गर्न जित्नै पर्ने र गठबन्धनका दलहरूलाई समेत जिताउनै पर्ने अनिवार्यतामा हामी छौं। हामीलाई असन्तुष्टि या अन्य बहानामा निष्क्रिय बन्न या निर्वाचनमा घात प्रतिघात गर्ने छुट छैन। पार्टीले यिनै तथ्यलाई मनन गर्दै भए गरेका निर्णयहरुलाई सक्रियतासाथ पालना गर्नु हाम्रो ऐतिहासिक जिम्मेवारी पनि हो।

त्यसैले शुद्धतावाद भन्दा सापेक्षतावादमा विश्वास राख्दै निर्वाचनको यो महाअभियानमा पार्टीको गौरवशाली इतिहासलाई मनन गर्दै आ-आफ्नो ठाउँबाट सक्रिय भएर माओवादीलाई पहिलो ठुलो दल बनाउन सक्रिय होऔँ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्