ओझेलमा एसियाकै पुरानो गुरुकुल

Rajakiya_Sanskriti_School
लोकपाटी न्यूज
10 Shares

जलेश्वर। देशकै सबैभन्दा पुरानो श्री राजकीय संस्कृत विद्यालय मटिहानी, महोत्तरीमा अध्ययनरत बटुक (विद्यार्थी) निश्चल अधिकारी पाँच वर्षदेखि दैनिक बिहान ४ बजे नै उठ्ने गर्दछन्। अँध्यारो, उज्यालो, वर्षा, गर्मी कुनै कुराको प्रवाह नगर्दै निश्चल प्रतिदिन बिहान ४ बजे नै उठेर आफ्नो नित्यकर्म गरी रुद्राभिषेक (भगवान शिवको विशेष पूजा) का लागि फूल टिप्न फूलबारीमा जाने गर्दछन्। अरू बटुक जाग्नुभन्दा पहिले निश्चलले फूल टिपेर गुरुकुलको शिव भवन (रुद्राभिषेक हुने कोठा) मा पुगिसक्छन्।

उनी जस्तै सोही गुरुकुलमा अध्ययनरत अर्का बटुक खगेन्द्र उपाध्याय पनि एका बिहानै उठेर आफ्ना रुद्राभिषेकका लागि भगवान शिवको विशेष कक्ष (मन्दिर), शिवलिङ्ग तथा शिवलिङ्ग राखिएको भाँडाको सरसफाइमा जुट्ने गर्दछन्। खगेन्द्रले दैनिक रुपमा भगवान शिवको रुद्राभिषेक पूजामा प्रयोग भएका फूल, चन्दन, धूप, अगरबत्ती, गङ्गाजल र अन्य भोग (प्रसाद) का अवशेष बटुलेर शिवलिङ्गलाई चोख्याउने र शिव भवनलाई दैनिक रूपमै पवित्र पार्ने काम गर्दछन्। पाँच वर्षदेखि निरन्तर रुपमा रुद्राभिषेक हुँदै आएको यस गुरुकुलमा अध्ययनरत अर्का बटुक अजित मिश्रले रुद्राभिषेक पूजाका लागि बटुक बस्ने आसनी ओछ्याउने, सरसफाइ गर्ने र पूजापश्चात् पुनः आसनीहरु उचित स्थानमा राख्ने काम गर्दछन्।

उनीहरू जस्तै यस विद्यालयमा अध्ययनरत ब्रजभूषण झा, हरिमोहन झालगायत अन्य दर्जनौँ बटुक सधैँ रुद्राभिषेक पूजाका लागि केही न केही जिम्मेवारीमा बसेर नित्यदिन भगवान शिवको आराधना गर्दै आएका छन्। गुरुकुलको परम्पराअनुसार पूजापाठबाटै दिनचर्या सुरु हुने यस विद्यालयका सबै छात्रछात्रा रुद्राभिषेक पूजाको तयारी पश्चात् शिव कक्षमा विराजवान शिवलिङ्गलाई गङ्गाजलले स्नान गराई, चन्दन, फूल, प्रसादलगायतका वस्तु सिंगारेर रुद्राभिषेक पूजा सुरु गर्ने गरेको विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले बताए।

शिवलिङ्गका अगाडि दुई लहरमा बटुकहरूको जमात बस्दै एकैस्वरमा सुरु गर्दछन् रुद्राभिषेक जप। रुद्राभिषेक जप गर्दा बटुकहरूको मधुर कण्ठबाट निस्केका पवित्र ध्वनिले पूरा गुरुकुलसहित वरपरका सम्पूर्ण वातावरण नै धार्मिक एवं पवित्र हुने गर्दछ। बटुक मन्त्र पढ्न थालेपछि गुरुकुलसहित वरपर सबैतिरका व्यक्तिको ध्यानाकर्षण हुनुका साथै सम्पूर्ण वातावरण नै शिवभक्तिमा डुबेको आभास हुन्छ। बिहान ५ः३० बजेबाट सुरु हुने रुद्राभिषेक पूजा दैनिक दुई देखि अढाई घण्टासम्म चल्ने गर्दछ। सो अवधिभर यस गुरुकुलका सबै शिष्य, गुरु र गुरुकुलमा आएका पाहुनासमेत भगवान शिवको ध्यान र पूजाप्रति समर्पित रहने गर्दछन्।

प्राचीन कालदेखिको गुरु, शिष्य परम्परा अहिले पनि यस विद्यालयमा कायम रहेको देख्न सकिन्छ भने यस विद्यालयमा अध्ययनरत बटुक पाँच वर्षदेखि एक दिन पनि नबिराई अविरल रुपमा रुद्राभिषेक पूजा गर्दै आएको प्रधानाध्यापक पौडेल बताउँछन्। उनले यस विद्यालयमा अध्ययनरत प्रत्येक बटुक टुप्पी भएका, दैनिक पूजाआजा, मन्त्र-जप गर्ने, योगा गर्ने र भोजन पूर्व भोग लगाउने चलन रहेको जानकारी दिए। पहाड र मधेशका गरी जम्मा एक सय ५५ बटुक अध्ययनरत यस आवासीय विद्यालयमा गरिब, दलित, अनाथ, टुहुरा र विभिन्न जातजातिका बटुक अध्ययनका लागि बसेका छन्। एउटै भान्छामा खाने, एकैसरी बस्ने र मिलेर सबै कामकाज आफैँ गर्ने गुरुकुल परम्परालाई अझै पनि यस विद्यालयमा अध्ययनरत बटुकले जीवन्त राखेका छन्।

यस विद्यालयलाई सानो नेपालको नामले पनि चिन्ने गरिएको छ। यहाँ नेपालको सात प्रदेशमध्ये छ प्रदेशका विभिन्न २६ वटा जिल्लाबाट बटुक आएर गुरुकुल शिक्षा हासिल गरिरहेका छन्। साथै, यस गुरुकुलमा वेद, साहित्य, ज्योतिष, न्याय, व्याकरण, संस्कृत, भाषा, कर्मकाण्ड र रुद्री शिक्षा अध्ययन गर्न भारत र बर्माबाट पनि बटुक आउने गर्दछन्। प्राचीनकालका वेद, साहित्य, ज्योतिष, न्याय, व्याकरण, संस्कृत, भाषा, कर्मकाण्ड, रुद्रीका ज्ञान र विज्ञानका विषयमा बटुकलाई शिक्षा दिने गरिएको प्रधानाध्यापक पौडेलले बताए। उनका अनुसार यस विद्यालयमा तीन वर्षदेखि आधुनिक शिक्षाको समेत पढाइ हुने गरेको छ। ‘वर्षौंदेखि सञ्चालित यस गुरुकुलमा अध्ययनरत छात्रछात्रा संस्कृत मात्रै पढ्दै आएकामा अहिले आधुनिक शिक्षासमेत दिन थालिएको छ,’ प्रधानाध्यापक पौडेलले भने, ‘अब ज्ञान र विज्ञान दुवै तर्फका शिक्षा प्रदान गरिने छ।’

यस विद्यालयमा छ जना संस्कृत गुरु र आधुनिक विषय पढाउने छ जना शिक्षक छन्। नेपालका इतिहासमा वर्णित बालागुरु षडानन्दले यही गुरुकुलबाट संस्कृत शिक्षा प्राप्त गरेर भोजपुर जिल्लाको दिङ्गलामा गएर त्यहाँका बालबालिकालाई पनि वेद, पुराण, कर्मकाण्ड र संस्कृत शिक्षाका लागि विद्यालय सञ्चालन गरेका थिए। यस गुरुकुलमा अझै पनि गुरु शिष्य परम्परा कायम छ। यस गुरुकुलमा अध्ययन गर्ने शिष्यले गेरुवा (खैरो/रातो) पहिरन लगाउने, सात्त्विक भोजन गर्ने, गुरुलाई नै आफ्ना सबै थोक मान्ने, पाउ ढोग्ने र गुरुले भनेअनुसार नै गर्ने चलन चलिरहेको छ। कुल १५ कट्टा क्षेत्रफलमा फैलिएको यस गुरुकुलमा चुन, सुर्की, सख्खरबाट निर्मित वर्षौँ पुराना भवन, कक्षा कोठा, फूलबारी लगायतका छन्।

नेपाल सरकारले आधुनिक विद्यालय शिक्षामा ठूलो लगानी गरे पनि यस गुरुकुलको सञ्चालनका लागि कुनै अनुदान नदिएको प्रधानाध्यापक पौडेल बताउँछन्। उनका अनुसार गुठी संस्थानले यस विद्यालयमा अध्ययनरत केवल ४४ जना बटुकका लागि छात्रवृत्ति पठाउने गर्दछ। तिनै ४४ जनाको छात्रवृत्तिबाट यस विद्यालयमा अध्ययनरत एक सय ५५ जनालाई वर्षभरि खान, लाउन, बस्न सबै जोहो गर्नुपरेको उनको भनाइ छ। यस गुरुकुलमा अध्ययन गरेका शिष्यहरू राज्यका विभिन्न उच्च तहमा पुगे पनि यस गुरुकुलको संरक्षण र संवर्द्धनका लागि कहीँ कतैबाट कुनै पनि सहयोग नभएकामा भने उनीहरू दुखित छन्। करिब एक सय पाँच वर्ष पुरानो यस गुरुकुल नेपालको मात्र नभएर एसियाकै पहिलो प्राचीन, ऐतिहासिक, सामाजिक, सांस्कृतिक धरोहरको रुपमा रहे पनि यहाँका बटुकले आर्थिक स्रोत जुटाउन भिक्षाटन गरेर आफ्नो दैनिकी चलाउने गरेका छन्।

यसको भवन जीर्ण हुँदा त्यसको मर्मत सम्भारका लागि कतैबाट कुनै सहयोग प्राप्त नहुँदा अस्तित्वकै सङ्कटमा पर्दै गएको खबर चारैतिर फैलिएपछि विगतमा यसै गुरुकुलबाट अध्ययन गरेर नेपाल तथा देश विदेशका पुगेका केही शिष्यले स्थलगत अनुगमन निरीक्षण गरी चासो देखाएको प्रधानाध्यापक पौडेलले बताए। यस गुरुकुललाई वृहत् गुरुयोजनाका साथ भौतिक रुपमा सबल गर्न सकिएमा शैक्षिक गुणस्तरमा पनि सुधार ल्याउन सकिने उनको विश्वास छ। -रासस/सञ्जीतकुमार मण्डल

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्