रसायनशास्त्रमा यस वर्ष नोबेल पुरस्कार पाउने वैज्ञानिकहरू

Nobel
लोकपाटी न्यूज
9 Shares

एजेन्सी। रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले यस वर्ष सन् २०२२ मा रसायनशास्त्र तर्फको नोबेल पुरस्कारको घोषणा गरेको छ। जस अनुसार यो वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकहरूले प्राप्त गरेका छन्।

क्लिक केमिस्ट्री र बायोअर्थोगोनल केमिस्ट्रीको विकासमा योगदान पुर्‍याएबापत क्यारोलिन आर बर्टोज्जी, मोर्टेन मेल्डाल र के ब्यारी शार्पलेसलाई नोबेल पुरस्कार प्रदान गरिएको हो। यी वैज्ञानिकहरू को हुन् ? र उनीहरूको योगदान के कस्तो छ ? विस्तारमा जानौं।

क्यारोलिन आर बर्टोज्जी

अमेरिकी रसायनशास्त्री क्यारोलिनको जन्म सन् १९६६ अक्टोबर १० मा बोस्टनमा भएको हो। उनले रसायन विज्ञान र जीव विज्ञान दुवै क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएकी छिन्। जीवित प्रणालीहरूसँग हुने रासायनिक प्रतिक्रियालाई उनले नै ‘बायोअर्थोगोनल केमिस्ट्री’ नामकरण गरेकी हुन्। ५५ वर्षकी क्यारोलिनले सन् १९८८ मा हार्वर्ड विश्वविद्यालयबाट स्नातक र सन् १९९३ मा बर्कले विश्वविद्यालयबाट रसायन विज्ञानबाट पिएचडी गरिन्। सेलुलर इम्युनोलोजीको क्षेत्रमा पोस्टडक्टोरल गरेसँगै सन् १९९६मा उनले बर्कलेमै प्राध्यापन सुरु गरिन्। त्यस्तै सन् २०१५ मा उनी स्टानफोर्ड विश्वविद्यालयमा आबद्ध भइन्।

क्यारोलिनको अनुसन्धान तथा प्रयोगशाला क्यान्सर, जीवाणु संक्रमण तथा सुन्निने समस्यामा हुने कोषीय सतह ग्लाइकोसिलेसनको परिवर्तनसँग सम्बन्धित छ। त्यही अनुसन्धानबाट उनले विभिन्न सम्मान तथा पुरस्कार पनि प्राप्त गरेकी छिन्। उनी इन्स्टिच्युट अफ मेडिसिन, नेसनल एकेडेमी अफ साइन्सेज तथा अमेरिकन एकेडेमी अफ आर्टस् एण्ड साइन्सेजकी निर्वाचित सदस्य पनि हुन्। उनले यसअघि लेमेल्सन एमआईटी पुरस्कार, हेनरिक भ्यालेन्ड पुरस्कार तथा म्याकआर्थर फाउन्डेसन फेलोसिप प्राप्त गरिसकेकी छन्। क्यारोलिनका पिता विलियम बर्टोज्जी एमआईटीमै भौतिक विज्ञानका प्राध्यापक थिए।

मोर्टन मेल्डल

डेनिस रसायनशास्त्री मोर्टन पी मेल्डलको जन्म सन् १९५४ को जनवरी ६ मा भएको हो। उनी कोपनहेगन विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक हुन्। उनलाई CuAAC क्लिक रिएक्सनको प्रयोगका लागि चिनिन्छ।

उनले सन् १९८१ मा डेनमार्क टेक्निकल युनिभर्सिटीबाट केमिकल इन्जिनियरिङमा एमएससी गरे भने सन् १९८३ मा अर्गानिक केमेस्ट्रीमा विद्यावारिधि गरे। सन् १९८८ देखि २०११ सम्म उन कोपनहेगन विश्वविद्यालयमा विभिन्न पदमा कार्यरत रहे। त्यस्तै कार्ल्सबर्ग ल्याबमा लिडर अफ सिन्थेसिस समेत रहेका उनी सन् २००३ मा प्राध्यापक बनेका थिए।

उनले कम्बिनेटरियल केमेस्ट्री तथा पेप्टाइड केमेस्ट्रीका विभिन्न नयाँ प्रविधिको विकास गरेका छन्। उनको रुचि बायो अर्गानिक केमिस्ट्री तथा पोलिमर, इन्जाइमोलोजीको विकास तथा जीपीसीआरमा रहेको छ। उनले राल्फ एफ हिर्सम्यान तथा भिन्सेन्ट डू भिग्नाड लगायतका विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन्।

के ब्यारी शार्पलेस

अमेरिकी रसायनशास्त्री कार्ल ब्यारी शार्पलेसको जन्म सन् १९४१ को अप्रिल २८ मा फिलाडेल्फियामा भएको हो। उनी स्टेरियोसेलेक्टिभ रिएक्सन तथा क्लिक केमेस्ट्रीको क्षेत्रमा गरेको योगदानका लागि सुपरिचित छन्। उनले यसअघि सन् २००१ मा पनि नोबेल पुरस्कार प्राप्त गरिसकेका छन् । सन् २००१ मा उनले Chirally catalyzed Oxidation Reaction को क्षेत्रमा गरेको योगदानका लागि रसायनशास्त्रमै नोबेल पुरस्कार प्राप्त गरेका थिए।

सन् १९५९ मा फ्रेन्ड्स सेन्ट्रल स्कूलबाट स्नातक गरेका उनले चिकित्साशास्त्र पढ्ने इच्छा हुँदाहुँदै शोध प्राध्यापकको सल्लाहमा रसायन विज्ञानको अध्ययनलाई निरन्तरता दिए। सन् १९६८ मा उनले स्टानफोर्ड विश्वविद्यालयबाट अर्गानिक केमेस्ट्रीमा विद्यावारिधि गरे र पोस्ट डक्टरेटपछि हार्वर्ड विश्वविद्यालय गए। त्यहाँ उनले कोनराड ई बलोचको ल्याबमा इन्जाइमोलोजीमा अध्ययन गरे। उनी म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा धेरै वर्षसम्म प्राध्यापक रहे। स्टानफोर्डमै हुँदा उनले शार्पलेस एसिमेट्रिक एपक्सीडेसनको खोज गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्