गुन्द्रुक माग्थे

Dr. Nimananda Rijal
लोकपाटी न्यूज
7 Shares
  • डा. निमानन्द रिजाल

 म यकिन साथ भन्न सक्छु
काला रातभरि पहाड चढ्थे
रातो सूर्य हेर्ने कल्पनामा
भोकै पेट आफ्नो राइफल सफा गर्थे
मीठो त बोलेनन् उनीहरू
गुन्द्रुक छ भने दिनुस् भन्थे
नुन पनि छ कि भन्दै सोध्दथे
कहानी हो यो जनयुद्धको
पहाडी गाउँका एक बस्तीको ।

डर पनि लाग्ने गर्थ्यो
जल्लाद शाही गाउँ छिर्ने हुन कि भनेर
द्रवित आँखा बन्दै गरेछन्
उनका युद्धका कथा सुनेर।
ब्रिटिसको लागि मलायाको लडाइ
आफ्नै बुढाको लागेछ।
कता कता माया यसरी पो
बस्न लागेछ।

बन्दुक पड्किए
गहबाट आँसु झर्ने भएछन्
रात कसरी बिताए
मनको कोकाउन लाग्ने गरेछ
कार्गीलमा लड्ने नातिको छवि
उनीहरूमै झल्कन थालेछ
कता कता माया यसरी पो
बस्न लागेछ।
आमा गुन्द्रुक छ
कति मीठो आत्मीयता बढ्न लागेछ।

हेलिकप्टर आकाशमा मडारिए
मेरा बच्चा रिझे गिद्ध आक्रोश बढ्न लागेछ।
कारगीलमा लड्ने नाति
आऊ तिम्रै निम्ति लड्न
दाजु भाइले देखाएको बाटो समाउन

कहिले काहीँ तिम्रो प्रतीक्षामा
चौतारीमा बिसाउने भएछन्।
कता कता यसरी रातो तारेसँग
माया बस्ने भएछ।

आमा नुन छ ?
जनयुद्ध हो यो उनीहरू लड्दै गरेछन्।
अब त कानमा गुन्जन लागेछ
एकछिन बात नमारेसम्म
मन अमिलो बन्ने गरेछ
तिमीलाई अनुभूति छ या छैन बुढा
मलाई त यस्तै हन लागेछ।
के हो यो ?

राइफल आमा
यो त खेलौना जस्तै लाग्ने गरेछ
मृत्यु भए पनि भाग्दै गएछ।
जल्लाद ठाउँ ठाउँबाट
उखेल्न पर्ने रहेछ।
अब त आँखा फुर्न लागेछ।
यसरी पो माया बस्ने रहेछ।

गुन्द्रुकको बदलामा
आफ्नै बलिदान दिने गरेछन्
नुनको बदलामा आफ्नै रगतले
भूमि सिच्ने गरेछन्
एक मुठी मुस्कान छर्न आमाको
गोलीको पर्रा थाप्ने गरेछन्।
तिम्रो महानता माथि
लाल सलाम
सपुत लाल सलाम।

लमजुङ : २०६६।२।२७