बन्दिपुर पुग्दाको त्यो क्षण…

लोकपाटी न्यूज
10 Shares

शिवजी तिवारी

 बन्दिपुरमा झण्डै ९ वर्ष अगाडि ब्याचलर पढ्दा कलेजका केही साथीहरूसँग पिकनिक गएको थिए। युक्त पिकनिकको समयमा निकै उत्साह र उमंगले भरिएको बन्दिपुरको खास खुसी बटुल्न नपाएकोमा खिन्नता मनको एक कुनामा जवर्जस्त डेरा जमाइरहेको थियो। यो बिचमा पटक पटक बन्दिपुर गएर त्यहाँको सुन्दरतासँग साक्षात्कार गर्ने योजना बनाइ रहेँ। तर सोचेजस्तो अनुकुलत सृजना हुन नै सकेको थिएन।

यस्तैमा साथीहरू सुनिल सुवेदी र तोयनाथ देवकोटाले २०७९ सालको तिहार बिदामा कोपुचे ताल जाने भनेर योजना बनाइरहेका थिए। कार्तिक ४ गते नाइटमा रौतहटदेखि म आउने र ५ गते सबेरै कोपुचेको यात्रा तय गर्ने योजनाको साथ लागिरहेका थियौं। तर, अन्तिम समयमा साथी तोयको समयको चाँजोपाँजो मिल्न नसक्दा युक्त योजना सफल हुन सकेन। अन्तिम समयमा योजना मुताबिकको समय मिल्न नसक्दा मन खिन्न भइरहेको थियो। साथी सुनिलले यत्तिकैमा बन्दिपुर घुम्न जाऊँ भन्ने योजना सुनाए। उनको कुरा भुइँमा खस्न नपाउँदै मैले स्वीकार गरिहाले। बन्दिपुरको नाम सुन्ने बित्तिकै मेरो शरीरमा अचम्मको रक्तसञ्चार हुन थाल्यो।

गण्डकी प्रदेश, तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ वर्ग किमि क्षेत्रफलमा फैलिएको सानो तर, विविधताले सजिएको सुन्दर गाउँपालिका बन्दीपुरमा झण्डै बिस हजार मानिस बसोबास गर्छन्। त्यहीँ अटाएको छ, नेवारी सभ्यता र संस्कृति पनि। हाम्रो हजुरबुबा भन्नुहुन्थ्यो बन्दिपुर, तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो। आधुनिक राजमार्गको विकास नहुँदासम्म यो शहर पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रुपमा विकास भएको थियो। यस ठाउँबाट बिस २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांस्कृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसँगै बन्दिपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रुपमा विश्वभर नै प्रसिद्धि छ।

स्थानीय जेष्ठ नागरिकको अनुसार मानव सभ्यताको ब्युँतेको सांस्कृतिक सम्पदा र प्राकृतिक मनोरमताको धनी बन्दिपुर सदरमुकाम हुँदासम्म ठूलो व्यापारिक ‘हब’को रुपमा मात्रै हेर्ने गरिन्थ्यो रे। बन्दीपुरबाट सदरमुकाम उठाइएपछि यो गाउँ एकाएक निर्जन भएको थियो रे। व्यापारिक हबको रुपमा रमिरहेको बन्दीपुर एक्लै रमाउन सक्ने कुरै थिएन। झण्डै निर्जन बनेको बन्दिपुर हाल देशकै मुख्य पर्यटकीय गन्तव्य मध्य एक हुन थालेको छ। ९ वर्ष अगाडिभन्दा अहिले होटलहरु थपिएका रहेछन्। बसाइँ आउने जनसङ्ख्यामा पनि वृद्धि हुन थालेको रहेछ। आन्तरिक र बाह्य पर्यटकसँग यहाँ अवलोकन गरिने गुफा, मन्दिर, गुम्बा, हिमाल, स्मारक, सम्पदा आदिले भुल्नै नसक्ने प्रेम गर्ने गरेको छन्। यस्तै, बजार नजिकै रहेको टुँडिखेललाई प्राकृतिक भ्यु प्वाइन्ट भन्ने गरिँदो रहेछ।

फराकिलो क्षेत्रफलका कारण यसलाई टुँडिखेल भनिएको रहेछ। माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि, मनास्लु लगायत दाँतजस्तै टमक्क मिलेर मुस्कुराइरहेका हिमालको मनमोहक दृश्य नियाल्न भए पनि पर्यटकहरू नछुटाई यो स्थानमा आउने गर्दा रहेछन्। प्याराग्लाइडिङ, चट्टान आरोहण, हाइकिङ, होम स्टे आदि यहाँका अन्य आकर्षणहरू रहेछन्। रात्रिकालीन समयमा धपक्क बल्ने ‘मार्केट’ बन्दीपुर बजारको छुटाउनै नमिल्ने अर्को आकर्षण रहेछ। पङ्क्तिबद्ध घरका अगाडि बालिने ‘स्ट्रीट लाइट’, पसलमा झुन्ड्याइएका ‘ह्यान्डिक्राफ्ट’ र साजसज्जाका सामाग्रीहरू, चिसो सिरेटोले चारैतिर छर्ने मन्धमन्ध सुगन्ध, थरीथरीका देशबाट थरीथरीका भेषमा देखिने पर्यटकहरूले यहाँको माहोल नै छुट्टै बनाउँदा रहेछन्। लाग्छ यहाँको हावामा आनन्द मिसिएको छ। त्यही हावाको सास फेर्दै कतिपय पर्यटकहरू होटलको बरण्डामा बसेर गफिरहेका देख्न पाइयो भने कतिपय यसै बाटोमा छरिएर टहलिरहेका थिए… (बाँकी अर्को भागमा ) ।

अन्त्यमा, प्रिय बन्दिपुर, तिम्रा सिरमा प्राकृतिक हाउभाउमा सुसाउने पवन मेरो मनमा बगिरहेको छ। तिम्रो सामीप्यतासँगै खै कस्तो कस्तो विचित्रको अनुभूत भइरहेको छ। पंक्तिकारलाइ तिम्रो मनमोहकतासँग भर्खरै २० टेकेका जवान युवायुवतीको जस्तै प्रेम बसेको छ। शब्द भएर नि अभिव्यक्त नहुने, अझङ्गको दिल भएर पनि समेट्न नसक्ने जति हेरेपनि मन नअघाउने ! नभनेरै सबै भनेजस्तो, नचुमेर नै हर अङ्ग-अङ्ग चुमे जस्तो अनुभवले भरिपूर्ण भैरहेका छ।

सुन्दर बन्दिपुरमा गएर प्राकृतिक मनमोहकतामा रम्दै सबैलाई आफ्नो मन शान्त पार्ने मौका मिलोस्। सम्पूर्णमा शुभकामना। साथै तिहार र छठको शुभकामना।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्