एडभेन्चर ट्रेकको उत्कृष्ट नमुना : ‘ग्रेट हिमालय ट्रेल’

NINAM_LOWATTI
लोकपाटी न्यूज
13 Shares
  • निनाम लोवात्ती

 नेपालका प्रायः सबै ट्रेकिङ रुटहरू उच्च र उच्च मध्यम खालका ‘एडभेन्चर’ रुट नै हुन्। जस्तोकी माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, कञ्चनजंघाको सेलेले पास, शेर्पेनी कोल, आमा लाप्चा पास, गोक्यो पास, टाशी लाप्चा पास, थोरोङ पास, नार-फु पास, गोसाईंकुण्ड पास, गाञ्जाला पास, गोक्यो री, नुमाला बगाला पास, शे पास आदि रहेका छन्।

यो लेखमा चाहिँ विशेष गरेर नेपालको हिमालय क्षेत्रमा पश्चिम-पूर्व वा पूर्व-पश्चिम भएर फैलिएको र लगभग तीन महिना लाग्ने ‘ग्रेट हिमालय ट्रेल’का बारेमा केही लेख्दै छु। यो रुटको नेपाल खण्डको बारेमा मात्रै चर्चा गरिने छ। किनभने यो रुट पश्चिमको अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल भुटान हुँदै बर्मासम्म फैलिएको छ। त्यति लामो रुटमा धेरै कम पदयात्रीहरूले मात्रै पदयात्रा गरेका छन्। नेपाल खण्डको चाहिँ केही बढी पदयात्रीहरूले पदयात्रा गरेका छन्। त्यसरी नेपाल खण्डको पनि ‘ग्रेट हिमालय ट्रेल’को रुटमा हालसम्म धेरै कम पदयात्रीले मात्रै पूरा यात्रा गरेका छन्।

नेपालका धेरै कम तर, एकदमै उचाइको बाटो भएर (शेर्पेनी कोल ६,१४६ मिटर) पदयात्रा गरिने पदमार्ग ‘ग्रेट हिमालय ट्रेल’ (जिएचटी) बारे सकेसम्म सबै पदयात्रीको पहुँचमा पुर्‍याउन सकियोस् भन्ने आशय यो लेखकको रहेको छ। खासमा त्यही भएर नै पनि यो पदयात्रा मार्गलाई ‘लोवर/लोअर’ र ‘हाई/हाईर’ अर्थात् तल्लो र माथिल्लो गरी दुई मार्गमा छुट्ट्याइएको छ। जसले गर्दा ‘हाई/हाईर’ पदयात्रा मार्ग भएर पदयात्रा गर्न नसक्ने पदयात्रीहरूले यो रुटको ‘लोवर/लोअर’ पदयात्रा मार्ग भए भए पनि पदयात्रा गर्न सकुन्। साथै समय अभावका कारण लामो यात्रा वा भनौं पूरा यात्रा गर्न नसक्ने वा नचाहने पदयात्रीहरूका लागि विभिन्न उपमार्ग (१० वटा) मा पनि विभाजन गरिएको छ।

जसले गर्दा आफ्नो व्यस्त जीवनमा समय अभाव हुने तर, आफ्नो जीवनमा विश्वकै उच्च हिमाली क्षेत्रमा गरिने दुर्लभ ‘ग्रेट हिमालय ट्रेल’को रुटमा ट्रेकिङ गरेर मज्जा लिन र फरक अनुभव, अनुभूति गर्न चाहने पदयात्रीहरूलाई लक्षित गरेर नै खण्ड-खण्ड र ‘लोवर’ तथा ‘हाई’ गरेर छुट्ट्याइएको छ, ‘ग्रेट हिमालय ट्रेल’लाई । हुन पनि लगातार रुपमा पुरै रुटमा ट्रेक गर्ने हो भने, कम्तिमा १५० दिनसम्म लाग्छ। त्यसैले पदयात्रीहरूले पूर्वी भेग मात्रै, मध्य भेग मात्रै, पश्चिम भेग मात्रै पनि ट्रेक गर्न सकुन् भनेरै खण्ड-खण्ड र छोटो-छोटो पदयात्रा मार्ग पनि बनाइएको हो।

सुखद कुरो के भने, धेरै वर्षपछि यो वर्षको आर्थिक वर्ष (२०७९/०८०) मा वर्तमान संयुक्त सरकारका अर्थमन्त्री जनार्दन शर्माले माथि उल्लेखित ‘ग्रेट हिमालय ट्रेल’को विकास र विस्तारका लागि ३३ करोड बजेट छुट्ट्याएको छ। १७ सय किलो मिटर लामो ‘ग्रेट हिमालय ट्रेल’को रुटमा ट्रेकिङ गर्न १५० दिनसम्म लाग्छ। अझ यो त नेपालभित्रको रुटमा मात्रै लाग्ने दिन र लम्बाई हो। पश्चिम अफगानिस्तान, पाकिस्तान, नेपाल, भुटान, चीनको तिब्बत प्रान्तको दक्षिण पूर्वी भाग र भारतको आसाम राज्यका सीमामा रहेको नाम्चा/नाम्चे-बार्वासम्मै हिँडेरै ट्रेक गर्ने हो भने, त ४,५०० किलो मिटर लामो यात्रा तय गर्नुपर्ने हुन्छ।

भविष्यमा यस्तो ट्रेकिङ सञ्चालन गर्ने कार्यका लागि सम्बन्धित निकाय अथवा भनौं सरोकारवाला संघ-संस्था र व्यक्तिहरूले सोच बनाउँदै होलान् नै। किनभने, यसो हुन सकेमा ग्रेट हिमालय ट्रेल विश्वकै लामो पदयात्रा मार्ग, उच्च हिमाली भेगमा गरिने पदयात्रा मार्गका साथै धेरै वटा उच्च हिमाली पास गरेर गरिने (४,००० मिटरभन्दा धेरै उचाइ काटेर गरिने) ट्रेकिङ रुटका रुपमा पनि विश्वमा स्थापित हुने छ। त्यसैले ग्रेट हिमाल ट्रेल (जिएचटी) को सुरु विन्दु पश्चिम भागको अफगानिस्तान, पाकिस्तान मध्य भागको नेपाल, भुटान, चीनको तिब्बत प्रान्तको दक्षिण पूर्वी भाग र भारतको आसाम राज्यका सीमामा रहेको नाम्चा/नाम्चे-बार्वासम्मै हिँडेर गरिने ट्रेकिङ रुटको रुपमा विकास गर्न सके धेरै राम्रो हुन्छ।

हामीले यसो भनी रहँदा आजको जस्तो मेसिनभन्दा छिटो जीवन चलाउनुपर्ने जमानामा कसले पो एकै पटक त्यतिका धेरै दिन (लामो समय) निकाल्न सक्ला र ? किनभने, नेपाल खण्डको ग्रेट हिमाल ट्रेलको ट्रक गर्नका लागि मात्रै लगभग तीन महिना समय चाहिन्छ। त्यो पनि ग्रेट हिमाल ट्रेलको हाई रुट मात्रै भएर ट्रेक गर्ने हो भने त ट्रेक गर्ने व्यक्तिले अप्रिल, मे, जुन, जुलाई, अगस्ट, सेप्टेम्बर महिना नै छुट्ट्याउनुपर्ने हुन्छ। अन्यथा अत्यधिक चिसो मौसमका कारण हिउँ परेर बाटा समेत ब्लक हुने हुनाले ‘ग्रेट हिमालय ट्रेल’को हाई रुटमा ट्रेक गर्न सकिने सम्भावना नै रहँदैन।

अहिलेको व्यस्त समयमा कम्तिमा एक डेढ महिनादेखि छ, सात महिना लामो समय निकाल्न कसले सक्ला ? यो वास्तवमै व्यवहारिक प्रश्न हो। तर, कुनै पनि पदयात्रीले आफ्नो जीवनभरिमा पटक पटक गरेर ‘ग्रेट हिमालय ट्रेल’को खण्ड-खण्डमा छ-छ महिनामा वा वर्ष-वर्षमा अथवा डेढ-दुई वर्षमा एक-एक पटक ट्रेकिङ गरेर ‘ग्रेट हिमालय ट्रेल’को भ्रमण गरेर मज्जा लिन सक्छन्। त्यसैले यो रुटमा ट्रेक गर्न चाहने पदयात्रीलाई सम्बन्धित देशका ‘ट्रेक अर्गनाइजर कम्पनी’ले सोहीअनुसारको प्याकेज बनाएर बेच्ने र प्रचार प्रसार गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्