दाङको सुनौलो भविष्य निर्माणका लागि गठबन्धनलाई विजयी गराउन आवश्यक : कृष्णबहादुर महरा

लोकपाटी न्यूज
6 Shares

दाङ। नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा यस पटको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबैतर्फबाट उम्मेदवार बनेनन्। आँफू लामो समय सम्म संसदीय तथा राजकीय भूमिका रहेर काम गरेकाले यस पटक नयाँ तथा युवाहरुलाई अवसर दिनका लागि उम्मेदवारी नदिएको उनको भनाई छ। आगामी मंसिर ४ गते हुन थालेको निर्वाचन, गठबन्धनको अवस्था, दाङको चुनावी माहोल लगायतका विषयमा केन्द्रित रहेर पत्रकार पाण्डव शर्माले महरासँग गरेको कुराकानिको सार:

यसपटकको निर्वाचनमा तपाई चुनाव लड्ने चर्चा थियो । तर, अन्तिममा आएर किन चुनाव नलड्ने घोषणा गर्नुभयो ?

मैले यस पटको निर्वाचनमा नयाँ तथा युवा साथिहरुलाई अगाडी लैजानुपर्छ भन्ने मान्यता राखेको छु । मैले अहिलेसम्म झण्डै १८ वर्षसम्म पाँच पटक संसदीय निर्वाचनमा चुनाव लडिसकेको छु । सबै निर्वाचनमा मैले विजय हासिल पनि गरेको छु । २०४८ सालमा नै म निर्वाचन लडेर जितेको मान्छे हुँ। म सधै निर्वाचन लड्नुपर्छ भन्ने सोँच राख्दिन । अरु साथिहरुलाई पनि अवसर दिनुपर्छ भनेर म निर्वाचन नलडेको हुँ।

अहिलेको व्यवस्था संसदीय व्यवस्था नै हो । तपाई यो निर्वाचन प्रकृयामा नै सहभागि हुनुभएन । अबको तपाईको राजनीतिक यात्रा के हो ?

म संसदीय निर्वाचनमा मात्रै सहभागि नभएको हो । १८ वर्षको मेरो संसदीय अनुभव, राजकीय अनुभव भयो । म संसद् बाहिर रहेर पनि त्यो अनुभवको आधारमा राजनीति र समाजको सेवा गर्छु । संसद्मा निर्वाचन नलड्नु भनेको राजनीतिबाट बाहिर आउनु भन्ने कुरा पटक्कै होइन । मैले मुलुको समृद्धि र विकासका लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग हस्तक्षपकारी भूमिका निर्वाह गरेर जनताको निरन्तर सेवा गर्ने छु । अहिले मेरा धेरै साथिहरु निर्वाचनमा लड्नुभएको छ । उहाँहरुलाई मैले मेरो अनुभव शेयर गर्छु । उहाँहरुलाई साथ र सहयोग गर्छु ।

तपाई यसभन्दा अगाडी दाङ निर्वाचन क्षेत्र नं २ को जनप्रतिनिधि पनि हो । अहिले यहाँको चुनावी माहोललाई कसरी हेरिरहनुभएको छ ?

पहिलो कुरा म अहिले पनि जनताको प्रतिनिधि नै हो । चुनाव नलड्दा वित्तिकै प्रतिनिधि नहुने भन्ने कुरा होइन । म जनताको सेवामा निरन्तर लागिरहन्छु । जनताको सेवामा लाग्दा सम्म म जनताको प्रतिनिधि नै हो । दाङमा मात्रै होयन । देशव्यापीरुपमा गठबन्धन बलियोसँग अघि बढिरहेको छ । दाङका पनि प्रतिनिधिसभा तर्फका तीन ओटा र प्रदेशसभा तर्फका पाँच ओटा गरेर नौ ओटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारहरु एमालेका उम्मेदवार भन्दा अगाडी रहेका छन् । दाङका नौ ओटै सिटमा गठबन्धनका उम्मेदवारले विजय हासिल गर्छन् भन्ने मेरो विश्वास रहेको छ ।

तपाई दाङ निर्वाचन क्षेत्र नं २ मा उम्मेदवार नभएपछि एमाले महासचिव शंकर पोख्रेल एकल ‘हेवी वेइट’का नेता भए भनेर चर्चा गर्ने गरिन्छ । यसले निर्वाचनमा कत्तिको प्रभाव पार्ला ?

निर्वाचनमा हेवी वेइट र न हेवी वेइट भन्ने नै हुँदैन । यदी त्यसो हो भने त निर्वाचन नै नगरे भैगो नि । नेपालकै इतिहासमा पार्टीका शीर्ष नेताहरुले चुनाव हारेको इतिहास छ । अर्को कुरा रेखा शर्मा आँफैमा पनि हेवी वेइट नेता हो । उहाँ एक पटक मन्त्री भइसकेको मान्छे । दलको सचेतक भइसकेको मान्छे । पार्टीको स्थायी समिति सदस्य । हिजो लामो समय संघर्षको मैदानबाट स्थापित भएको लिडर हो । उहाँको राष्ट्रिय अन्तराष्ट्रिय पहिचान निर्माण भइसकेको छ । अर्को कुरा रेखा शर्माले जित्ने भनेको व्यक्तिले मात्र जित्ने होइन । लोकतन्त्र, संविधान र यो व्यवस्थाले जित्ने हो । एमालेले संविधान नै मास्न खोजेको थियो । त्यसलाई अहिलेको वर्तमान गठबन्धनले रोकेको हो । रेखाजीको विजय भनेको स्थिरता, समृद्धि, विकास र मुलुकमा लामो बलिदान पछि प्राप्त उपलब्धिको रक्षा हुनु पनि हो । यो लडाई रेखा शर्माको व्यक्तिगत नभएर अग्रगमन र प्रतिगमनको लडाई हो । उहाँले चुनाव जित्नु भनेको अग्रगमनले जित्नु हो भने उहाँले हार्नु भनेको प्रतिगमनले जित्नु हो। एमालेले दुई पटक प्रतिनिधिसभाको विघटन ग¥यो । अहिले पनि उसले राजावादी शक्तिहरुसँग गठबन्धन गरिरहेको छ । जनताले प्रतिगतमन होइन अग्रगमन चाहेका छन् । त्यसैले यसपटक एमाले नेतृत्वको गठबन्धनको उम्मेदवार निकै फितलो भएको छ ।

तपाई माओवादी केन्द्रको तेस्रो बरियता क्रमको नेता हुनुहुन्छ। तपाई नै निर्वाचनका लागि दाङमा आउनुभएको छ । यहाँको चुनावी माहोल कस्तो पाउनुभएको छ ?

दाङमा गठबन्धनका उम्मेदवारहरु निकै अघि भएको पाएको छु। केही दिन पहिले म रोल्पा पनि गएको थिए । रोल्पामा पनि गठबन्धनका उम्मेदवारहरु एमालेका उम्मेदवार भन्दा निकै अघि भएको मैले पाए । दाङ निर्वाचन क्षेत्र नं २ मा रेखा शर्मा, २ (१) मा राजु खनाल, २ (२) मा प्रचण्डविक्रम न्यौपाने एमालेका उम्मेदवार भन्दा धेरै अगाडी हुनुहुन्छ । निर्वाचन क्षेत्र नं १ र ३ मा पनि प्रतिनिधिसभा तथा प्रदेशसभामा गठबन्धनकै उम्मेदवारहरु अगाडी भएको मैले पाएको छु । प्रचारप्रासर पनि गठबन्धनका उम्मेदवाहरुको निकै राम्रो भएको पाएको छु । उहाँहरुको जित सुनिश्चित जस्तै भएको छ ।

यस क्षेत्रका आम मतदाताले रेखा शर्मालाई नै मतदान गर्नुपर्ने कारण के छ ?

रेखा शर्मा सक्षम महिला लिडर हो । संसद्मा सभामुख र उपसभामुख नहुँदा बैठको अध्यक्षता गर्ने अवसर पाउनुभएको छ । एक ढंगले भन्ने हो भने उहाँले सभामुख हुने हैसियत निर्माण गरिसक्नुभएको छ । यो हिसाबले रेखा शर्मामामा कुनै कमी देखिदैन । अर्को कुरा म र रेखा शर्मामा कुनै अन्तर छैन । म हुनु नै रेखा शर्मा हुनु हो । रेखा शर्मा हुनु नै म हुनु हो भन्ने कुरालाई आम मतदाताले बुझिदिनुपर्छ । रेखा शर्मालाई मेरो पुरै साथ र समर्थन रहेको छ । यस अघि म सभामुख हुँदा यो निर्वाचन क्षेत्र हेर्ने जिम्मा उहाँले पाउनुभएको थियो । उहाँ यस क्षेत्रको समानुपातिक सांसद् यस अघि पनि भइसक्नुभएको हो । उहाँले दाङको समग्र विकासका लागि निकै योगदान गर्नुभउको छ । यहाँको विकास निर्माणमा होस् या राजकीय भूमिका निर्वाह गर्ने सवालमा । रेखा शर्मा निकै सक्षम र सवल नेतृ हो । उहाँको क्षमतालाई हेरेर नै पार्टीले गठबन्धनबाट उम्मेदवार गराउने निर्णय गरेको हो ।

अहिले कतिपयले गठबन्धनमा इमान्दारिता हुँदैन भनेर भनिरहेका छन् । कतिपयले स्थानीय तह जस्तो अहिले हुँदैन । गठबन्धनमा सुमुधुर सम्बन्ध आएको छ पनि भन्छन् । खासमा यहाँको गठबन्धको अवस्था कस्तो छ ?

तपाईले भनेको दोस्रो कुरा सहि हो । स्थानीय तहको निर्वाचनमा गठबन्धका दलहरुमा सोचे जस्तो एकताबद्ध देखिएन। अर्को कुरा १० हजार भन्दा बढी मत बदर भएको छ। गठबन्धका मेयरका उम्मेदवारले पाँच हजारको हारहारिमा हार व्यहोर्नुपरको छ। यसपटक मत बदर निकै कम हुन्छ। अर्को कुरा अहिले गठबन्धनमा सम्बद्ध दलहरुबीच सम्बन्ध सुमधुर भएको पाइन्छ । अहिले गठबन्धमा आबद्ध दलहरुको भित्रिरुपमै एकता भएको पाएको छु। सबैको उद्देश्य प्रतिगमनलाई कसरी परास्त गर्ने भन्ने नै छ । त्यसैले अहिले गठबन्धका उम्मेदवारहरुले सहजै विजय हासिल गर्ने देखिन्छ।

र, अन्त्यमा आम दाङबासी मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?

म आम दङ्गाली दाजुभाई तथा दिदीबहिनीहरुलाई दाङको समृद्धि, विकास र दाङको सुनौलो भविष्य निर्माणका लागि गठबन्धका उम्मेदवारहरुलाई नै विजयी गराउन आवश्यक रहेको छ। गठबन्धन संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपक्षता र अन्य प्राप्त उपलब्धिको रक्षाका लागि बनेको हो। गठबन्धनको मुल उद्देश्य नै प्रतिगमनलाई रोकेर मुलुकलाई समृद्ध बनाउने भन्ने नै हो। त्यसैले आम दाङबासी आमावुवा, दाजुभाई तथा दिदीबहिनीहरुलाई गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरेर विजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्