चितवन। चितवन निर्वाचन क्षेत्र नम्बर -३ अन्तर्गत वाम-लोकतान्त्रिक गठबन्धनको घोषणापत्र सार्वजनिक गरिएको छ। बुधवार भरतपुरको वरपीपल पार्टी प्यालेसमा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. भोजराज अधिकारी, प्रदेश सभा निर्वाचन क्षेत्र नं-३ (क) का सूर्यकान्त घिमिरे र ३ (ख) का उम्मेदवार ठाकुरप्रसाद ढकालले घोषणापत्र सार्वजनिक गरेका हुन्।
सार्वजनिक घोषणापत्रमा चितवनको विकास र समृद्धिलाई संस्थागत गर्ने गरी कार्यक्रम समावेश गरिएको गठबन्धनका नेताहरूले बताएका छन्।घोषणापत्रमा ठोरी-केरूङ्ग राजमार्ग विस्तार सम्पन्न गरिने, मेघौंली विमानस्थल स्तरोन्नति गरी सञ्चालनमा ल्याउने, भरतपुर र माडीका पुराना बाटो कालोपत्रे गरिने, नारायणी, राप्ती र रेवा नदी कटान क्षेत्रमा तटबन्ध सहितको सडक सञ्जाल र पर्यटकीय क्षेत्रको विकास गरेर एकमा तीन विकास नीति लिइने, भरतपुरमा बाह्य चक्रपथ निर्माण सम्पन्न गरिने, नारायणी र राप्ती नदी कटान नियन्त्रण गर्न तटबन्ध गरिने, घोसरघाट नारायणी नदी पुल निर्माण गरिने, रामपुर कृषि विश्वविद्यालयको सामर्थ्य विकास गरी विदेशी विद्यार्थी आकर्षण गर्ने नीति निर्माण गर्ने, चितवनलाई प्रमुख शैक्षिक तथा मेडिकल हब बनाउने, प्रादेशिक पब्लिक विश्वविद्यालय स्थापना गर्न पहल गर्ने, आधुनिक पुस्तकालय र अनुसन्धान केन्द्र स्थापना गरिने, एक वडा एक नमुना विद्यालय बनाउन नीति बनाउने, माडीमा रहेको दिवाकर प्राविधिक शिक्षालयलाई प्रादेशिक स्तरको महाविद्यालय बनाउने, भरतपुर अस्पताललाई केन्द्रीय शिक्षण र बिपी कोइराला क्यान्सर अस्पताललाई क्यान्सर एकेडेमी बनाउने, मेडिकल विश्वविद्यालय स्थापना गर्न मेडिकल बोर्ड गठन गरिने, २८ वटै वडामा नागरिकको घरदैलोमा मोबाइल अस्पताल सेवा सञ्चालन गरिने उल्लेख गरिएको छ।
आवश्यक वडामा १५ बेडको सुविधा सम्पन्न, माडीको बघौडामा प्रादेशिक र मेघौलीमा ५० शैयाको सिटी अस्पताल बनाउने, स्वास्थ्य सेवामा सूचना प्रविधिबाट सेवा लिन टेलि मेडिसिन सेवा सुरु गरिने, ५ वर्षभित्र सम्पूर्ण नागरिकको स्वास्थ्य बिमा गरिने, स्वास्थ्य सेवालाई समतामूलक बनाउने योजना २८ वटै वडामा २८ पर्यटकीय गन्तव्य पूर्वाधार र विकास गरिने, मेघौली- शुक्रनगर-जगपुर, बघौडा-वसन्तपुर हुँदै शिव द्वारसम्मको सांस्कृतिक होम स्टे परिपथ निर्माण गरिने, एक सामुदायिक वन एक पर्यटकीय उद्योग अवधारणा कार्यान्वयन गरिने, देवघाट- विक्रम बाबा-पाँच पाण्डव हुँदै सोमेश्वरगढीसम्मको धार्मिक परिपथ कार्यान्वयन गरिने, माडी क्षेत्र समेटिएको ७ गन्तव्य प्रर्वद्वन गरिने, सिटी हल, प्रदर्शनी केन्द्र, गौतमबुद्व क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गरी उपयोग गरिने, उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषिमा व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकीकरण विशेष जोड दिइने, साना किसानलाई अनुदानको व्यवस्था गर्न पहल गरिने जनाइएको छ।
यस चितवन निर्वाचन क्षेत्र ३ का कम्तीमा शैक्षिक प्रतिष्ठानमा कमाउँदै पढ्दै कार्यक्रम सुरु गरिने, एक वडा एक उद्यमशीलता कार्यक्रममार्फत युवाहरूलाई स्वरोजगार सिर्जना गरिनेछ, भूमिविहीनहरूलाई प्राथमिकताका साथ हाल बसोबास गरेकै क्षेत्रमा जमिन धनी पुर्जा प्रदान गरी सुकुम्वासी समस्याको स्थायी समाधान गरिने गठबन्धनले जनाएको छ। ६ वर्ष मुनिका बालबालिकाहरूका लागि शारीरिक र बौद्धिक विकासका लागि प्रत्येक वडामा बाल विकास केन्द्र र युवालाई खेलकुद मैदान र ज्येष्ठ नागरिकका लागि एकीकृत ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिने र कम्तीमा ३ स्थानमा बाल उद्यान निर्माण गरिने छ। २ वटा सुविधा सम्पन्न रङ्गशाला, २ ठाउँमा व्यवस्थित कवर्ड हल र स्पोर्टस् प्राविधिक शिक्षालय निर्माण गरिने योजना छ।
ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्न पहल लिइने, सेवा सुविधा घरदैलोमा दिने नीति लिइने, भरतपुर २३ र १९ मा निर्माणाधीन बृद्वाआश्रम सम्पन्न गरिने, २८ वटै वडामा रहेका आमा समूहलाई सशक्तीकरण गर्न विशेष सुविधा उपलब्ध गराउने, सुत्केरी भत्ता दोब्बर बनाउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। दलित समुदायको हितका लागि सांस्कृतिक अन्तर घुलन अभियान सञ्चालन गरिने, एक वडा एक बहुउद्देश्यीय दलित भवन निर्माणका लागि तहगत सरकारसँग समन्वय गरिने उल्लेख छ। दलित, आदिवासी एवं सीमान्तकृत समुदायका युवाहरूलाई रोजगारीमा नीतिगत पहल लिने, फरक क्षमता भएका व्यक्तिहरूलाई रोजगारी दिने र व्यवसायीहरूलाई विशेष सम्मान र प्रोत्साहनको कार्यक्रम ल्याउने घोषणापत्रमा उल्लेख छ।
सहिद परिवार, आन्दोलनका घाइते, बेपत्ता योद्धाका छोराछोरीहरूलाई स्वास्थ्य, शिक्षा, रोजगार र यातायातका क्षेत्रमा थप सहुलियतसहित अग्राधिकारको व्यवस्था गरिने, पूर्वसैनिक, प्रहरीलाई योगदानको कदर गर्दै राज्य निर्माणमा सदुपयोग गरिने, वन तथा वातावरण सन्तुलित जीवनको नारा अनुसार भान्सा नै पहिलो अस्पतालका रूपमा अभियान सञ्चालन गरिने, नदिले कटान गरेका नीजि जमिनको मुआब्जाका लागि पहल गरिने, स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै मेड ईन भरतपुर र माडीको ब्रान्ड कार्यक्रम सुरु गरिने, कम्तीमा २ ठाउँमा औद्योगिक क्षेत्र विस्तार गरिने, ठोरी नाकालाई नियमित पारवहनका विकास गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।
सबै सरकारी सेवा प्रदायक निकायहरूलाई सूचना र प्रविधिमैत्री र स्कुल, अस्पताल र टोल टोलमा इन्टरनेट नि:शुल्क गराउने, श्रमजीवी मिडियाकर्मीका लागि नि:शुल्क जीवन बिमा र स्थानीय सञ्चारमाध्यमलाई विशेष सुविधा प्रदान गर्न पहल गरिने, दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै काली गण्डकी कोरिडोर देवघाट (हरिहर क्षेत्र) तथा गोसाईंकुण्डबाट त्रिशूली हुँदै (हरिहर) त्रिवेणीधामसम्मको हरिहर सर्किटको अध्ययन र विकास गरिने साथै सबै तहका सरकारलाई अध्ययनमा आधारित नीति, योजना र कार्यक्रम बनाउन नीतिगत सुधार गरिने गठबन्धनको घोषणापत्रमा समावेश गरिएको छ।
अपिल तथा प्रतिवद्धता पत्रको पूर्णपाठ :