सन्दीपको मुद्दामा बहस सकियो, केहीबेरमै आदेश आउने

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको बहस सकिएको छ।काठमाडौं जिल्ला अदालतमा शुक्रबार सरकारी वकिलले जवाफी बहस गरेका हुन्। जवाफी बहस सकिएसँगै अब केहीबेरमै आदेश आउने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट मात्रै ८ जना वकिलहरूले बहस गरेका थिए। चार जना वरिष्ठ अधिवक्ता र चार जना अधिवक्ताले बहस गरेका थिए। सन्दीपको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सबिता भण्डारी बराल र रमणकुमार श्रेष्ठ छन्। अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रवीण सुवेदी र अनुराग सुवेदीले पनि बहस गरेका थिए।

पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका थिए। चार जना सरकारी वकिल र तीन जना अन्य वकिलहरूले बहस गरेका थिए।सरकारी वकिलहरू लक्ष्मण उपाध्याय घिमिरे, कृष्णा भण्डारी, सुरूबहादुर परियार र महेश खत्रीले बहस गरे।

पीडितको पक्षबाट वरिष्ठ अधिवक्ता शशि अधिकारी, अधिवक्ता सुनिता रेग्मी र शान्ति काफ्लेले बहस गरेका थिए। त्यसपछि अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले सन्दीपको पक्षमा बहस गरेका थिए।

सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो। प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो।

कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दायर भएको थियो। उक्त मुद्दामा मंगलबारबाट बयान शुरु भएको थियो।हरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको छ।

गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर सन्दीपले १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ। पीडितको पक्षबाट भदौ २१ गते गौशाला प्रहरीमा उजुरी परेको थियो। उजुरी पर्दा सन्दीप क्यारेबियन लिग खेल्न वेष्टइन्डिजमा थिए। उतैबाट अमेरिका पुगेका उनी २० असोजमा नेपाल फर्किएका थिए । सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्