‘प्रचण्ड भर्सेस प्रतिगमन’

prachanda
लोकपाटी न्यूज
23 Shares

-दिल निशानी मगर

काठमाडौं। मलेखुको माछाको झोलसंग तातो भात खाएर प्रचण्ड गोर्खा तिर लम्किए पछि केही षड्यन्त्रकारीहरुलाई झाडापखला लागेको छ। प्रचण्डलाई हेगको अदालतमा लगेर झुण्डाउने छदमभेषी प्रयास गोलखाडी भएपछि तिनीहरु रनाहामा त परेकै थिए, झन त्यसमाथि टाउकोको मूल्य जस्ले तोक्यो उसैलाई प्रतिगमनको बिरुद्दमा खटाएको देख्दा मण्डलेहरुको मुटुमा ढ्यांग्रो बजिरहेको छ। प्रचण्ड गोर्खा किन गएको ? भन्ने तिनीहरुको प्रश्न छ। मानौ की गोर्खा जिल्लाको लालपुर्जा तिनीहरुले सिरानी मुनी च्यापेर सुतेका छन्। त्यस्ता चेतना शून्य दालभातका थुप्रोहरुले कास्कीमा जन्मिएका प्रचण्ड रोल्पा रुकुम किन गएको ? भन्ने प्रश्न पनि सोध्न सक्छन्। प्रजातन्त्रको निम्ती विपी कोइराला भारतमा निर्वासन गएका थिए। गणतन्त्र रक्षाका निम्ती प्रचण्ड गोर्खा जानु के ठुलो कुरा भयो र ? कांग्रेस सभापती शेर बहादुर देउवा माओवादीसंग मिलेको देखेर धेरैलाई हनहनी ज्वरो आएको छ। तर हिजो देउवा राजासंग पनि मिलेका थिए। राजासंग मिल्दा असक्षम भनेर अपमानपूर्वक गलहत्ताएर धपाईएका देउवा यतिखेर प्रचण्डसंग मिल्दा सम्मानपूर्वक प्रधानमन्त्रीको कुर्चीमा बसिररेका छन्।

केपी ओली पनि प्रचण्डसंग नमिलेको भए यिनको फोटो बालुवाटारको भित्तामा कहिल्यै झुण्डिने थिएन। प्रचण्ड भनेको आलु हो। जो संग पनि मिल्न सक्ने। केपी ओली फाटेको दुध हो। त्यस्तो दुधको न चिया बन्छ न कफी। खिर बनाउन पनि मिल्दैन। सबैलाई मिलाएर लैजान सक्ने प्रचण्ड जादुगर पनि हो। हुन त आफैले विघटन गरेको संसद प्रचण्डले जोगाई दिए पछि त्यही संसदको रोष्टममा गएर तीन घण्टा भाषण गर्ने केपी ओली पनि एक प्रकारको जादुगर बराबर नै हो। तर दुखको कुरा त्यस्तो मान्छेलाई जादुगर नभई चाटुकार भन्दा रहेछन्। यी चाटुकारले फेरि पनि बालुवाटार छिर्ने मिठो सपना देखेका छन्। हरेक भाषणमा प्रचण्ड र आफ्ना आलोचकहरुको अपमान गरेपछि जनताले आफूलाई पुरुस्कार स्वरुप प्रधानमन्त्रीको पद दिन सक्छन् भन्ने यिनलाई लागेको छ। बरु ल्हासा गएका मदन घर फर्किन सम्भव होला तर केपी ओली प्रधानमन्त्री बन्न सक्दैनन्। दुई/दुई पटक संसदको निर्मम हत्या गरेको चरम खुशीयालीमा माईतीघर मण्डलामा दिप प्रज्वलन गर्न लगाउने मण्डले चेतका यी मनुष्य प्रधानमन्त्री त धेरै परको कुरा ? वडा अध्यक्ष पनि बन्न लायक छैनन्। यो देशलाई २५० वर्ष सम्म राजतन्त्रले लुटपाट गरेको नदेख्ने तर २० वर्ष नपुगेको गणतन्त्रले एउटा ज्याकेट लगाएको पनि दुरबिन लगाएर देख्नेहरुले यो चुनावको भेलमा कतै प्रचण्डलाई बगाउन सकिन्छ की भनेर दाउ हेरेर बसेका छन्। र प्रचण्डलाई अग्रिम हारको शुभकामना दिइरहेका छन्। जतिखेर प्रचण्ड संविधानको रक्षाका खातिर “हामी यहां छौ” भनेर चिसो भूईमा पलेटी कसेर बसिरहेका थिए, त्यतिखेर यी नालायक दक्षिणपन्थीहरु कोठामा तातो हिटर चलाएर, काखमा German Shepherd खेलाएर बसिरहेका थिए। यस्ता पातकीहरुको शुभकामना पनि लाग्छ र?

तिनीहरु फुजेल काण्डका अधिकारीको मात्रै पिर गर्छन्, र प्रचण्डलाई त्यही पासोमा पार्न चाहन्छन्। तर त्यही माटोमा बगेको स्कुले बच्चा दिल बहादुर रम्तेलको रगत देख्दैनन्। रम्तेलको के दोष थियो ? तर यो विभेदकारी मानव अधिकारवादीको मुटुमा एउटा दलित बच्चाको शहादतमा कुनै भावुकता जन्मिदैन। भावुक कथा, कविताको रचना हुँदैन। के आफ्नो जस्तै थर, गोत्र, वंश नमिलेका कारण गोर्खाले न्याय दिनु नपर्ने हो ? पक्कै पनि प्रथम शहिदको भूमिले न्याय पाउनेछ, न्याय दिनेछ।बुलेटबाट उदाएका प्रचण्ड ब्यालेटको मैदानमा छन्। प्रचण्डले जानाजान हार र जितको बाटो रोजेका हुन्। कसैले कठैबरा भन्नु नै पर्दैन। मंसिर चारमा सचेत जनताले फैसला गर्ने नै छन्। तर पाटनमा मुस्किलले एक हजार भोट कटाउन सक्ने हुती नभएका एकजना नाफाको शुक्रकिटले “प्रचण्ड हारेमा मात्रै नेपालको जित हुने” दिव्य उपदेश जारी गरेछन्। वैश्य युगका नक्कली पृथ्वी नारायण शाहरुलाई तिनको त्यो पाखण्डी उवाच प्रलय मन परेको छ। तर यस्ता घिन लाग्दो श्राप दिने पण्डितहरु भिम मल्लकै श्रीमती नै बनेर महाश्राप दिए पनि प्रचण्डको रौं झर्दैन।

ज्ञानेन्द्र र तिनका भारदार, सरदारहरुले झार्न नसकेको प्रचण्डको रौं एकबारको जुनीमा कफी खान कै लागि मात्रै बांचेका अनाडीहरुले झार्न सक्ने कुरै भएन। तर बेलाबेलामा ट्वारट्वार आवाजसहित प्रकट हुने त्यसप्रकारका भ्यागुताहरुले बुझ्न जरुरी छ, धन दौलतको भरमा अपसेट प्रेस चलाएर वुद्धिजीवि कहलिने जमना सकियो। बरु आफ्ना चाकडीबाज पिता पुर्खाहरुले हुकुमी प्रमागंतबाट जोरजाम गरेको जग्गा जमिन यथासिध्र दान नगरे काल गतिले मरेपनी स्वर्ग नपुग्ने खतरा हुन्छ। यिनीहरुले मनमनै ठान्दा हुन्- यो हिमाल जो छ त्यो मेरै बाउ बाजेले आर्जिएका हुन्। लालीगुरांस जंगलमा जो फूलिरहेको छ, त्यो पनि मेरै बाउ बाजेले फुलाएका हुन्। जो डांफे नांचिरहेको छ, त्यो नांच्नुमा मेरै बाउ बाजेको हात छ, कलकल बगिरहेको कालीगण्डकी मेरै बाउबाजेको कृपाले बगेको हो। अनि त्यो गोर्खा जिल्ला पनि हाम्रै विर्ता हो। हाम्रो पिता पुर्खाले गोर्खा जिल्लाको उत्पत्ति गराएका थिए। तर तिनीहरुले बुझ्नु पर्छ की, पृथ्वी नारायण शाहको पिता नरभूपाल शाह जन्मिनु भन्दा अगाडि पनि गोर्खामा मानिसहरु बस्दथे।

सबैकुरा आफ्नो ठान्ने यो हद सम्मको अधर्मी, पापी सोच भएका लठुवाहरु प्रचण्डले हारेमा बोका काटेर मासु खाने योजना बनाई रहेका छन्। किनकी तिनीहरुलाई थाहा छ, प्रचण्डले जित्नु भनेको जनताले जित्नु हो। उत्पिडित वर्ग समुदायले जित्नु हो। तर, प्रचण्डलाई हारोस् भन्नेहरुलाई जनताको उपमा दिनु मिल्दैन। किनकी तिनीहरु त महाराजाको नोक्कर, चाक्कर मात्रै हुन्। खच्चडले भारी बोक्न नपाउदा कराए जस्तै तिनीहरु महाराजाको ल्याईते सुत्केरीलाई तोरीको तेल धस्न नपाउदा रोई कराई गरिरहेका छन्।

दुनियांले बुझेको कुरा, प्रचण्डको टक्कर प्रतिगमनसंग परेको छ। प्रचण्डको टक्कर जनताको संविधान मास्न खोस्ने भाष्मासुरहरुसंग परेको छ। तर यिनीहरु प्रचण्डको टक्कर आफूसंग नै परे जस्तो अगाडि, अगाडि च्यांखे दाउ खोज्न आईपुग्छन्। प्रचण्ड सिरुपाते पत्रिकाले बनाएको नाम हैन, प्रचण्ड जनताले बनाएको नाम हो। एउटा गतिलो लेख्ने ढंग समेत नभएका यस्ता जालीझेली, कपटी, गतिछाडाहरुको इतिहास अशनका गल्ली गल्लीहरुमा, गंगबुको चोक चोकहरुमा फालाफाल भेटिनेछन्। तर, प्रचण्ड जस्तो उत्पिडित वर्गको दुर्लभ मुक्तिदाता सयौं शताब्दीको बिचमा पनि भेटिन गारो हुन्छ।

लाज त्यतिखेर लाग्छ जतिखेर कहिल्यै प्रचण्डलाई एक भोट नदिनेहरुले प्रचण्डलाई हारको शुभकामना दिइरहेका छन्। जो कहिल्यै माओवादीको समर्थक भएनन् तिनीहरुले माओवादीलाई हराए मात्रै देश बन्छ भन्दैछन्। यिनीहरुलाई लागेको छ, प्रचण्डले हारेमा मात्रै हामीले जनतामाथि थिचोमिचो गर्न पाईन्छ, उस्तै परे मनुस्मृती लाद्न पनि पाईन्छ। हाम्रो भाषा हाम्रो भेष प्राण भन्दा प्यारो छ भन्दै केराको बोट बोकेर नागरिक अभिनन्दनको गेट बनाउन जान पनि पाईन्छ। एकबारको जुनीमा कस्ता कस्ता ईरादा बोकेर जिवित भईरहन्छन् मनुष्यहरु। सम्झदा पनि उल्टी आउने।

यो वा त्यो बाहनामा सविधान मास्ने खेल भइरहेको छ। सुधार केन्द्रबाट भागेर आएको केटाले जस्तै कुरा गर्ने केपी ओली प्रतिगमनको मूख्य नाईकेको रुपमा उभिएका छन्। किनकी यिनी यो संविधानको पक्षमा कहिल्यै थिएनन्। ०६२,६३ सालको जनआन्दोलनमा केपी ओली घरबाट बाहिर निस्किएनन्। कमल थापा घरबाट बाहिर त निस्किए तर आर्मीको ड्रेसमा। काजी साहेबको आदेशमा जनतामाथि गोली बर्सियो। माधव नेपालहरु जेलमा थुनिए। त्यसबखत यिनै ओलाको दिव्यउपदेश थियो- माओवादीका ठेट्नाहरुले पार लगाउने वाला छैनन्, बयलगाढा चढेर अमेरिका पुगिदैन।”

आज तिनै माओवादीका ठेट्नाहरु संविधान रक्षाका लागी, गणतन्त्रको रक्षाका लागी उभिएका छन्। कमल थापाहरु सूर्य चिन्हमा भोट माग्दैछन्। राजाको छोरा राजा बन्नु पर्ने भएकाले राजालाई अरुलाई भन्दा धेरै देशको माया हुन्छ भन्ने जस्तो खुरापाती तर्क गर्ने राजेन्द्र लिगंदेनहरु केपी ओलीको शिष्य बनिसकेका छन्। केपी ओली फेरि पनि प्रधानमन्त्री बनेर अझै प्रतिगमन गर्ने रुमानी सपना देखिरहेकै छन्। यो संविधानको पक्षमा वकालत गर्ने पार्टी भित्रकै नेताहरुलाई तल्लो स्तरको लागि गलौज गरिरहेका छन्। यही हो प्रतिक्रान्ती भनेको। र यो प्रतिक्रान्तीको विरुद्धमा प्रचण्ड पहिलो घेरामा खडा भएर उभिएका छन्। हो व्यवस्था बदलियो तर अवस्था बदलिएन। दुई शताब्दीसम्म केन्द्रिकृत राजतन्त्रले गर्न नसकेको विकास यो दुई दशक नपुगेको गणतन्त्रले गर्न सक्ने कुरा पनि भएन। तर पक्कै पनि क्रमिक विकासको सिद्वान्तको नियम अनुसार पनि Political transformation हुन्छ। यो कसैले नचाहेर पनि हुन्छ। मिति बदलिन्छ, मितिसंगै थिति बदलिन्छ। र थिति बदल्ने समाज र त्यसको नेतृत्व बदलिन्छ। नेपाली सामाजिक जागरणको evaluation हेर्दा २००७ साल, २०४६ साल, २०५२ साल र २०६२,६३ सालमा जनताले एउटा थितीको माग गरेको देखिन्छ।

प्रजातन्त्र, लोकतन्त्र, स्वतन्त्रता, निर्वाचन प्रणाली, जनताको शासन, प्रेस स्वतन्त्रतका जस्ता आधारभूत मौलिक हकको थिती बसाल्नको लागी विपी कोईराला, गणेशमान, मदन भण्डारी, गिरिजाबाबु जस्ता नेताहरुको उदय भयो। राणा शासनको अन्त्य देखि संघिय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा नेपाली जनताले थुप्रै संघर्ष र बलिदानी गर्नु परेको छ। प्रजातन्त्र कसैले किस्तीमा दिएको थिएन, विपीले जेलनेल र निर्वासन भोगेर ल्याएका थिए। त्यसरी नै आफ्नो टाउकोको मूल्य तोकाएर गणतन्त्र ल्याएका एक जिवत साक्षी हामी माझ अझै छन्। उनको नाम हो- प्रचण्ड।

यो कोही कसैले enough is enough को नारा लगाएर आएको परिवर्तन हैन। बरु enough is enough भन्न सिकाउने यही संविधान हो, गणतन्त्र हो। यो जनतामा जागेको विकासको भोक हो।यतिखेर नेपाल जनताहरु फेरि एउटा भोकको प्रतिक्षामा जागा बसेका छन्। त्यो हो, economical transformation र त्यसका लागि जनताले एउटा भरोसा योग्य साझा नेताको खोजी गरिरहेको छ। र आजको परिस्थितीमा त्यो भरोसा योग्य नेता केवल प्रचण्ड मात्रै हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्