गाेरखामा चुनावी माहाैल ह्वात्तै बढ्याे

prachanda-pic
लोकपाटी न्यूज
4 Shares

गोरखा। प्रतिनिधि सभा र प्रदेश सभाको मंसिर ४ गते हुने निर्वाचनको माहौल गोरखामा ह्वात्तै बढेको छ। बजारका चोक, गल्ली, गाउँघरका चौतारा, चियापसलमा जताजतै राजनैतिक परिचर्चा हुने गरेको छ। मानिसहरुले प्रचण्ड गोरखा आउनुको कारणबारे जिज्ञासा खोजिरहेका छन्। २२ वर्षको कलकलाउँदो उमेरमा गोरखा आएर शिक्षण गरेका र निल परेको विद्यालयलाई प्रथम श्रेणी सहितको उत्कृष्ट विद्यालय निर्माण गरेका प्रचण्डले गोरखामा नै बसेर राजनैतिक यात्रा तय गरेका थिए।

पञ्चायत विरोधी आन्दोलन गोरखा बसेर नै गरे। जनक्रान्ति र गणतन्त्रको सुरुवात गोरखामा नै हेडक्ववाटर खडा गरेर गरेको उनले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन्। प्रचण्ड सँधै राजनीतिमा सक्रिय रहँदै नेपालमा फरकफरक नीति तथा सिद्धान्तको प्रयोग समेत गर्दै आएका छन्। उनले यसपटक गोरखाबाट आर्थिक समृद्धिको यात्रा तय गर्ने बताएका छन्। हाल सम्म गोरखाका १०४ वटा सभामा सम्बोधन गरिसकेका प्रचण्डले पटकपटक एउटै कुरा दोहोर्‍याएका छन्। कानुनी हिसावले उनी गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार हुन्। उनले आफूलाई एउटा निर्वाचन क्षेत्रका भन्दा पनि गोरखाको उम्मेदवार भनिरहेका छन्।

नेपाललाई लगानीको गन्तव्य बनाउने र सबैलाई यही भविष्य निर्माण गर्नका लागि वातावरण बनाउन प्रचण्ड लागि परेको देखिन्छ। स्पष्ट स्वभावका प्रचण्डको कुनै जालझेल, षड्यन्त्र र अस्प्षटता देखिदैन। विहान ६ बजेदेखि राती १० बजेसम्म उनले जनताहरुसँगको भेटघाट, सभा, सम्मेलन, विकास निर्माणका छलफलमा सहभागि छन्। उनले गोरखामा विद्यार्थी, युवाहरु, शिक्षक, विभिन्न जनवर्गिय र जातिय संघ, संगठनहरु, व्यावसायि, उद्योग वाणिज्य संघका व्यावसायी, सहिद वेपत्ता परिवार सबैसँग भेटघाट गरेका छन्। जान नभ्याएका कतिपय स्थानमा निर्वाचन पछि अवश्य आउने वचन उनले दिएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डसँगै गोरखामा विकास भित्रिने गोरखाली नागरिकहरुमा अपेक्षा छ। समाजवादको यात्रामा रहेका प्रचण्ड यस अघि रोल्पा, काठमाण्डौ, सिराहा, चितवनबाट निर्वाचन लडेका थिए। जतिवटा निर्वाचन भयो उनले त्यतिनै पटक फरक स्थानबाट चुनावमा भाग लिँदै र विजयी हुँदै आएका छन्। देश निर्माणको सपना बोकेर अगाडी बढेका प्रचण्ड विकासमा नेपालको मौलिक मोडल तय गर्न विभिन्न भूगोलमा जाने गरेका उनलाइ नजिकबाट चिन्नेहरु बताउँछन्। प्रचण्डलाई रेकर्ड राख्ने गरी मत दिएर विजयी गराउन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नम्बर दुइ (ख) का उम्मदवार सुरेन्द्रराज पाण्डे बताउँछन्।

प्रचण्डले सार्वजनिक कार्यक्रममा र अघिपछि पनि भनेका छन्, राणा शासन, पञ्चायती व्यवस्था हटाउन र देशमा गणतन्त्र ल्याउन काँग्रेस र कम्युनिष्टहरुको एकताले नै काम गरेको छ। यस पटक आर्थिक समृद्धिको यात्रालाइ अघि बढाउन यो गठबन्धन पूर्ण सफल हुने उनले प्रष्ट गरेका छन्। यो निर्वाचनले काँग्रेस, माओवादी, नेकपा एस, नेसपा, राष्ट्रिय जनमोर्चाको गठबन्धनले बहुमत ल्याउने उनले बताएका छन्।

प्रचण्ड एकदुइ जनाको लागि भन्दा पनि देशका सबै नागरिकहरु र समग्र देशको अवस्था परिवर्तनका लागि अहोरात्र खटेका छन्। उनले २०३३ साल देखि देशको परिवर्तनको लागि गोरखालाइ केन्द्र बनाएर काम गर्दै आएका छन्। देश र जनताको परिवर्तन र मुक्तिका लागि निरन्तर संघर्ष गर्ने प्रचण्ड देशलाई आर्थिक समृद्धिबाट अघि बढाउन लागि परेका छन्। गोरखामा अन्य पार्टीहरु राप्रपा, राप्रपा नेपाल, नेकपा एमाले लगायतका केही स्वतन्त्र नागरिकहरु पनि गाउँ गाउँमा मत माग्दै कार्यक्रम गरिरहेका छन्। उनीहरुले अधिकांश समय परिवर्तनका विरुद्धमा, शान्तिका विरुद्धमा प्रचार गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्