पर्वत। पर्वतको कुस्मा नगरपालिका-१४ खाल्टाका मतदाताले पहिलो पटक उम्मेदवारलाई भेटेका छन्। हरेक निर्वाचनमा यस गाउँका मतदाताले मतदान गर्छन्। तर, उम्मेदवारसँग प्रत्यक्ष रुपमा भेटघाट गर्न भने पाएका थिएनन्। मतदाताले आफ्ना तीतामीठा कुरा उम्मेदवारलाई सुनाउन पाएका थिएनन्।
धेरैजसो ठाउँमा चुनावको बेलामा दसैं तिहारकै जस्तो रमाइलो वातावरण हुन्छ। भान्सादेखि खेतबारी, घरको आँगनदेखि गाउँका चिया पसल र चौतारामा पनि चुनावकै कुरा हुने गर्छ। विदेश तथा स्वदेशमा रहेकाहरू मतदान गर्नकै लागि घर फर्किन्छन्। उम्मेदवारलाई भेट्छन्। आफ्ना कुरा निर्धक्क राख्छन्। उम्मेदवार पनि मतदातालाई रिझाउन घरदैलोमा पुग्छन्। त्यति मात्र होइन, मतदाताको खेतबारीमै पुगेर मत माग्छन्। कतिपय उम्मेदवारले खेतमै गएर किसानलाई काममा सघाएको पनि देख्न पाइएको छ।
तर, खाल्टा गाउँका मतदाताले यसअघिका निर्वाचनमा त्यस्तो अवसर कहिल्यै पाएनन्। दुर्गम र विकट गाउँ भएका कारणले पनि यहाँ उम्मेदवार नपुगेका होलान्। स्याङ्जाको सीमा क्षेत्रमा पर्ने यस गाउँमा झण्डै ४० घर छन्। खाल्टामा पुग्ने सडक बाटोको ट्र्याक खोलिएको छ। गाडी दोहोरो हिँड्न सक्ने अवस्था छैन। गाडी क्रसको लागि ठाउँ छैन। उक्त कठिन बाटो पछ्याउँदै यस पटक वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय अर्जुनप्रसाद जोशी (प्रतिनिधिसभा) र सुदिप कुँवर (प्रदेशसभा) खाल्टा गाउँमा पुगेका छन्। यहाँका मतदाता र उम्मेदवारले एक आपसमा चिनजान गर्न अवसर पाएका छन्।
उम्मेदवारद्वय जोशी र कुँवर गाउँ पुग्दा अँध्यारो भइसकेको थियो। एक घरको आँगनमा केही मानिस जम्मा थिए। उम्मेदवार पुगेपछि उनीहरूमा खुसीयाली छायो। पहिलो पटक गाउँमा उम्मेदवार पुगेका छन्। अबिर र फुलमाला लगाएर उम्मेदवारको टोलीलाई स्वागत गरियो। उम्मेदवर आउने थाहापाएपछि गाउँका सबै मानिस एक ठाउँमा जम्मा भएका थिए रे। दिनभर खेतिकिसानी गरेर थाकेका उनीहरू उम्मेदवार पुग्न ढिला भएपछि एक एक गरी सुत्न निस्केको संगम बिक सुनाउँछन्।
उनले पहिलो पटक उम्मेदवार गाउँ आएकोमा खुसी व्यक्त गरे। मतदान गर्न र निर्वाचनबारे जानकारी दिन अहिलेसम्म गाउँमा कोही नआएको संगम बताउँछन्। हालसम्म कुनै पनि पार्टी र तिनका नेता कार्यकर्ता तथा उम्मेदवार भोट माग्न यहाँ आएका छैनन्।
‘दुर्गम र विकट गाउँ भएका कारण कोही नआएका होलान्,’ संगम भन्छन्, ‘भोट दिन्थ्यौ। भोट दिएको व्यक्ति कस्तो छ ? देखेका थिएनौं। आज देख्न पाएका छौं। खुसी लागेको छ।’ प्रतिनिधिसभा उम्मेदवार यसअघि चार पटक चुनाव लडेका थिए। उनको नाम यहाँका सबै मतदाताले सुनेका छन्। भोट पनि दिएका छन्। तर, उनलाई प्रत्यक्ष देख्न पाएका थिएनन्। प्रदेशसभा उम्मेदवार भने पहिलो पटक चुनाव लड्दैछन्। मत माग्न उनीहरू खाल्टा पुगेका छन्। यहाँका समस्या सुनेका छन्।
संगमले गाउँको पहिलो आवश्यकता मोटर बाटो भएको सुनाए। ट्र्याक खोलिएको मोटर बाटोको स्तरोन्नति गरिदिन आग्रह गरे। स्याङ्जासँग मोटर बाटो जोडिदिन आग्रह पनि गरे। स्याङ्जाको सडकसम्म जोडिन करिब एक किलोमिटर सडक ट्र्याक खोल्न बाँकी रहेको संगमले सुनाए। आफूहरूले दैनिक उपभोग्य सामान किनमेल गर्ने नजिकको बजार पर्वत र स्याङ्जाको सीमा क्षेत्रमा रहेकोले जसरी पनि सडक बाटो जोडिदिन आग्रह गरे। उनले भने, ‘सडकको अवस्था चिन्ताजनक छ। ढुक्कले मोटर गुडाउन सक्ने अवस्था छैन। हामीले किनमेल गर्ने बजार स्याङ्जा सीमा क्षेत्रमा पर्छ। त्यहाँ राम्रो मोटर बाटो आइपुगेको छ। यो मोटर बाटो त्यहाँ जोडिएको छैन। करिब एक किलोमिटर जति बाँकी छ। यति गरिदिनुभयो भने हामीलाई यातायातको सुविधा हुनेछ। साथै हामीले शुद्ध खानेपानीको अभाव पनि भोगिरहेका छौं।’
प्रतिनिधिसभा उम्मेदवार जोशीले आफू पनि विकटताको कारणले यसअघिका निर्वाचनमा मत माग्न यस गाउँमा आउन नसकेको कुरा स्वीकार गरे। तर, घर नजिकसम्म सडकको ट्र्याक खोल्न आफ्नो भूमिका रहेको सुनाए। उनले सडकको बाँकी काम पूरा गर्ने जिम्मेवारी अब गठबन्धनले लिने बताए। वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवरलाई जिताउन आग्रह गर्दै जोशीले अब विकासका गतिविधि निर्वाधरुपमा अघि बढ्ने बताए। हरेक नागरिकले महसुस गर्नेगरि विकासका गतिविधि सञ्चालन हुने उनले बताए।
प्रदेशसभा सदस्यका उम्मेदवार कुँवरले आफू पनि खाल्टासँग परिचित रहेको सुनाए। जनयुद्धको क्रममा आफू यहाँ बसेको स्मरण गरे। उनले यहाँको अत्यावश्यक पूर्वाधार विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताए। सडक स्थानीय अर्थतन्त्र सुधारको आधार भएकोले सडक निर्माणपछि यहाँ आर्थिक गतिविधि अघि बढ्नेमा विश्वास व्यक्त गरे। स्थानीय उत्पादनले बजार पाउने उनको भनाइ थियो। पूर्वाधार निर्माणको जिम्मा आफूहरूले पुरा गर्ने प्रतिबद्धता गर्दै उम्मेदवार कुँवरले अर्थतन्त्र उकास्ने बस्तु उत्पादनमा लाग्न स्थानीयसँग आग्रह गरे।